पाठक पत्र: युट्युबको जेन्जी पुस्तामा प्रभाव

846
Shares

युट्युब मनोरञ्जनको महासागर हो, जहाँ हरेक सोच, कथा र सिर्जना जिउँदो बन्छ । यो केवल भिडियो हेर्ने ठाउँ मात्र होइन, सिक्ने, देखाउने र संसारसँग जोडिने डिजिटल संसार पनि हो ।

विशेष गरी जेन्जी (सन् १९९७–२०१२ बीच जन्मेका युवा) का लागि यसको प्रभाव उल्लेखनीय छ । उनीहरूको जीवनशैली, सोचाइ र भविष्य निर्माणमा यसले ठूलो परिवर्तन ल्याएको छ । युट्युब अब ‘सधैं खुला रहने विश्वविद्यालय’ जस्तै बनेको छ, जहाँ कुनै शुल्क नतिरी नयाँ सीप सिक्न, आफ्ना विचार व्यक्त गर्न र करियरको नयाँ बाटो पहिल्याउन सकिन्छ । तर, जस्तै सिक्का दुई पाटे हुन्छ, युट्युबले सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको छ ।

युट्युबको सकारात्मक प्रभाव:

युट्युब जेन्जीका लागि अवसरको ढोका हो । यो प्लेटफर्मले युवाहरूलाई रचनात्मक बन्न, आत्मनिर्भर हुन र आफ्ना सीपहरू निखार्न सहयोग पु¥याइरहेको छ । युट्युब एउटा मुक्त स्टेजजस्तै हो, जहाँ कोही पनि आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्छ । संगीत, चित्रकला, प्रविधि, यात्रा, खाना पकाउने, स्ट्यान्डअप कमेडीजस्ता विभिन्न विधामा हजारौं युवाहरूले आफ्नो विशेषता देखाउने अवसर पाएका छन् ।

विद्यालय र कलेजले नपढाउने थुप्रै कुराहरू युट्युबले सिकाउने काम गर्छ । चाहे कोडिङ, डिजाइन, व्यवसाय व्यवस्थापन, भाषा सिकाइ वा आत्मविकास नै किन नहोस्, युट्युबले युवाहरूलाई नयाँ ज्ञान हासिल गर्ने सहज माध्यम प्रदान गरेको छ । आजकल युट्युबर बन्नु केवल सोख मात्र होइन, धेरैका लागि मुख्य पेसा (करियर) नै बनेको छ । सामग्री सिर्जना, भिडियो सम्पादन, डिजिटल मार्केटिङ र अनलाइन शिक्षणजस्ता क्षेत्रमा काम गरेर युवाहरू राम्रो आम्दानी गर्न थालेका छन् ।

युट्युबमा काम गर्दा समय र स्थानको कुनै निश्चितता आवश्यक पर्दैन । युवाहरूले आफ्नो रुचिअनुसार काम गर्न सक्ने भएकाले आत्मविश्वास बढ्छ, स्वतन्त्रता अनुभूति हुन्छ र नयाँ चुनौतीहरू सामना गर्ने हिम्मत बढ्छ । युट्युबको नकारात्मक प्रभावः सबै कुरा सधैं राम्रो मात्र हुँदैन । यदि युट्युबको प्रयोग असन्तुलित भयो भने यसले नशा, मानसिक स्वास्थ्यमा असर, साइबर बुलिङ र गलत सूचना फैलाउनेजस्ता गम्भीर समस्याहरू निम्त्याउन सक्छ ।

युवाहरूको युट्युबमा समय बिताउने बानी कहिलेकाहीँ नशामा परिणत हुन सक्छ । धेरैजसो शुरुमा केही सिक्नको लागि युट्युब खोल्छन्, तर पछि उनीहरू मनोरञ्जनको नाममा विभिन्न अनावश्यक भिडियोहरूमा समय गुमाउँछन् । यसरी समयको अपव्यय गर्दा, अध्ययन, काम र व्यक्तिगत जीवनमा असन्तुलन आउन थाल्छ, जसले तिनीहरूको दिनचर्या र मानसिक स्वास्थ्यमा नकारात्मक असर पु¥याउँछ । युट्युबमा देखाइने ‘परफेक्ट’ जीवनशैली सधैं वास्तविक हुँदैन । धेरै युवाहरू अरूको जीवनसँग तुलना गर्न थाल्छन्, जसले आत्म–सन्देह, डिप्रेसन र निराशा बढाउने खतरा रहन्छ । लाइक र भ्युजको आधारमा आफ्नो मूल्यांकन गर्दा आत्मविश्वास घट्न सक्छ ।

कमेन्ट सेक्सनमा हुने गालीगलौज, अनावश्यक आलोचना र ट्रोलिङले धेरै युवालाई मानसिक तनाव दिने गर्छ । कतिपय गुमनाम प्रोफाइलबाट अनलाइन उत्पीडन गर्ने प्रवृत्ति बढिरहेको छ, जसले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । युट्युबमा पाइने सबै सामग्री सत्य हुन्छन् भन्ने छैन । कतिपय अवस्थामा षड्यन्त्र गर्ने र अफवाह एवं गलत सूचना फैलाइने गरिन्छ, जसले युवाहरूलाई भ्रमित पार्न सक्छ ।

गलत सूचना फैलिएर स्वास्थ्य, राजनीति र समाजमा गलत प्रभाव पर्न सक्छ । सन्तुलन आवश्यक छ । युट्युब अवसर हो वा चुनौती, यो पूर्णरूपमा हाम्रो प्रयोगमा निर्भर गर्छ । यदि सन्तुलितरूपमा सही तरिकाले प्रयोग गरियो भने, शिक्षा, करियर, र व्यक्तिगत विकासको लागि यो महत्वपूर्ण साधन बन्न सक्छ । तर अनियन्त्रित प्रयोगले युवाहरूको समय, ध्यान, र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।

युट्युब शक्तिशाली उपकरण हो, जुन व्यक्तिगत विकास, करियर निर्माण र सिर्जनात्मक अभिव्यक्तिको लागि उपयोगी बन्न सक्छ । तर यसको अनियन्त्रित प्रयोगले समयको अपव्यय, मानसिक तनाव र गलत सूचनाको प्रभाव निम्त्याउन सक्छ । जेन्जीले युट्युबलाई साधनको रूपमा प्रयोग गर्दै सन्तुलित तरिकाले यसको फाइदा लिनुपर्छ । यदि सही तरिकाले प्रयोग गरियो भने, युट्युब अवसर हो । यदि अनियन्त्रित रुपमा प्रयोग गरियो भने, चुनौती बन्न सक्छ ।