काठमाडौं
तारकेश्वर नगरपालिका ४ मा रहेको सृजनशील महिला समाज नेपालले आफ्ना गतिविधि र कार्यहरुलाई अझै प्रभावकारी बनाउन फन्ड कलेक्सन गर्ने उद्धेश्यले शनिवार वृहत फुड फेस्टिभल कार्यक्रमको आयोजना गर्यो ।
सो समाजले जलवायु परिवर्तनले पारेका असर न्यूनीकरण गर्न आवश्यक सचेतता , महिला हक अधिकारका लागि आवश्यक पैरवी, सरसफाइ कार्यक्रम लगायत अन्य सामाजिक र रचनात्मक कार्य गर्दै आइरहेको छ । सृजनशीलले शनिवार तारकेश्वर नगरपालिका ४ स्थित मिलवस्तीमा आयोजना गरेको फुड फेस्टिभल कार्यक्रममा स्थानीयहरुको उत्सावद्र्धक सहभागिता रहेको थियो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपमेयर सिर्जना बुर्लाकोटीले सृजनशील महिला समाजले समाजमा विभिन्न रचनात्मक कार्यहरु गर्दै आइरहेको र यो आफैमा नीकै प्रसंसनीय रहेको बताइन् । सृजनशील महिला समाजकी अध्यक्ष सुष्मा रेग्मीले संस्थालाई दिगो राख्न र विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न फण्डको आवश्यक पर्ने भएकाले फण्ड कलेक्सनका लागि फुड फेस्टिभल कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् ।

अध्यक्ष रेग्मीले स्थानीय दाजुभाई तथा दिदीबहिनीहरुको सहयोग साथ र मायाका कारण आफूहरुले संस्थालाई गति दिन सकेकाले सदा सदा यस्तै सहयोगको अपेक्षा गरिन् । संस्थाकी उपाध्यक्ष रञ्जना शर्माले सृजनशील महिला समाज गाँउटोलमा रचनात्मक कार्यक्रम गर्न अग्रसर भइरहेको र आफूहरु सबैपक्ष सँग हातेमालो गर्दै अघि बढिरहेको बताइन् ।
कार्यक्रममा जेष्ठ नागरिक सरोकार केन्द्रका विरेन्द्र थपलिया, नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डित लगायतले सृजनशील महिला समाजले गर्दै आइरहेको कार्यको प्रसंसा गर्दै आगामी दिनमा रचनात्मक र सिर्जनात्मक कार्यक्रमलाई अझै विस्तार गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
सो कार्यक्रमा स्थानीय स्तरमा महिला दिदीबहिनीहरुले उत्पादन गरेका विभिन्न अचार, लगायतका अन्य खाद्यहरुको स्टल समेत राखिएको थियो । कार्यक्रममा विभिन्न मनोरञ्जनमूलक गीतहरु पनि प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया