कलाकार संघको साधारणसभामा कलाकर्मी सम्मानित


नेपाल चलचित्र कलाकार संघको २०औं साधारणसभा राजधानीमा एक विशेष समारोहका बिच सम्पन्न भएको छ।

नेपाली फिल्मका विभिन्न गीतमा नृत्य प्रस्तुत गर्दै शुरू गरिएको समारोहमा कलाकारहरूलाई सम्मान गरिएको छ।

सो अवसरमा ५ दशकदेखि अभिनयमा सक्रिय चरित्र अभिनेता मुकुन्द किशोर भट्टराय, ४ दशकदेखि क्रियाशील चरित्र अभिनेता लय संग्रौला र अभिनेता पूरण जोशीलाई ७५ हजार रुपियाँ नगदसहित क्रमशः २०७८, २०७९ र २०८० सालको नेपाल फिल्म कलाकार संघ पुरस्कार प्रदान गरियो।

त्यसैगरी ४ दशकदेखि अभिनयमा योगदान पु¥याएवापत नगद ५६ हजार रुपैयाँसहित यस वर्षको शान्ति मास्के स्मृति पुरस्कार अभिनेत्री गौरी मल्ललाई प्रदान गरियो। त्यस्तै १० हजार रुपियाँसहित गोपाल राउत स्मृति पुरस्कार कलाकार रामकाजी घिमिरेलाई प्रदान गरिएको छ। सोही अवसरमा डा. रूपक घिमिरे, अभिनेता धिरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह र एयर सेल ट्राभललाई विशेष सम्मान गरिएको छ।

संघका अध्यक्ष तथा समारोहका सभापति संघको स्थापनादेखि हालको अवस्थासम्म ल्याई पुर्याउने अग्रजलाई सम्मान गर्दै आफूले पदभार ग्रहण गरेपछि गरेका गतिविधि र कार्य प्रगतिबारे प्रकाश पारेका थिए। कलाकार लय संग्रौलाले फिल्म क्षेत्रमा सँगै गोरेटो खन्न हिँडेका केही साथीले मात्रै चिनेको तर सरकारले नचिनेको गुनासो गरे।

प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले प्रदान गर्दै आएको मेडिकल इन्सुरेन्स अब ३० वर्ष योगदान दिएका फिल्मकर्मीका लागि २ लाख र २० वर्ष पुगेका फिल्मकर्मीका लागि १ लाख रुपियाँको पुर्याउने बताए। समारोहमा अभिनेत्री चैत्यदेवी सिंहले चलचित्र कल्याणकारी कोषलाई नगद २५ हजार रुपियाँ सहयोग गरेकी छन्।