राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९७ औँ शृङ्खलामा साहित्य सिर्जना, राजनैतिक सङ्घसङ्गठन एवम् शैक्षिक संस्थामा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका काभ्रेका सशक्त प्रगतिवादी स्रष्टा रक्तिम लामाका एक दर्जन कविता गुञ्जिए ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो भने उपाध्यक्ष रमेश पोखरेलले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा सङ्घका निवर्तमान अध्यक्ष तथा सल्लाहकार राम विनय, प्रा.डा.षडानन्द पौड्याल, खेमराज निरौलालगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
अध्यक्ष नर्मदेश्वरी सत्यालले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो भने निवर्तमान काव्य विभाग प्रमुख डा.हरिप्रसाद सिलवालले कविनायकको परिचय दिनुहुँदै वि.सं.२०३५ साउन १६ गते हालको तेमाल गाउँपालिका वडा नं.९ काभ्रेमा माता चेमो तामाङ र पिता टीकाराम तामाङका सुपुत्रका रूपमा जन्मिएका कान्छामान लामा तामाङ साहित्यमा रक्तिम लामाका नामबाट कलम चलाउँछन् । हाल बनेपा नगरपालिका वडा नं.१० कागल गाउँमा बसोवास गरिरहेका उनले प्रमाणपत्र तहसम्मको शिक्षा हासिल गरेका छन् । २०६३ सालमा ‘थोत्रो मोजा’ कवितासङ्ग्रह प्रकाशित गरेका लामाका मोफसलका विभिन्न पत्रपत्रिकामा फुटकर लेख तथा कविताहरू प्रकाशित भएका छन् ।
२०५१ सालदेखि राजनीतिमा सक्रिय रहेका लामा हाल नेकपा एमालेको ‘जनसङ्ख्या तथा स्वास्थ्य विभाग’को केन्द्रीय उपाध्यक्ष रहेका छन् । आफ्ना सिर्जनामा नेपाली समाज त्यसमा पनि विपन्न जनताका भोगाइको जीवन्त चित्र खिच्ने र स्पष्ट रूपान्तरणको सन्देश सम्प्रेषण गर्ने अनि सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने लामा अहिलेको समयका सक्रिय स्रष्टा हुन् । अविरल जनसाहित्य यात्राको नयाँ, पुराना र वैचारिक आधारमा स्रष्टा चयन गर्ने र नयाँ तथा पुरानालाई मिसाएर प्रस्तुत गर्ने उद्देश्यअनुसार अहिलेको यो शृङ्खलामा कवि लामालाई सुन्ने यो विशेष समारोहको आयोजना गरिएको जानकारीसमेत दिनुभयो ।
समारोहकी अध्यक्ष नर्मदेश्वरी सत्यालले २०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को आज हामी ९७ औँ शृङ्खला सम्पन्न गर्न लागिरहेका छौँ । देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा हामीले प्रस्तुत गरेका स्रष्टाहरू हर्ष स्याङ्बो, आनन्ददेव भट्ट, पीताम्बर भण्डारीको देहावसानसमेत भइसकेको छ ।
आज नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका, सामाजिक रूपान्तरण अभियानका अभियन्ता तथा राजनीतिका माध्यमबाट समेत सामाजिक रूपान्तरण अभियानमा सक्रियता देखाइरहेका प्रगतिवादी स्रष्टा रक्तिम लामालाई प्रस्तुत गरिएको हो । यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि यो विशेष समारोहको उद्देश्य हो । आजको यो विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकार गरी उपस्थित भइदिने कविनायक, प्रमुख अतिथि, अतिथिहरू तथा स्रष्टाहरू सबै सबैलाई हार्दिक स्वागत गर्दछु । हामी स्रष्टाले अराजकतावादको विरोध गर्नुपर्ने, कविता भनेको भावनाको प्रखर अभिव्यक्ति हो र यसले सामाजिक रूपान्तरणको संवाहकको भूमिका निर्वाह गर्नुपर्ने मान्यतालाई आत्मसात गरी स्पष्ट विचारका साथ सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्दै साहित्यको सिर्जना गर्नुपर्ने हाम्रो मान्यतालाई आत्मसात गर्ने यिनै कुशल स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ भन्नुभयो ।
कविनायक रक्तिम लामाले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै आपूmले कविता सिर्जनाबाटै साहित्ययात्राको थालनी गरेको र निरन्तर साधना एवम् आफ्नो क्षेत्रबाट सामाजिक रूपान्तरण अभियानमा केही न केही योगदान गर्नुपर्छ भनेर आजपर्यन्त क्रियाशील भइरहँदा, सकेजतिको सक्रियता देखाइरहँदा कतै न कतैबाट मूल्याङ्कन गरी यति लामो इतिहास निर्माण गरिसकेको यो महत्त्वपूर्ण ‘अविरल जनसाहित्य यात्रा’को अभियानमा यतिका विद्वान स्रष्टा तथा व्यक्तित्वका सामुन्ने आफ्ना एक दर्जन कविता सुनाउने अवसर प्राप्त भएकोमा गौरवान्वित महसुस गरेको छु । गरिबहरू भोकभोकै मरेको दुर्दान्त पीडा देखेपछि, क्रान्तिको भ्रम छर्ने तर विचार र व्यवहारमा तालमेल नै नगर्ने प्रवृत्ति मौलाएको देखेपछि, नारीमाथिको अत्याचार तथा विभेदको साम्राज्य समाजबाट नघटेको देखेपछि, क्रान्तिका नायक मानिएका कमान्डरहरू पूरै स्खलित भएको देखेपछि, कमरेड शब्दले दाजुभाइ, आफन्त, साथीको सम्बोधन हराएर समानताको प्रतिनिधित्व गर्ला भन्ने अपेक्षा झन गुट र फुटमा परिणत भएको देखे÷भोगेपछि, गरिबीले आक्रान्त ग्रामीण परिवेशलाई नियालेपछि अनि निरङ्कुशता गाउँसमाजमा विद्यमान नै रहेको पाएपछि आपूmले कविता सिर्जना गर्ने गरेको रचनागर्भको जानकारीसहित ‘क्रान्ति, तिमी र म’, ‘हामी उज्यालोकै पक्षमा गीत गाइरहन्छौँ’, ‘छामामार कमरेड’, ‘मुखिया, मसाल र म’, ‘कमरेड पनि के भन्नु तिमलाई !’ र ‘आमा’ शीर्षकका अत्यन्त सुन्दर, सरल, सशक्त एवम् वैचारिक छओटा गद्यकविता वाचन गर्नुभएको थियो । त्यसैगरी सहयोगी कविहरू ईश्वर थोकरले ‘कमरेड नुनुलाल’ शीर्षकको, भवानी पाण्डेले ‘भरिया, सूर्य र नाम्लो’ शीर्षकको, सरस्वती चिमौरियाले ‘अन्तर्राष्ट्रिय नारी दिवस’ शीर्षकको, प्रलेस काभ्रेका उपाध्यक्ष नवराज उत्साहीले ‘कमान्डर बोल्दैन’ शीर्षकको, प्रलेस काभ्रेका सचिव दिनेश खरेलले ‘घाइते योद्धाहरूको नाममा’ शीर्षकको र दिल पौडेलले ‘प्रिय पिपा’ शीर्षकको गरी छओटा त्यस्तै सुन्दर, शालीन, सरल तर सशक्त वैचारिक कविता वाचन गर्नुभएको थियो ।
वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै समालोचक प्रा.डा.षडानन्द पौड्यालले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान ९७ औँ शृङ्खलामा पुगेको छ । यो अभियानमा उपस्थित भएर आज प्रगतिवादी स्रष्टा रक्तिम लामाका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने अवसर पाउँदा खुसी पनि लागेको छ । गद्यकवितालाई मुक्त लयका कविता भनिए पनि गद्यकविताका तीनओटा छन्दमध्ये आज वाचित एघारओटा कविता जगती छन्दमा र आमा शीर्षकको कविता गायत्री छन्दमा लेखिएको देखिन्छ । भाव, भाषा र लयको सङ्गतिका साथ समयको मानक, वैयक्तिकता, स्थानीयता, सूक्तिमयता र कविको प्रतिबद्धता कवितामा आवश्यक हुन्छ भनेर बाल्जाकले भनेका छन् । आज वाचित ‘भरिया, सूर्य र नाम्लो’ कवितामा र ‘आमा’ कवितामा स्थानीय रङको प्रतिविम्बन भएको छ । अर्थात् यी कविता जनजीवनसँग प्रत्यक्ष जोडिएका छन् । कविले कवितामा सत्य बोलेका छन्, सिद्धान्तनिष्ठ देखिएका छन्, कवितामा जीवनको छायाँ देखिएको छ । दुई दशकभित्रको समय आजका कवितामा अभिव्यक्त भएको छ । कुनै समयमा लेखिए पनि कविता समयसान्दर्भिक छन् । केही कवितामा सूक्तिमयता पाइन्छ । गुरुप्रसाद मैनालीको ‘पापको परिणाम’ कथाको प्रभाव आजका कविका कवितामा पनि परेको छ ।
राजनीतिका सारथिले जनअपेक्षा पूरा गर्ने प्रयत्न नगरेका प्रति कवितामा चिन्ताभाव अभिव्यक्त भएको छ । मुलुकको पहिचान र वैचारिक उद्देश्य समाप्त पार्ने राजनीतिक नेतृत्वका प्रति घृणाभाव व्यक्त गरिएको छ । कविको मात्र विचार वा चिन्ता नभएर समग्र नेपाली जनताको चिन्ता भएर कवितामा विचार आएको पाइन्छ । सहिदका परिवार उपेक्षित र आहत मात्र भएका छैनन् देश र जनताको मुक्तिका लागि प्राणाहुति गर्ने सहिदको तस्बिरमा माल्यार्पण गरेको दृश्य तिनै सहिदका परिवारले लुकेर हेर्नुपर्ने अवस्था सिर्जना भएको प्रति आक्रोश व्यक्त गरिएको छ । समयचेतना समसामयिक र सार्थक बनेर कवितामा आएको छ । स्रष्टाका सिर्जनालाई हरेक कोणबाट हेर्न र विश्लेषण गर्न सकिन्छ । कवितामा वर्गीयताको प्रतिनिधित्व गरिब, भरिया, हुँदा खाने र सर्वसाधारण जनताका माध्यमबाट गराइएको छ । खान नपाएर मरेको गरिबको चित्रणले पाठकलाई समेत द्रविभूत गराइदिन्छ । जनताको जीवनस्तर उठाउने विषयमा होटलमा सेमिनार गर्ने प्रवृत्तिको विरोध गरिएको छ । नागरिकका समस्यामा, पीडामा कमरेड बोल्दैन बरु कमरेड पलायन भएको छ, सामूहिकता हराएको छ, बोली र व्यवहारमा स्पष्ट पृथकता देखिएको छ ! नारीचेतना कवितामा उजागर गरिएको छ, शरीर राजनीति अनि वर्गीय दमनलाई जीवन्त रूपमा चित्रण गरिएको छ । वाचित कविताहरूले मानवजीवनलाई प्रतिबद्ध हुन र समर्पित हुन प्रेरित गरेका छन् । कविको कलम सशक्त छ तापनि भाषिक सम्पादन भने आवश्यक छ र केही कवितामा व्याख्या गरिएको छ, ती व्याख्याका पङ्क्ति हटाउँदा हुने देखिन्छ । आजका यी कविताले कवि परिवर्तनकारी भएको र परिवर्तनका पक्षमा आशावादी दृष्टिकोण सम्प्रेषण भएको पुष्टि पनि भएको छ भन्ने धारणा राख्नुभयो ।
प्रमुख अतिथि प्रेमनाथ अधिकारीले अविरल जनसाहित्य यात्राको यो सन्तानब्बेऔँ शृङ्खलामा आज सक्रिय, सशक्त कवि रक्तिम लामालाई सुनियो । रूपान्तरणको पक्षमा सशक्त विचारसहितका कविता यहाँ वाचित भए । माहासङ्घका सात घटकमध्ये एक घटकको आज राष्ट्रिय सम्मेलन भएको हुँदा म अलि ढिला आइपुगेँ तर समीक्षक विद्वान प्राध्यापकले कविताको चिरफार गर्नुभएको सबै सुनेँ । अहिले पनि गाउँको पीडा असाध्यै धेरै छ । अहिलेका हाम्रा सिर्जनामा मान्छेले तलसम्म बुझ्ने विषय र पक्षधरता आवश्यक छ । प्रतिगमनले मुन्टो उठाउने प्रयत्न गरेको आभाष हुन थालेको छ त्यसैले स्रष्टाले सचेतताका साथ कलम चलाउनु आवश्यक छ । हाम्रा सिर्जनामा समग्र बेथितिका विरुद्धमा आबाज बुलन्द गर्नु आवश्यक छ । विचारले नेतृत्व गर्ने हामीहरूका लागि चुनौती आइरहन्छन् । वर्तमान पिँढी विगतको क्रान्ति र सङ्घर्षका बारेमा जानकार छैन त्यसैले विगतका सङ्घर्ष र बलिदानका गाथालाई पनि हामीले अभिलिखित गरेर इतिहासको सुरक्षण गर्नु आवश्यक छ । हामी सबैको ध्यान यी समग्र पक्षमा पुग्नु आवश्यक छ भन्नेसमेतको धारणा राख्नुभयो ।
समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक तथा परिवारका सदस्यलाई धन्यवाद दिँदै सङ्घका महासचिव डा.कृष्ण सुवेदीले सिर्जना, सङ्गठन एवम् शैक्षिक संस्थामा सक्रियता देखाइरहेका; सामाजिक रूपान्तरण अभियानमा सक्रिय स्रष्टा रक्तिम लामालाई आज हामीले सुन्यौँ । कवितामा अत्यन्त सपाट, सरल एवम् सुबोध्य भाषाशैलीमा सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने; शालीन विद्रोहका माध्यमबाट रूपान्तरणप्रेमी वैचारिकता सम्प्रेषण गर्ने, सुन्दर ग्रामीण विम्बलाई प्रयोग गरेर सामाजिक यथार्थलाई जीवन्तरूपमा चित्रण गरी परिवर्तन तथा रूपान्तरणका पक्षमा कविता लेख्ने; विचार र व्यवहारमा तालमेल नगर्ने ढोँगी राजनीति र नेतृत्वलाई कठोर प्रहार गर्ने; आदर्श मानेका नेतृत्व विचारमा स्खलित भएकाले आफैँ घृणित भएका यथार्थको प्रस्तुति गर्ने, समाजमा विद्यमान अन्धविश्वास तथा शोषणमा शालीन प्रहार गर्ने; नेतृत्वसँग विचार र व्यवहारको तालमेल नभएका कारण सङ्कीर्णता मौलाएको मात्र होइन रूपान्तरण अभियानले बाटो बिराएको प्रस्ट धारणा राख्ने लामा स्पष्ट आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने शिल्पी हुन् । यिनै कुशल स्रष्टाका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अब हामी वैशाख महिनामा ९८ औँ ‘अविरल जनसाहित्य यात्रा’मा नेपाली प्रगतिवादी साहित्यमा अत्यन्त क्रियाशील रहेका स्रष्टा प्रा.डा.रामप्रसाद ज्ञवालीलाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।
- रमेश पोखरेलद्वारा सम्प्रेषित
प्रतिक्रिया