एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ


झापा।

सशस्त्र प्रहरी बलले एक हजार ६३६ किलो गाँजासहित झापाबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले सो परिमाणको गाँजासहित बुद्धशान्ति गाउँपालिका–४ मेची राजमार्गबाट दुई ट्रकसहित दुवैजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि नगरपालिका–४ का महेश राई र इलामको माईजोगाई गाउँपालिका–२ का गङ्गाबहादुर बस्नेत रहेका छन् ।

इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको ट्रकबाट सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले जाँच गर्दा ट्रकमा ५७ बोरामा राखेर ल्याउँदै गरेको गाँजा बरामद गरेको हो । प्रहरीले उनीहरुको साथबाट ८७ हजार र पाँच थान मोबाइल समेत बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।

उनीहरुलाई ट्रकसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ ।