राजावादीका कारण नजिकिँदै ओली, देउवा र प्रचण्ड

संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन एकमत


काठमाडौं ।

पछिल्ला केही महिनायता प्रधनमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गालीगलौज र आरोपप्रत्यारोपमा नै दिन बित्दै आइरहेकोमा पछिल्ला केही दिनयता भने उनीहरू नजिकिन थालेका छन् ।

प्रचण्ड नेतृत्वको सरकारलाई हटाएर जब ओली आफैं प्रधानमन्त्री बन्नुभयो त्यसपछि प्रचण्ड ओलीसँग रुष्ट र आक्रोशित हुँदै आइरहनुभएको छ ।

यसो त आफू नेतृत्वको सरकार हटाएर केपी ओलीलाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि प्रचण्ड चिढिँदै आउनुभएको छ । त्यसैले पछिल्ला महिना ओली र प्रचण्ड तथा प्रचण्ड र देउवाबीच आत्मीय सम्बन्ध थिएन । उनीहरूबीच भेटघाट त परै जाओस् संवाद पनि हुन छोडेको थियो । तर, पछिल्ला केही दिन भने उनीहरू लगातार भेट्न थालेका छन् ।

जब, राजावादीहरू गणतन्त्र फालेर राजतन्त्र ल्याउने भन्दै सलबलाउन थाले तब यी शीर्ष नेताहरू नजिक हुन थालेको पाइएको छ । सम्भवतः राजावादीहरूलाई हामी गणतन्त्रवादीहरू एकजुट छौं भनेर सन्देश दिन पनि उनीहरू नजिकिन थालेको बताइएको छ । राजावादीहरू सक्रिय भइरहेको अवस्थामा यी तीन शीर्ष नेताहरू द्वन्द्वपीडितलाई न्याय दिने र संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउने भन्दै सोही बहानामा नजिकिन थालेका हुन् । बिहीबारमात्रै यी तीन शीर्ष नेताहरू सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्वपीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनमा एकै ठाउँमा उभिएर द्वन्द्वपीडितलाई न्याय दिने गरी शान्ति प्रक्रिया छिटै टुंग्याउने वाचा गरे ।

यद्यपि, लामो समयदेखि यस विषयलाई राजनीतिक दाउपेचको विषय बनाइँदा हालसम्म शान्ति प्रक्रियाको महत्वपूर्ण कार्य थाँती रहँदै आएको थियो ।बिहीबारको कार्यक्रममा ओली, देउवा र प्रचण्डले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन आफूहरू प्रतिबद्ध रहेको बताएपछि उनीहरू नजिकिएको सहजै अनुमान गर्न सकिन्छ । राजावादीहरूको लगातारको आन्दोलन र सो आन्दोलनप्रति देखिएको लहरका कारण पनि बाध्यतावश उनीहरू एक ठाउँमा उभिनुपर्ने अवस्था सिर्जना भएको बताइन्छ ।


पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्काउने भन्दै नवराज सुवेदी नेतृत्वमा आन्दोलन परिचाल समिति नै बनेको अवस्थामा तीन ठूला दलका नेताहरू एकै ठाउँ उभिएर व्यवस्था जोगाउनका खातिर एकताको सन्देश दिन खोजेको विश्लेषण गर्न थालिएको छ । राजावादीहरूले आज शुक्रवार पनि काठमाडौं उपत्यकामा विशाल प्रदर्शन गर्ने निर्णय गरिसकेका छन् । त्यसका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कमान्डर तोकिएको छ । शीर्ष दलहरूकै प्रयासमा गत सोमबारमात्रै संक्रमणकालीन न्यायसम्बन्धी कानुन संसद्बाट पारित गरिएको थियो ।

ओली, देउवा र प्रचण्ड सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोगलाई सक्रिय बनाउने गरी आवश्यक गृहकार्यमा जुटिसकेका छन् । सोमबारमात्रै उनीहरूले संक्रमणकालीन न्यायका बाँकी प्रक्रिया अघि बढाउन सिफारिस समिति गठन गर्ने सहमति गरेका थिए । प्रधानमन्त्री ओलीले प्रचण्ड र देउवालाई सँगै राखेर बिहीबार आयोजित कार्यक्रममा संक्रमणकालीन न्यायसम्बन्धी कानुन केही समयअगाडि संसद्बाट पारित भइसकेको र हाल त्यससम्बन्धी आयोग बनाउने प्रक्रिया अघि बढेको बताउनुभयो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तैखालका प्रतिबद्धता देउवा र प्रचण्डले पनि जनाउनुभयो ।
कार्यक्रममा प्रचण्डले पीडितहरूलाई न्यायको अनुभूति हुने गरी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले शान्ति प्रक्रियालाई पीडितमैत्री ढंगबाट नटुंग्याइएको खण्डमा कहीँ न कहीँ गएर समस्या पर्न सक्ने बताउँदै केही मानिसहरूले शान्ति प्रक्रियालाई ‘फर गिभ एन्ड फर्गेट’ को बाटोमा जानुपर्ने बताए पनि त्यो आफूले नै नमानेको स्पष्ट पार्नुभयो ।

‘पीडितहरूलाई न्याय दिने कुरालाई प्राथमिकता दिएरमात्रै शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा हामी राजनीतिक नेतृत्वहरू कहिल्यै पनि कन्फ्युज भएनौं’ –प्रचण्डले भन्नुभयो । कांग्रेस सभापति देउवाले आफ्नै अग्रसरतामा बनेको वर्तमान सरकार द्वन्द्वपीडितलाई न्याय दिने कुरामा प्रस्ट रहेको बताउनुभयो । उहाँले वर्तमान सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने र त्यसकै लागि अघि बढिसकेको स्पष्ट पार्नुभयो ।