बाटोमा हिँड्दा बिजुलीका पोल, मठमन्दिर वा सार्वजनिक स्थलका भित्तामा विभिन्न खालका पोस्टर देखिन्छन् । अधिकांश पोस्टरमा कर्मचारी आवश्यकता लेखिएको हुन्छ ।
त्यहाँ कक्षा १० देखि १२ पाससम्मका विद्यार्थीलाई मासिक १५ हजारदेखि २५ हजार रुपियाँसम्म तलब दिने र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म ड्युटी अवधि हुने उल्लेख हुन्छ । योसँगै कोठा, सटर र फ्ल्याटका लागि सम्पर्क गर्नुहोला भनी पोस्टर टाँसेको पनि पाइन्छ । अझ कोठा, सटर र फ्ल्याट खोज्नका लागि भनेरै अहिले त अफिससमेत खुलिसकेका छन् । देशमा बेरोजगार युवाहरुको संख्या बढ्दो क्रममा छ । उपत्यकामा सटर धमाधम खाली भए पनि एउटा कोठा पाउन अझै मुस्किल छ । बेरोजगारीका कारण तनावमा रहिरहँदा वा महिनौं खोज्दा पनि कोठा नपाएपछि यस्ता पोस्टरमा विश्वास गरी मानिसहरु त्यसमा सम्पर्क गर्छन् ।
अनि सम्बन्धित व्यक्तिले भनेको ठाउँमा पुग्छन् । त्यहाँ पुगेपछि उनीहरुलाई पाँच सय रुपियाँदेखि दुई हजार रुपियाँसम्म तिर्न लगाइन्छ । त्यो पैसा फारामको भनिन्छ । फाराम भरेपछि निश्चित समयमा जागिर वा कोठा पाइने आश्वासन दिइन्छ । तर, महिनौं बित्दासमेत न जागिर पाइन्छ, न कोठा । अहिले अधिकांश मानिसहरु यसरी ठगिएका छन् । बेरोजगारीले भौंतारिरहेको अवस्थामा उनीहरुलाई नै ठग्ने काम गरिरहेको छ ।
यता, कोठा खोजिदिए पनि भाडा तिरिसक्नुको हुँदैन । आठ हजार रुपियाँ मासिक भाडा नपर्ने कोठालाई १२ हजार रुपियाँ असुल्छन् । अनि घरधनीसँग पनि कमिसन खान्छन् । फेरि घरधनी र कम्पनीबीच सम्झौता भाँडिएमा डेरावाल तुरुन्त सर्नुपर्छ । कतिपय कम्पनीले काम लगाइदिए पनि आधा तलब उनीहरु आफैंले लिन्छन् ।
किनकि कम्पनीमार्फत गएपछि त्यो व्यक्तिको तलब कम्पनीकै खातामा हालिन्छ । अनि कम्पनीले आधा बाँकी राखेर तलब श्रमिकलाई दिन्छ । बेरोजगारीको फाइदा उठाएर सीमित कम्पनीहरुले सोझासाझा सर्वसाधारणको रगतपसिनामाथि लुटतन्त्र मच्चाइरहेका छन् । यद्यपि, सरोकारवाला निकायहरु मौन छन् । जनता ठगिँदा, लुटिँदा र शोषित हुँदा पनि कसैलाई केही चासो छैन । सरकारमा बसेकाहरुलाई कसरी कुर्सी जोगाउने भन्ने मात्र चिन्ता छ । सरकार गतिलो नभएपछि जनताले दुःख पाउनु स्वाभाविक पनि हो ।
बैंक, वित्तीय संस्था, अस्पताल, होटल, रेस्टुरेन्ट, निजी संघसंस्थालगायतमा सुरक्षाकर्मी खटिएका छन् । दिनरात नभनी उनीहरु काम गर्छन् । दशैं, तिहारजस्तो नेपालीजनको महान् चाडमा समेत उनीहरुले बिदा पाउँदैनन् । बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म उनीहरुलाई काममा खटाइन्छ । तर, तलबचाहिँ उनीहरुले मासिक आठ हजारदेखि बढीमा १५ हजार रपियाँ पाउँछन् । रोचक कुराचाहिँ के छ भने, उनीहरुको तलब भनेर सम्बन्धित बैंक, वित्तीय संस्थाहरुले मासिक २० हजारदेखि ३५ हजार रुपियाँसम्म सम्बन्धित कम्पनीलाई भुक्तानी गर्छन् ।
यसरी कम्पनीले आधाभन्दा बढी रकम राखेर उनीहरुलाई तलब दिन्छ । अचेल सुरक्षाकर्मी होस् या अन्य कामदार, कम्पनीमार्फत खटाइन थालिएको छ । बाहिरका मान्छेमाथि हत्तपत्त विश्वास गरिँदैन । अनि वर्षमा यति कामदार यो कम्पनीबाट ल्याइने भनेर पहिल्यै सम्झौता गरिसकेको हुन्छ । सम्झौता गरेपछि व्यक्तिहरु जागिर माग्दा त्यहाँ पुगेमा त्यहाँ ठाउँ खाली भएपछि रोजगारी दिइँदैन । भनिन्छ, कम्पनीमार्फत आउनू ।
बेरोजगारीले थिचेपछि मानिसहरु कम्पनी जान बाध्य हुन्छन् । त्यहाँ दुई हजार रुपियाँसम्म तिरेर फाराम भर्छन् । अनि फाराम बुझाएको हप्ता दिनमा कम्पनीमार्फत फोन आउँछ । कम्पनी पुगी सम्बन्धित व्यक्ति भेटिन्छ । त्यहाँ उनीहरुलाई शुरुमै एउटा डकुमेन्टमा हस्ताक्षर गर्न लगाइन्छ । भनिएको छ, कामको बखत केही घटना, दुर्घटना भएमा सोको जिम्मेवारी कम्पनीले लिनेछैन । बेरोजगारीले खान नपाइरहेको अवस्थामा मानिसहरु जोखिम मोलेर भए पनि काम गर्न तयार हुन्छन् । र इमानदारिताका साथ खट्छन् । दुर्भाग्य, दिनरात मेहनत गर्छन्, तलबचाहिँ कम्पनीले आधा बढी पचाउँछ ।
दलालहरुको बिगबिगी जताततै बढेको छ । अहिले हरेक क्षेत्रमा बिचौलिया हाबी भएका छन् । हुन त यहाँ आफन्तबाटै आफन्त ठगिएका छन् । आफन्तबाटै अधिकांश पीडित बनेको पाइन्छ । रोजगारीको खोजीमा पछिल्लो समय विदेश जाने क्रम ह्वात्तै बढेको छ । जो कोही विदेश गइरहेका छन् । तर, यसको फाइदा सीमित दलालहरुले मज्जाले उठाइरहेका छन् । विदेश पठाइदिने नाममा सोझासाझा जनतालाई ठगिएको छ । ऋण गरेर विदेश जान भनी लिएको रकम दलालीहरुले पचाइदिँदा अधिकांश मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । यसमा पनि अधिकांश आफ्नै साथीभाइ वा आफन्तबाट ठगिएको पाइन्छ । फेरि आफन्तविरुद्ध उजुरी पनि त कसरी दिनु ?
अचेल राम्रो विद्यालयमा भर्ना गरिदिने बहानामा पनि लाखौं रकम ठगिएको सुनिन्छ । यसमा पनि अधिकांश आफन्तबाटै ठगिएका छन् । घरधनीहरु डेरावाललाई भन्छन्, ‘फलानो पसलबाट सामान किन्नुस् । त्यहाँ निकै राम्रो र सस्तोमा सामान पाइन्छ ।’ घरबेटीको विश्वास गरेर डेरावलले त्यही पसलबाट सामान किन्छ । तर, उसलाई के थाहा कि घरधनीले त्यो पसलबाट कमिसन खाएको छ । सरकारी कार्यालयमा घुसझैं निजी क्षेत्रमा पनि कमिसनको प्रवृत्ति मौलाएको छ । अचेल कमिसनविना केही कामै हुँदैन । कमिसनको लोभमा नराम्रा वस्तुको समेत प्रचारप्रसार गरिन्छ ।
यो अहिले हरेक क्षेत्रमा छ । हार्डवेयर पसलदेखि गिट्टी, बालुवा, रोडालगायत विभिन्न व्यापार व्यवसायमा संलग्नहरुले आफ्नो सामान बिकाउन सीमित व्यक्तिलाई प्रचारप्रसार गर्न लगाई नराम्रो सामानसमेत महँगोमा बेचिरहेका छन् । त्यसो त पार्टी प्यालेस, होटल, रेस्टुरेन्टमा पनि कमिसनको खेल हुन्छ । फलानो पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट राम्रो छ भन्दै ग्राहक लगिन्छ अनि व्यवसायीबाट कमिसन खाइन्छ ।
यसको ज्वलन्त उदाहरण सहकारीका बचतकर्ताहरु पनि हुन् । उनीहरु आफ्नै आफन्त वा परिवारका कारण डुबेको बताउँछन् । भन्छन्, ‘मैलें जेठानको विश्वासमा परेर सहकारीमा बचत गरेँ । अहिले पैसा डुबेपछि जेठानले वास्तै गरेनन् ।’ कतिपय भने साथीभाइ वा अन्य आफन्तको विश्वासमा परेर बचत गरेको बताउँछन् । अहिले कोही न कोही कतैबाट ठगिएकै पाइन्छ । कोही विश्वासमा परेर ठगिएका छन् भने कोही सेवा पाउने आशामा ठगिएको भेटिन्छ । देशमा विकास हुन सकेन तर ठग्ने आइडियाचाहिँ दिनमा दुई र रातमा दश गुणाले बढिरहेको छ ।
अब आफ्नै आफन्त वा चिनजान भएकैबाट जोगिन गाह्रो भएको छ । किनकि अहिले सबैभन्दा बढी चिनजान भएकै व्यक्ति वा आफन्तबाट ठगिन्छ । कमिसन र पैसाको लोभलालचमा मानिसहरुले आफ्नो धर्म बिर्सिएका छन् । मानवता हराउँदै गएको छ । विश्वासघात गर्नेहरु बढिरहेका छन् । यो अझै बढिरहेमा भविष्यमा आफन्त भन्ने शब्दसमेत हराउनेछ । अहिले नै अधिकांश आफन्त भन्नासाथ चिढिन्छन् ।
– कविता परियार ।
प्रतिक्रिया