खोटाङ।
खोटाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर मृत्यु भएको हो ।
शनिबार बिहान करिब ४ बजे घरको आँगनमा चट्याङ लाग्दा राईको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताएका छन् । घरबाहिर सुकाएको कपडा उठाउने क्रममा दिलकुमारीलाई चट्याङ लागेको पाईएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रतीक विष्टले बताए ।
जिल्ला अस्पताल खोटाङमा मृतक दिलकुमारीको शव परीक्षण गराईने जनाईएको छ ।
यस्तै, घरको बार्दलीबाट सडकमा खस्दा गम्भीर घाइते भएकी २१ महिने शिशुको उपचारमा लौँदै गर्दा बाटोमै मृत्यू भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीका अशोक पोखरेल र कुमारी ढुङ्गानाको छोरी अनुसोया पोखरेलको मृत्यु भएको हो ।
दिक्तेलबजारस्थित एक घरमा बस्दै आएका पोखरेल दम्पतीकी छोरी शुक्रबार साँझ बार्दलीबाट ढलान गरेको सडकमा खसेकी थिईन् । ढलान गरेको सडकमा खस्दा गम्भिर अनुसोयालाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको थियो । जिल्लामा उपचार सम्भव नभएपछि अस्पतालले काठमाडौँस्थित ट्रमा सेन्टर रेफर गरेपछि सुमो गाडीमा काठमाडौँ उपचारका लागि पठाइएको थियो ।
उपचारको लागि काठमाडौँ लगिएको शिशु अनुसोयाको जयरामघाट पुगेपछि गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मृतक अनुसोयाको शनिबार बिहान दिक्तेल ल्याएर शव परीक्षण गरिएको डिएसपी विष्टले जनाए ।
प्रतिक्रिया