दिक्तेल नगरपालिका क्षेत्रमा दुर्लभ रेडपाण्डा भेटिए

4.42k
Shares

खोटाङ। 

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका बन क्षेत्रमा बिश्वमै दुर्लभ बन्यजन्तु रेडपाण्डा फेला परेको छ । रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न साता दिन बढी अवधिको भ्रमणमा रहेका नगरपालिकाको टोलीले मेरुङ सामुदायिक बनमा रेडपाण्डा फेला पारेको हो ।

 दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी बैशाखमा आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सबमा केन्द्रीत नगरपालिकाको टोलीले रेडपाण्डा भेट्टाएका हुन् । रेडपाण्डाको फोटो र भिडियो कैद गर्ने तथा स्थलगत अध्ययन गर्ने उदेश्यले ६ नम्बर नेर्पाका वडाध्यक्ष माधव राईको संयोजकत्वमा चैत्र–१ गते भ्रमण टोली बन क्षेत्र पसेका थिए । 

रेडपाण्डालाई दुई हजार सात सय ८१ मिटरको उचाईमा भेटिएको वडाध्यक्ष राईले सुनाए । विभिन्न समुहमा बिभााजित भएर खोजी गर्ने क्रममा बिहान आठ बजेर ४० मिनेट जाँदा रुखमा खेलिरहेको अवस्थामा रेडपाण्डा भेटेको बुवालुङका प्रचण्ड राईले जनाए ।

भेटिएको रेडपाण्डा करिब अढाई बर्षको भाले भएको मेरुङ सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष पल्लबसिंह राईले बताए । उक्त बनमा करिब पाँच वटा रेडपाण्डा हुन सक्ने रेडपाण्डा हेरालु स्थानीय पुष्पलाल गिरीको अनुमान छ । आकार र तौलको आधारमा रेडपाण्डालाई पाँच प्रकारमा विभाजन गरिने हुँदा सो बनमा पाँचै प्रकारका रेडपाण्डा पाउन सकिने गिरीको प्रतिक्रिया छ । नगरपालिकाको कोप्चे लगायत अन्य बनमा पनि रेडपाण्डा भेटिने गरेको स्थानीयले बताउँदै आएका छन् । रेडपाण्डाले बिशेषगरी मालिङ्गो बाँसको टुसा खान मन पराउने हुनेले मालिङ्गो भएको क्षेत्रमा बढी भेटिने सम्भावना हुने स्थानीयवासीको अनुभव छ ।

यस कार्यले रेडपाण्डा तथा थार महोत्सव थप प्रभावकारी बन्ने र दीर्घकालीन योजना समेत सफल बन्न मद्दत पुग्ने ठहर छ ।  रेडपाण्डा खोजीका लागि महोत्सव संयोजक तथा वडा नम्बर १० पाथेकाका अध्यक्ष मुगाधन राई, १२ नम्बरका वडाध्यक्ष दानबहादुर राई, पत्रकार,  बनपैदावर तथा जैवीक विविधता संरक्षण सम्बद्ध व्यक्ति लगायतका टोली जुटेका छन् ।

यसअघि, क्यामेरा ट्र्यापमार्फत फेला पर्नु तथा स्थानीयले प्रत्यक्ष भेटिरहेको कुरा सुनाउनुले समेत जिल्लाका केपिलासगढी गाउँपालिकाका फेदी लगायत माथिल्लो भेगका बन क्षेत्रमा रेडपाण्डा पाइने पुष्टि भएको थियो । जिल्लामा सामुदायिक बन समूहको सक्रियता तथा बनसम्बन्धी विभिन्न परियोजनाको सहकार्यमा रेडपाण्डा संरक्षण अभियान सञ्चालन भएका थिए ।।