काठमाडाैं।
वरिष्ठ कवि तीर्थ श्रेष्ठका दर्जन बढी कविता वाचन गरिएको छ । काठमाडौंमा शनिबार मदन भण्डारी फाउण्डेसनको आयोजनामा ‘श्वेत शार्दूल: एक यात्रा कविको शिविर’मा उनले आफ्ना कविता वाचन गरेका हुन् ।
कार्यक्रममा कवि श्रेष्ठले जीवन र जगतसँग सम्बन्धित कवितासँगै व्यंग्यात्मक कविता र गजलहरू प्रस्तुत गरे। पोखरामा बसोबास गर्दै आएका उनले काठमाडौंका विकृतिहरूलाई आफ्नो कविताको माध्यमबाट कटाक्ष गरेका थिए ।
‘ओ काठमाडौं उठ’ कवितामार्फत उनले काठमाडौंमा अपराधिक गतिविधि मौलाउँदै गएको, बागमती र विष्णुमति नदी फोहोर भएको प्रति चिन्ता व्यक्त गरे। उनले मान्छेलाई सर्प र सर्पलाई मानिससँग तुलना गर्दै समाजको यथार्थ चित्रण गरे। उनले ‘काठमाडौं खाल्डो’ कविता वाचन गर्दै काठमाडौंको इतिहास र वर्तमान अवस्था झल्काए। त्यस्तै, ‘जिन्दगीको गोदुली एउटा प्यास छ अझै…’ गजल प्रस्तुत गरेर दर्शकको मन जितेका थिए ।
उनले लेखेका जिन्दगीको कुरूक्षेत्रबाट, पाइलाका नीबहरूले र धर्सैधर्साको चक्रव्यूह, महाभारतका गीतहरू, मेरै हिमालजस्तो, जिन्दगीको गोधूलीमा कृतिहरू प्रकाशित छन्।
कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कविता समाज बुझ्ने प्रभावशाली माध्यम भएको बताइन्। ‘कविताबाट यथार्थमा आधारित कुराहरू समाजलाई जानकारी गराउन सकिने बताइन् ,’कला, साहित्यले समाजलाई सूसुचित गर्न टेवा पुर्याउने बताइन् ।
मदन भण्डारी फाउण्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले मदन भण्डारी केवल राजनीतिमा सीमित नभई साहित्यसँग पनि जोडिएको हुँदा यस प्रकारका साहित्यिक कार्यक्रमको आयोजना गरिएको बताएकी छन् ।
प्रतिक्रिया