चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले पहिलोपटक बाढी प्रभावित फिल्मकर्मीलाई आर्थिक सहयोग प्रदान गरेको छ।
बोर्डका अध्यक्ष दिनेश डीसी र कोषकी अध्यक्ष वसुन्धरा भुसालले कोषबाट बाढीप्रभावित फिल्मकर्मीलाई जनही ४५ हजार रुपियाँको दरले सहयोग गरेका हुन्। गम्भीर रोगी तथा आर्थिक रूपमा कमजोर फिल्मकर्मीलाई मात्र सहयोग गर्दै आएको कोषले पहिलोपटक प्राकृतिक प्रकोपबाट प्रभावित फिल्मकर्मीलाई सहयोग गरेको हो।
कोषअन्र्तगत नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ र नेपाल चलचित्र द्वन्द्व कलाकार संघका सदस्यहरू यादव सिटौला, शिवप्रसाद चोलागाईं, सन्तु तामाङ, कुल प्रसाद हुमागाईं, गोकुल हुमागाईं, ज्ञानबहादुर तामाङ, र फणिन्द्र बहादुर विकलाई राहतस्वरुप सहयोग रकम प्रदान गरिएको हो।
बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मकर्मीको हितका लागि बोर्ड निरन्तर क्रियाशील रहने बताएका छन्। ‘फिल्मकर्मीका समस्या समाधान गर्न बोर्ड सधैँसंवेदनशील छ। प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न पाउनु हाम्रो दायित्व पनि हो’ डिसीले भने। कोषकी अध्यक्ष भुसालले यसप्रकारको कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै फिल्म क्षेत्रका श्रमिकको सुरक्षाका लागि कोषले जिम्मेवारी पूरा गर्दै जाने बताइन्।
प्रतिक्रिया