भारतको जयपुरमा हालै आयोजित २५औं आईफा अवाड्र्स सम्पन्न भएको छ। आईफाले सिल्भर जुब्ली मनाउँदै सन् २०२४ मा रिलिज भएका तथा डिजिटल प्लेटफर्ममा रिलिज भएका फिल्म र वेब सिरिजलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको छ।
फिल्म लापता लेडिजले सर्वाधिक ११ अवार्ड जितेको छ। लापता लेडिजले सर्वोत्कृष्ट फिल्म तथा यही फिल्मबाट किरण रावले निर्देशक, नितान्शी गोयलले अभिनेत्री, प्रतिभा रान्ताले नवअभिनेत्री, छाया कदमले सह अभिनेत्री, रवि किसनले सह अभिनेता, विप्लब गोस्वामीले मौलिक कथा, स्नेहा देसाईले पटकथा, राम सम्पथले संगीत निर्देशक, प्रशान्त पाण्डेले गीतकार र जबीन मर्चेन्टले सम्पादनको अवार्ड चुमेका छन्।
सन् २००१ को ग्रामीण भारतमा आधारित लापता लेडिजले दुई नयाँ विवाहित महिलाको कथा पछ्याउँछ, जो रेल यात्राको क्रममा गल्तीले एकअर्कासँग साटिन्छन्। फिल्मले महिलाको सशक्तीकरण, पहिचान र सामाजिक मूल्य मान्यताजस्ता विषयवस्तु उजागर गर्दै मनोरञ्जनात्मक कथा प्रस्तुत गर्छ। लापता लेडिजमा फूलकुमारीको भूमिका निर्वाह गरेकी नितान्शी गोयलले १७ वर्षको उमेरमै आलिया भट्ट र कटरीना कैफजस्ता बलिउडका ठूला हस्तीलाई पछाडि पारिदिएकी छन्।

भुल भुलैया ३ बाट कार्तिक आर्यनले अभिनेता, श्रेया घोषालले गायिका, रेड चिलिजले इफेक्ट, किलबाट राघव जुयालले खलपात्र र लक्ष्य लालवानीले नव अभिनेता, सुवास साहू, बोलोय कुमार डोलोई र राहुल कर्पेले साउण्ड डिजाइन, राफे महमूदले छायांकन, शैतानबाट आर. माधवनले नकरात्मक भूमिका र जानकी बोडिवालाले सह अभिनेत्रीको अवार्ड चुमे।
मेरी क्रिसमसबाट श्रीराम राघवन, अरिजित विश्वास, पूजा लढा सुर्ती र अनुकृति पाण्डेले रुपान्तरित कथा, मडगाउ एक्सप्रेसबाट कुणाल केमुले नव निर्देशक, आर्टिकल ३७० बाट जुबिन नौटियालले पाश्र्व गायक, अर्जुन धवन, आदित्य धर, आदित्य सुहासभले जाम र मोनल ठकारले संवाद, ब्याड न्युज तौबा तौबाबाट बोस्को–सिजरले कोरियोग्राफीको अवार्ड चुमे।
आईफा डिजिटल अवार्डतर्फ भने पञ्जाबी गायकको जीवनमा आधारित बायोपिक अमरसिह चमकिलाले सर्वोत्कृष्ट फिल्म र यइम्तियाज अलीले निर्देशकको अवार्ड चुमे।
त्यस्तै नेटफ्क्सि सिरिज सेक्टर ३६ बाट विक्रान्त मैसीले अभिनेता र दीपक डोबरियालले सह अभिनेता, बर्लिनबाट अनुप्रिया गोयनकाले सह अभिनेत्री, दो पत्तीबाट कृति सेननले अभिनेत्री र कनिका ढिल्लनले कथा, पंचायत ३ ले वेब सिरिज र दीपक कुमार मिश्राले निर्देशक, जितेन्द्र कुमारले अभिनेता र फैसल मलिकले सह अभिनेताको अवार्ड चुम्दा बन्दिश ब्यान्डिट्सबाट श्रेया चौधरीले अभिनेत्री, हीरामन्डीः द डायमन्ड बजारबाट संजीदा शेखले सह अभिनेत्री, फ्याबुलस लाइब्स वर्सेज बलिउड भाइब्सले रियालिटि शो, यो यो हनी सिंहले डकुमेन्ट्रि सिरिज र मिसमैच्डको इश्क है गीतका लागि अनुराग सैकियाले बेस्ट टाइटल ट्रयाकको अवार्ड चुमे। शनिवार र अइतवार दुई दिनसम्म चलेको आईफामा अभिनेत्री करिश्मा कपुर खानले आफ्ना हजुरबुबा एवम् अभिनेता राज कपुरलाई समर्पित भावनात्मक श्रद्धाञ्जली प्रस्तुत गरिन्।
कार्यक्रममा शाहरुख खान, माधुरी दीक्षित, नोरा फतेही र कार्तिक आर्यनजस्ता कलाकारले मञ्चमा प्रस्तुति दिँदै दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।
प्रतिक्रिया