भूठानले ल्यायो कागजको खोस्टो

1.79k
Shares

ख्यातिप्राप्त हास्यव्यङ्ग्य अभिनेता हरिवंश आचार्यले गम्भीर भूमिकामा अभिनय गरेको फिल्म भूठानमा समावेश कागजको खोस्टो बोलको गीत सार्वजनिक गरिएको छ।

पुष्पन प्रधानको स्वर, नवराज पराजुलीको शब्द रचना र वाचन, रिदम कँडेलको संगीत संयोजन र सुनिल शिवभक्तिको सम्पादन रहेको गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ। गीतले परदेसिएर वा घरदेखि टाढा भएकालाई घरको यादमा चुर्लुम्म डुबाई एकफेर भएपनि आफनो गाउँ ठाउँ पुगिहालौँ जस्तो महसुस गराउँछ।

गीतमा घरबाहिर रहेको पात्रले आफू घर नफर्कि मर्न पनि नमिल्ने र काललाई समेत ताकेता गर्न नमिल्ने भावका मार्मिक शब्द छन्। गीतमा हरिवंश आचार्यको जीवन्त अभिनय छ। गीत नवराज पराजुलीको युट्युब च्यानलबाट प्रसारण गरिएको हो।
अंग्रेजीमा द वल्र्डस् ह्याप्पिएस्ट म्यान नामाकरण गरिएको फिल्मको मुख्य भूमिकामा हरिवंश आचार्यका साथमा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा आर लामा, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी, हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नलगायतले अभिनय गरेका छन्।

भुटानदेखि भारत र नेपाल हुँदै हाल अमेरिकामा बसोबास गरिरहेका भुटानीको देशप्रेम र थातथलो छोड्न पर्दा घर हराएको कथा पेस गरिएको फिल्म बुलबुल फिल्मबाट नाम कमाएका विनोद पौडेलले निर्देशन गरेका हुन्।

ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेस्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्म्स्का ब्यानरमा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बास्कोटाद्वारा निर्मित फिल्ममा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट र अपार श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। फिल्म आगामी वैशाख १२ गते रिलिज हुनेछ।