गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यु निर्देशनमा बनेको फिल्म वसन्तको हालै राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ ।
वसुन्धारास्थित सिटी स्क्वायर मलमा फिल्मको प्रवद्र्धनका लागि आयोजित वसन्त–साँझमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ४ मिनेट लामो ट्रेलरमा जनआन्दोलनको परिवेशमा तयार पारिएको फिल्मले समाजमा जातकै आधारमा हुने भेदभाव, प्रेममा आउने तगारो र पात्रहरूले गर्ने संघर्षलाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरेको छ।

ट्रेलरमा प्रेम सम्बन्ध, सपना र सामाजिक अन्तरविरोधको कथा खोलिएको छ। बागलुङको धम्जा गाउँमा खिचिएको फिल्मको ट्रेलरमा जातीय विभेद हटाउन केही युवा बन्दुक समातेर जंगल पस्छन्। गणतन्त्र प्राप्तिको डेढ दशक बितेपनि जातीय समानता र क्रान्तिका अभिभारा पूरा नभएकोप्रति तत्कालीन सशस्त्र विद्रोहका नेतृत्वकर्तामाथि ट्रेलरमा प्रश्न उठाइएको छ।
कार्यक्रममा अभिनेता तथा गायक सपुत, अभिनेत्री स्वस्तिमा खड्का, गायक देवेन्द्र बब्लु (द फिरन्ते) गायिका शान्तिश्री परियार, प्रीति आलेलगायतले गीत संगीतलगायतका प्रस्तुति दिएका थिए। प्रकाश र स्वस्तिमाका साथमा माओत्से गुरुङ, प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायतले अभिनय गरेको फिल्ममा लेखन र संगीत पनि निर्देशक सपुतकै रहेको छ। फिल्म गलबन्दी प्रोडक्सनको ब्यानरमा मोहन विश्वकर्मा र विन्दु बोहराले निर्माण गरेका हुन्।
प्रतिक्रिया