आगामी चैत २९ गते रिलिजमा आउने एक्सन फिल्म कर्मामा समावेश गीत सार्वजनिक गरिएको छ।
सारी लगाइदेउ बोलको गीतमा सलिना बिकको स्वर, सुष्मा सिग्देलको शब्दरचना, भाष्कर स्वाँरको संगीत, भाष्कर स्वार र सुवास पौडेलको एरेन्जमेन्ट तथा शाश्वत श्रेष्ठको भिडियो मिक्सिङ र मास्टरिङ रहेको छ। नेपाली समाजको टिपिकल शब्द प्रयोग गरिएको गीतले सांस्कृतिक झल्को दिन्छ।
गीत रत्यौली संस्कृतिमा तयार पारिएको छ। माया–प्रेम दर्शाउँदै व्यङ्ग्य गरेको गीतले मर्दपनको पनि कुरा गर्छ। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विपिन कार्की, उपासना सिंह ठकुरीलगायत छन्। रत्यौलीमा विपिन कार्कीको प्रवेशले गीतको भिडियो रोमाञ्चक बनेको छ। उनलाई महिलाको पहिरन र मेकअपमा ठट्यौली र रमाइलो देखिएको छ।
विपिन र उपासनासँगै मुकुन भुसाल, सरिता गिरी, दिव्यदेव, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतले अभिनय गरेको फिल्म चैत २९ गते नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुनेछ। विपिन कर्मामार्फत पहिलोपटक एक्सन भूमिकामा देखिँदैछन्।
उनलाई टक्कर दिन खलपात्रको भूमिकामा मुकुन भुसाल देखिँदैछन्। खलपात्रमा मुकुन पनि पहिलोपटक देखिन लागेका हुन्। ग्रे जोनमा रहेर केही क्यारेक्टर गरेपनि पूरै खलपात्रको रूपमा भने मुकुनका लागि कर्मा पहिलो फिल्म हुनेछ। विपिन र मुकुन दुवैले कर्मामार्फत नयाँ अनुभव गर्दैछन्।
त्यसैले उनीहरू स्वयंका लागि पनि यो चलचित्र प्रतीक्षित बनेको छ। फिल्मको कथा निर्देशक सौरभ चौधरी स्वयंले लेखेका छन् भने भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया