काठमाडौं ।
शुक्रवार काठमाडौँमा पूर्व राजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा घरभित्रै जलेर पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकको मृत्यु भएको छ ।
आगजनीबाट भएको हत्याको शनिवार नेपाल पत्रकार महासंघको नेतृत्वमा आयोजित कार्यक्रममा मृतकप्रति १ मिनेट मौन धारण गरी विरोध गर्दै निष्पक्ष छानबिनको माग सहित रजकप्रति श्रद्धाञ्जली अर्पण गरियो ।
शनिवार नेपाल पत्रकार महासङ्घको ७० औँ स्थापना दिवस मनाउन महासंघले देशभर आह्वान गरेको थियो । शुक्रवारको घटनापछि महासंघले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी ७० औँ स्थापना दिवस हृदय विदारक घटनाको छानबिनमा केन्द्रित गर्दै माइतीघर मण्डलामा विरोध सभा ग-यो ।
स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा सञ्चारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोध सभाको रूपमा मनायो । केन्द्रीय समितिले चैत्र १६ गते शनिवार बिहान ८ बजे माइतीघर मण्डलामा भेला भएर पत्रकारको ‘हत्या’ र सम्चार माध्यमाथि भएको ज्यादतीका विरुद्ध विरोध सभा गरी मनायो ।
उक्त सभामा आन्दोलनकारीले लगाएको आगोमा जलेर मृत्यु भएका पत्रकारप्रति श्रद्धाञ्जली र सञ्चारमाध्यमविरुद्ध भएको हमलाको छानबिन र हत्यारालाई कडा कारबाहीको माग सहित कडा विरोध गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ वर्तमान पदाधिकारीहरु कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव रामजी दाहाल, पूर्व अध्यक्षहरु तारानाथ दाहाल, सुरेश आचार्य, धर्मेन्द झा, महेन्द्र विष्ट, शिव गाउँले, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेल, नेपाल पत्रकार महासंघ एभिन्यूज टेलिभिजन शाखाकी अध्यक्ष सुष्मिता बानिया, पत्रकार, सञ्चारकर्मी, अधिकारकर्मी, मानवअधिकारकर्मी तथा प्रेस स्वतन्त्रताकर्मी, नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
स्थापना दिवसका लागि देशव्यापी रूपमा आयोजना गरिएका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै पत्रकारहरू आततायी घटनाको विरोधमा उत्रिए । पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्यले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
केन्द्रीय महासचिव दाहालले पत्रकारको हत्या भएको छ । सरकारले आगजनीमा संलग्नहरूलाई हत्याराका रूपमा कारबाही गर्नुपर्छ भन्ने माग गरेका छौ । त्यसैसरि अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा आगजनी भयो । कान्तिपुर टेलिभिजनमा हिंस्रक समूह प्रवेश गर्न खोजेको थियो । प्रहरीले रोकेपछि ढुंगामुडा गर्ने र समाचार कक्षमा रहेका पत्रकारलाई आतङ्कित पारेर काम गर्न नसक्ने अवस्था सृजना गरे । त्यसै गरी अनलाइन खबरका पत्रकार दिनेश गौतमको समाचार सङ्कलनकै क्रममा खुट्टा भाँचिएको छ । यी सबै घटनालाई समष्टिमा लिएर विरोध सभाको आयोजना गरेका हौँ । एभिन्यूजका पत्रकारको ज्यान गएको छ । उहाँले काम गर्दाको अवस्था, पारिश्रमिक पाए नपाएको विषयको पनि छलफल गर्नुपर्छ भन्नुभयो ।
एभिन्यूज शाखाका बानियाले समाचार संकलन गर्ने क्रममा जिउँदै जलाएर मृत्यु भएको प्रति नेपाल पत्रकार महासंघ स्तब्ध बनेको छ । शुक्रवार भएको घटनामा सुरक्षाकर्मी गैह्र जिम्मेवार बन्दा राजवादीको आन्दोलन हिस्रात्मक बन्दा पत्रकारको निधन भएको घटना प्रति सत्य, तथ्य र निष्पक्ष छानबिन हुनुपर्छ ।
हाम्रा माग पुरा नभएसम्म लगातार आन्दोलनमा उत्रनेछौ भन्नुभयो । प्रेस सेन्टर नेपालका पौडेलले यो प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप हो । आगलागीमा पत्रकार रजकलाई गुमाएका छौ । घटनाका दोषीमाथि कडा कारबाहीको माग गर्दछु । सञ्चार संस्था, निजी सम्पत्ति माथि पुर्याएको क्षतिप्रति घोर भर्त्सना गर्दै कडा कारबाहीको माग गर्दछु भन्नुभयो । सोही अवसरमा प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले महासङ्घको दिवस खुसीयालीका रूपमा मनाउनुपर्ने दिनमा आततायी घटनाको विरोधका सभाको रूपमा उभिनुपरेको अवस्था छ ।
देशभरिका सञ्चारकर्मीहरू स्तब्ध भएको छ । यो घटनाको प्रेस चौतारीले घोर भर्त्सना गरेको छ । अराजक समूहले गरेको आतङ्कंको घोर भर्त्सना गर्दै सरकारले कडा कारबाही गरोस् भन्ने माग गर्दछु भन्नुभयो । सञ्चार उद्यमीको तर्फबाट ऋषि धमलाले नेपाली पत्रकारिताको लामो इतिहास छ । हिजो मिडिया र मिडियाकर्मीमाथि भएको आततायी घटना हो त्यसको चौतर्फीरुपमा निन्दा र भर्त्सना गर्नुपर्छ । राजावादीहरुलाई म खबरदारी गर्न चाहन्छु ।
नेपाली सञ्चार जगतलाई आक्रमण गरे तपाईँहरूको चाहना पुरा हुन्छ भन्ने सोच्नुभएको छ भने दिवा सपना हो । नेपाली सञ्चारकर्मीहरूले पूर्व राजा ज्ञानेन्द्र शाहले घुँडा टेकाएकै हो । राजतन्त्र अन्त्य गर्नका लागि सञ्चार जगतको महत्त्वपूर्ण भूमिका थियो । विगतका आन्दोलनमा नेपाली पत्रकार जगतले स्वतन्त्रताका लागि लड्दा राजावादीहरुलाई पनि ठाउँ दिएका थियौ । लोकतन्त्रमा सबैको बिचार राख्न पाउनुपर्छ ।
अब लोकतन्त्र माथिको प्रहार नेपाली सञ्चार जगतले स्विकार्दैन । लोकतन्त्रको विकल्प लोकतन्त्र हो राजसंस्था हुन सक्दैन । राजावादीहरूको दीववा सपना छ भने आजैबाट त्याग्नुस् । सरकारले हिजो जसरी सञ्चार गृह माथि आक्रमण भयो र एक जना सञ्चारकर्मीले समाचार संकलन गर्दागर्दै हत्याको स्थितिमा पुग्नुपर्यो । हामी जस्तोसुकै अवस्थामा पनि सत्य सूचना दिन पछि पर्दैनौ । सम्पूर्ण जनता कानुनी राज्यको पालना गर्छन् । नेपालका सम्पूर्ण सञ्चालकहरूलाई भन्न चाहन्छु हामी कडा रूपमा भर्त्सना गर्दै नेपाली सञ्चार जगत एक भएर अघि बढ्छौ भन्नुभयो ।
हामी माघ १९ २०६१ मा जसरी उत्रेका थियौ आज त्यसैसरि उत्रेका छौ । हाम्रो यो आन्दोलन जारी रहन्छ । तारानाथ दाहाल नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष आज स्थापना दिवसका दिन शोकमा छौ । समाचार लेख्न कार्यक्षेत्रमा खटेकै क्रममा दिवगंत हुनु पर्यो । नेपाली प्रेसको इतिहासमा फेरि नयाँ कालो दिनको सृखलामा अर्को एउटा दिन थपिन पुग्यो । यो दुःखद क्षणमा स्वतन्त्र प्रेस प्रतिको एकेवद्धतालाई बलियो बनाएर लैजान आव्हान गर्न चाहन्छु ।
नेपालको प्रेसको इतिहासमा कार्यक्षेत्रमा समाचार सङ्कलनकै क्रममा जनतालाई सुसूचित गर्ने एउटा अठोटका साथ काममा लागि रहँदा एउटा कर्मशील पत्रकारको जुनकिसीमले हत्या गरिएको छ यो सबैभन्दा ठुलो दुःखद घटना हो । प्रेस स्वतन्त्रताको विरुद्धको यो सबैभन्दा ठुलो इतिहासमै क्रूर घटनाको रूपमा हामीले लिनुपर्दछ । रजक र उहाँको परिवारलाई छिटो भन्दा छिटो न्याय दिलाउनका लागि सबै पत्रकारहरू अग्रसर बनौँ ।
त्यति गरियो भने मात्र सच्चा श्रद्धाञ्जली दिएको हुन्छ । एउटा श्रमजीवी पत्रकारलाई पत्रकारिता गर्नको लागि कति चुनौती छ भन्ने कुरा हिजोको घटनाबाट पाठ सिक्नुपर्दछ । पत्रकार असुरक्षित छन्, पत्रकारको जीवनमा कुन खालको चुनौती छ भन्ने कुरा यो घटनाबाट शिक्षा लियौ भने मात्र अरू पत्रकारलाई सुरक्षित बनाउन सक्दछौँ । यो घटनामा अराजक आन्दोलनकारी समूहले घरमा आगो लगाएर पत्रकारको हत्या गर्ने अवस्था सृजना भयो । उहाँको सुरक्षामा पर्याप्त रूपमा सरकारले ध्यान दिन सकेन । यी दुवै पक्षको म निन्दा गर्न चाहन्छु ।
यो दुबै पक्षको कायरताको जति निन्दा गरे पनि पुग्दैन । यो भर्त्सना योग्य मात्र हैन अत्यन्तै निन्दनीय छ । न्याय नपाएसम्म यो घटनालाई छोड्नु हुन्न । आन्दोलनकारीहरुको अराजक आन्दोलन थियो । हिंसाको लागि आन्दोलन गरिएको थियो । त्यो आन्दोलन राजाको पुनर्स्थापनाको लागि हैन लोकतन्त्र मास्नका लागि थियो ।
मानव अधिकारलाई समाप्त गर्नका लागि थियो । स्वतन्त्र प्रेसलाई समाप्त गर्नका लागि थियो भन्ने कुरा यसबाट प्रष्ट हुन्छ भन्नुभयो । उहाँले जुन तरिकाले पत्रकारलाई थुनेर आगो लगाउने देखि लखेटी लखेटी खुट्टा भाँच्ने गरी गरी गरियो । नेपालका २ वटा सञ्चार गृहमा आक्रमण गरियो । कार्यस्थलमा पत्रकारहरूले प्रयोग गर्ने सवारी साधन तोडफोड गरियो, क्यामरा लुटियो । हिजोका आन्दोलन स्वतन्त्रताको विरोधी आन्दोलन हो । लोकतन्त्र, मानव अधिकारको विरोधी आन्दोलन हो ।
यस विषयमा जनतालाई जागरूक बनाउनुपर्छ । नेपाली प्रेसले यी सबै संरक्षणका लागि आफ्नो जीवनलाई जस्तोसुकै चुनौतीमा राखेर पनि काम गर्दै आएको छ । भोलीका दिनमा पनि अझ सशक्त बनाउनुपर्ने अवस्था आएको छ । यो घटनाको अन्तिम न्याय नपाए सम्म हामीले छोड्नु हुन्न । त्यसैगरि कार्यस्थलमा खटाईने सञ्चार माध्यमका व्यवस्थापनले पनि उत्तिकै जिम्मेवार र गम्भीर बन्नुपर्छ भन्ने आवाज उठाउनुपर्छ ।
परिवारको जीविकोपार्जनका लागि सबै निकाय जिम्मेवार हुनुपर्छ । प्रेस स्वतन्त्रताका लागि हामी फेरि २१ बर्षछि सडकमा आउँनुपरेकोछ भन्नुभयो । विरोध सभामा सहभागी पत्रकारहरूले मृतक पत्रकारको परिवारलाई क्षतिपूर्ति दे, मिडिया हाउस माथिको आक्रमण बन्द गर, प्रेस स्वतन्त्रता जिन्दाबाद जस्ता नारा घन्काएका थिए ।
नेपाल पत्रकार महासंघद्धारा छानविन समिति गठन
नेपाल पत्रकार महासंघको शनिवार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले पत्रकारको योजनाबद्ध हत्या र सञ्चार गृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका कार्यक्रम तय गरेको छ ।
बैठकले शनिवार क्षति पु¥याइएका सञ्चार गृहको अनुगमन र घाइते सञ्चारकर्मी र सञ्चार सामग्रीको विवरण सङ्कलन गर्ने, आइतबार कार्यस्थलमा कालो पट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने, सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।
यस्तै मारिएका पत्रकार सुरेश रजक सम्बद्ध सञ्चार गृह, उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली संलग्न रहेको समिति गठन गरेको छ । आन्दोलनका थप कार्यक्रम अवस्थाको विश्लेषणपछि तय गरिने महासचिव रामजी दाहालले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
घोषित कार्यक्रमलाई सशक्त रूपमा सफल पार्न सबै प्रदेश समिति र जिल्ला समितिलाई अनुरोध गरिएको ।
शुक्रवार पूर्व राजा समर्थकहरूको समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन रजकको शव जलेको अवस्थामा भेटिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको शनिवार बसेको केन्द्रीय सचिवालयको बैठकले तीनकुनेमा भएको राजावादीहरूको हिंस्रक प्रदर्शनबारे छानबिन गर्न उच्च स्तरीय आयोग बनाउनु पर्ने माग गरेको छ ।
त्यसै गरि पत्रकार रजकको हत्या एभिन्युजद्वारा गम्भीर आपत्ति, सरकारसँग न्याय र शहीद घोषणा गर्ने माग गरेको छ । पत्रकारको हत्याले देशको सुरक्षा व्यवस्था र राज्यको गैर जिम्मेवारीपनप्रति गम्भीर प्रश्न खडा गरेको उल्लेख गरिएको । टेलिभिजन परिवार र मृतक पत्रकार रजकको परिवारले सरकारसँग तत्काल न्यायको माग गर्दै, उच्चस्तरीय छानबिन र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न अपिल गरेका छन् ।
उनीहरूले मृतकलाई शहीद घोषणा र परिवारलाई उचित क्षतिपूर्ति पनि माग गरेका छन् । त्यस्तै मिडिया एलायन्सद्वारा शोक र सरकारसँग निष्पक्ष छानबिनको माग गरेको छ । घटनाप्रति गहिरो शोक र आक्रोश व्यक्त गर्दै उनको साहसिक र सत्यको खोजी गर्ने समर्पणलाई सम्मान गर्दै परिवार र सहकर्मीहरूसँग एकजुटयता प्रकट गरेको छ ।
घटना पश्चात् सरकार र सुरक्षा निकायको लापरबाही र गैर जबाफदेहिता भएको र प्रहरी महानिरीक्षक र प्रमुख जिल्ला अधिकारीसँगको सम्पर्क प्रयासहरू असफल भएका छन् र घटनाको गम्भीरता समक्ष सरकारको प्रतिक्रियामा ढिलाइ देखिएको जनाउँदै घटनाको निष्पक्ष र गम्भीर अनुसन्धानको माग गरेको छ । मिडिया लायन्स नेपाल प्रतिज्ञा गर्दछ कि जबसम्म अपराधीलाई कारबाही नगरे सम्म, हामी मौन बस्ने छैनौँ भन्दै चेतावनी दिएको छ । त्यसै गरी दोषीलाई कारबाही गर्न कामना प्रतिष्ठान शाखाको माग रहेको छ ।
राजसंस्थाको पुनः स्थापनाको माग राख्दै भएको काठमाडौँस्थित तीनकुनेको आन्दोलनमा समाचार सङ्कलनका क्रममा जलेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएकोप्रति नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाले भर्त्सना गरेको छ ।
‘सञ्चारकर्मीलाई जिउँदै जलाउने, सवारीसाधनमा क्षति पु¥याउने, सञ्चार गृहहरूमा आतङ्क मच्याउने कार्यको हामी भर्त्सना गर्दछौँ । यस्ता कार्यमा संलग्नलाई तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गर्दछौँ ।’ –कामना प्रतिष्ठानका सचिव सूर्यप्रसाद अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । साथै, मृतक रजकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा शाखाले समवेदना प्रकट गरेको छ ।
प्रतिक्रिया