रौतहट ।
रौतहटको उत्तरी भेगमा शुक्रबार मध्यराति आएको भीषण हावाहुरी सहितको असिना पानीका कारण किसानहरु लगाएको बाली नष्ट भएको छ । कृषकहरुले लगाएको मकै तथा गहुँबाली असिना पानीले क्षति पुरयाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार क्षतिको बिबरण आईनसकेको जनाएको छ ।
चन्द्रपुर, फतुवा विजयपुर, गुजरा तथा वृन्दावन नगरपालिकाका विभिन्न वडाका किसानहरुको बालीनाली क्षति पुगेपछि उनीहरु चिन्तामा परेका छन । वृन्दावन नगरपालिका–१ का किसान रामलोचन राउतले लगाएको एक विघा १० कठ्ठा मकै पूर्ण रुपमा नष्ट भएको छ ।
त्यस्तै, चन्द्रपुर–१० का किसान अवधलाल राउतले आफ्नो करेसाबारी तथा खेतमा लगाएको काक्रो, साग, करेला, प्याज, खुर्सानी तथा डेढ विघामा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको छ । वृन्दावन–१ बलेरीका बलेरी क्षेत्रका किसानहरुको करिब ५ सय विघामा लगाएको मकैबाली असिना पानीले नष्ट पारेको वृन्दावन जल उपभोक्ता समितिका सचिव सुरेन्द्रप्रसाद पटेलले बताए । उब्जनी हुने बेलामा आएको हावाहुरी र असिनापानीले बालीमा क्षति पुगेपछि किसानहरु आर्थीक संकटमा परेका छन् । प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिनाले किसानहरुमा परेको मर्कामा सरकारको ध्यान जानु पर्ने बताए ।
प्रतिक्रिया