सिन्धुपाल्चोकको ‘आमायाङ्ग्री’बाट योग जागरणको सन्देश 

17.39k
Shares

काभ्रे। 

योगलाई जन–जनमा पु–याउने सदिच्छा अनुरूप नेपालमा पनि योगको माध्यमबाट स्वस्थ शरीर, चरित्र निर्माण गर्न तथा योगका माध्यमबाट नागरिकहरुको आर्थिक समृद्धिलाई समेत सहयोग पु¥याउने उद्देश्यले सिन्धुपाल्चोक जिल्लाको ३८०० मिटर उचाइमा रहेको पर्यटकीय क्षेत्र आमायाङग्रीमा योग शिविर आयोजना गरिएको छ । 

‘सिन्धुपाल्चोक जिल्लाको ३८०० मिटर उचाइमा रहेको सुन्दर शान्त वातावरणमा रहेको आमायाङग्रीमा गरिएको पदयात्रा र योगध्यानबाट मनमा आनन्दको अनुभूति हुनुको साथै सकारात्मक सोचलाई अझ अगाडी बढाउन मद्दत पुग्ने विश्वास लिएका छौं’–पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रुवेन तौजलेले भने–‘योग सम्बन्धी जागरण फैलाउन उक्त क्षेत्रसम्म पदयात्रा तथा योगध्यान कार्यक्रम आयोजना गरेका हौं । यसले सबैको ध्यान आकर्षण हुने र व्यक्ति स्वस्थ रहँदा राष्ट्र स्वस्थ हुने सन्देश प्रवाह गर्न सहज हुने विश्वास लिएका छौं ।’ देशभर सबै नागरिकहरुले योगका माध्यमबाट आफू, परिवार र समाजलाई स्वस्थ राख्ने अभियानमा सहभागि गराउने सकारात्मक सोचका साथ विभिन्न कार्यक्रम आयोजना गर्ने क्रममा आमायाङग्रीमा उक्त कार्यक्रम आयोजना गरिएको प्रदेश समिति अध्यक्ष तौजलेले बताए ।

योग संस्कृत शब्दको ‘यूज’ शब्दबाट बनेको हो । योगको अर्थ जोड हो । मनसंग मन, आत्माको आत्मासंँग जोड नै योग हो । योगले आत्म विश्वास बढाउँछ । सकारात्मक सोच ल्याउँछ । योगलाई जनजनमा पु¥याउने सदिच्छा अनुरूप नेपालमा पनि योगको माध्यमबाट स्वस्थ शरीर, चरित्र निर्माण गर्न योगका विभिन्न कार्यक्रम आयोजना गरिएको पतञ्जली योग समितिले जानकारी दिएको छ । जिल्ला जिल्लामा योगको विस्तार गर्ने क्रममा बागमती प्रदेश अन्तर्गतका १३ वटा जिल्लामा योगका कार्यक्रमहरु भईरहेका छन् । 

सिन्धुपाल्चोक जिल्लामा योग शिविर तथा वार्षिक उत्सव पश्चात् आयोजित उक्त कार्यक्रममा बागमती प्रदेश प्रमुख ग्रुवेन तौजले तथा महिला अध्यक्ष कविता रावतको समन्वयमा योगलाई नयाँ आयाम दिन मेलम्ची नगर पालिकाका प्रमुख आइतमान तामाङको सक्रिय सहयोगबाट सिन्धुपाल्चोक जिल्लाको ३८०० मिटर उचाइमा रहेको आमायाङग्रीमा पदयात्रा र योग ध्यान आयोजना गरिएको हो । उक्त कार्यक्रममा सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्लाका विभिन्न जिम्मेवारीमा रहेका ७८ जना योग साधक साधिकाहरुको सहभागिता रहेको थियो । पदयात्रा तथा योगध्यान नयाँ र फरकपन सहित अविष्मरणिय रहेको सहभागीहरूले व्यक्त गरे । मेलम्चीबाट करिब २ घण्टा गाडीमा वेशक्याम्पसम्म र वेशक्याम्प देखि करिब २ घण्टा ३० मिनेट पदयात्रा गरी पुग्ने हिमालको काखमा रहेको शान्त र रमणीय दृष्य स्वच्छ वातावरण भएको स्थानमा आमायाङग्री रहेको छ । सहभागीहरूले उक्त स्थानमा एक पटक पुग्नै पर्ने पर्यटकीय स्थल रहेको बताएका छन् । 

सिन्धुपाल्चोक जिल्लामा योग जागरण ल्याउन पतञ्जली योग समिती नेपाल बागमती प्रदेश प्रमुख ग्रुवेन तौजलेले निरन्तर प्रयत्न गरिरहे । महिला समिति अध्यक्ष कविता रावतको नेतृत्वमा महिला पतञ्जली योग समिती गठन गरी लामोसाँघु, बाह्रबिसे, मलेम्ची र चौतारासम्म योगजागरण अभियान सञ्चालन गरिएको छ । सोही कार्यक्रममा नातिबाबु धितालको नेतृत्वमा पतञ्जली योग समिती सिन्धुपाल्चोकले योगका कार्यक्रमहरु गरिरहेको छ । योग जागरण अभियानलाई बाह्रबिसे नगरपालिका र मेलम्ची नगर पालिकाले विशेष प्राथमिकतामा राखेको अध्यक्ष धितालले बताए । सिन्धुपाल्चोक जिल्लामा योग अभियानका लागि काभ्रेपलान्चोक जिल्लाले पनि सक्रिय सहभागिता जनाएको छ । बाह्रबिसे र मेलम्ची नगर पालिकामा सञ्चालन गरिएको योगको वार्षिक उत्सव कार्यक्रमबाट योगप्रति सकारात्मक सोच बढ्न गई जनमानसमा योगको उद्देश्य प्राप्त गर्न मद्दत पुगेको सहभागीहरूले बताए ।

२०८१ चैत्र २–४ गते सम्म मेलम्ची नगर पालिकामा सञ्चालन भएको निःशुल्क योग विज्ञान शिविरमा मेलम्ची नगर पालिकाका प्रमुख आइतमान तामाङको विशेष सहभागिता रहेको थियो । पतञ्जली योग समिति बागमती प्रदेश प्रमुख ग्रुवेन तौजलेको मार्ग निर्देशन तथा महिला पतञ्जलि योग समिति, सिन्धुपाल्चोक अध्यक्ष कविता रावतको सक्रिय भूमिकाबाट योग जागरणमा थप ऊर्जा मिलेको कार्यक्रममा सहभागीहरूले बताए । 

आमायाङग्रीको पदयात्राको पकिल्पनाका साथै पदयात्रा मार्फत योग जागरण र योग ध्यानको योजना बनाएका बागमती प्रदेश प्रमुख ग्रुवेन तौजले, समन्वय गर्ने महिला अध्यक्ष कविता राउत र व्यवस्थापन गर्ने मेलम्ची नगर पालिकाका प्रमुख आइतमान तामाङलाई सहभागीहरूले विशेष धन्यवाद व्यक्त गरेका थिए । योगको माध्यमबाट व्यक्ति र समाजलाई सकारात्मक कार्यमा अघि बढाउन अन्य संघ-संस्थाले पनि महत्त्व दिनु पर्ने सहभागीले बताए । आमायाङग्रीको प्रचार प्रसार तथा आन्तरिक र बाह्य पर्यटनको विकासमा योगको जागरण अभियानले पनि थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।