‘सगरमाथा संवाद जलवायु न्यायका लागि आवाज उठाउने सबैभन्दा महत्त्वपूर्ण फोरम’


काठमाडौँ। 

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले सगरमाथा संवाद जलवायु न्यायका लागि आवाज उठाउने सबैभन्दा महत्त्वपूर्ण फोरमको रुपमा नेपालले उपयोग गर्नुपर्ने धारणा राखेकी छन् । 

विश्व पानी दिवसको अवसर पारेर बिहीबार काठमाडौँमा  आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उपाध्यक्ष घिमिरेले बिश्वका धेरै राष्ट्रप्रमुख उपस्थित हुने फोरमलाई नेपालले  जलवायु न्यायका लागि आवाज उठाउने सबैभन्दा महत्त्वपूर्ण फोरमको रुपमा उपयोग गर्नुपर्ने धारणा राखेकी हुन्। 

‘जलवायु परिवर्तन र तापक्रम वृद्धिले हिमालय क्षेत्रमा परेको नकारात्मक प्रभावबारे विश्वको ध्यान आकृष्ट गराउनका लागि आगामी जेठमा सगरमाथा संवादको आयोजना हुँदैछ। विश्वका ४ सय भन्दा बढी देशका प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरिएको फोरममा  हिमाली क्षेत्रमा देखिएका प्रभावका बारेमा विश्वको ध्यान जानेछ भने ठुला र औद्योगिक देशले कार्बन उत्सर्जन गर्ने तर त्यसको नकारात्मक परिणाम हामी जस्ता हिमाली देशले भोग्नु परेका कारण क्षतिपूर्तिको आवाजलाई पनि बलियो बनाउन मद्दत गर्नेछ ।’ उनले भनिन् ‘जलवायु न्यायका लागि आवाज उठाउने सबैभन्दा महत्त्वपूर्ण फोरमको रुपमा नेपालले सगरमाथा फोरमलाई प्रयोग गर्नुपर्छ ।’

विश्व पानी दिवसको यस बर्ष हिमनदी संरक्षण सम्बन्धी नारा तय गरेर नेपाल जस्तो हिमाली देशका लागि  हिमनदीहरुको संरक्षणको मुद्दालाई बिश्वब्यापी बनाउन अझ ठुलो मद्दत गरेको चर्चा  गर्दै उपाध्यक्ष घिमिरेले बिश्वमा बढ्दो तापमानलाई नियन्त्रण नगर्ने हो भने भावी पुस्ताका लागि पानीको स्रोत संरक्षण गरिदिन हामी असफल बन्ने खतरा बढेको छ भनिन् ।  ‘हिमनदीमा आउने संकटले नेपाललाई सबैभन्दा बढी असर गर्नेछ । पानी नै उर्जा, सिंचाई र पिउनेपानीको स्रोत हो ।  हिमनदी संरक्षण दिन सके मात्रै हामीले शुद्ध पानीको स्रोत सुरक्षित गर्न सक्नेछौ।’ उनको भनाई थियो । 

उपाध्यक्ष घिमिरेले सबैका लागि सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धि अन्तराष्ट्रिय रुपमा नेपालले गरेको प्रतिबद्धता र स्वच्छ खानपोनी सेवामा पहुँच तथा स्वच्छ वातावरणमा बाँच्न पाउने नेपालको संविधानले नै व्यवस्था गरेको मौलिक हकलाई समेत ध्यानमा राखेर यस सम्बन्धी ऐन र नितिहरुको तर्जुमा र भएका नितिहरुको पुनरावलोकन गर्दै जानुपर्ने कुरामा जोड दिइन् ।