बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा गेस्ट हाउस सञ्चालक पक्राउ, दुई बालिकाको उद्धार 


काठमाडौं। 

 बालिकालाई वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । 

 काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक गोरखा पालुङटार नगरपालिका–६ घर भएका ४५ वर्षीय शम्भुलाल मल्ललाई प्रहरीले पक्राउ गरेको छ । 

 उक्त गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा शम्भु लालले आर्थिक लाभ लिई बालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन ब्युरो, बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त गेष्ट हाउसबाट २ जना बालिकाहरूको उद्धार गरी सुरक्षित आवासको लागि सेल्टर होममा पठाएको छ । 

 मल्ल उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।