छैटौं ज्ञानमाला भजन प्रतियोगिता सम्पन्न


काठमाडौं। 

नेपाल राष्ट्रिय ज्ञानमाला समिति, कीर्तिपुर चन्द्रागिरि दक्षिणकाली क्षेत्रीय उपसमितिको आयोजना र आनन्दादि लोकेश्वर ज्ञानमाला भजन खलः च्वबहाःको व्यवस्थापनमा छैटौं ज्ञानमाला भजन प्रतियोगिता सम्पन्न भएको छ । 

तीनवटा नगरपालिकाका मेयरहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल गृह प्रमुखका रुपमा, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत प्रमुख अतिथिका रुपमा उपस्थित थिए । सो कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य र चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ र नेपाल राष्ट्रिय ज्ञानमाला समितिका अध्यक्ष तथा वरिष्ठ गायिका रमना श्रेष्ठ विशिष्ट अतिथिका रुपमा उपस्थित थिए भने  कार्यक्रममा धम्मानुशासकका रुपमा भिक्षु भद्दिय महास्थविरले आसन ग्रहण गर्नुभएको थियो ।

कार्यक्रमको पहिलो चरणमा भिक्षु भद्दिय महास्थविरबाट पञ्चशील प्रदान गर्नुका साथै र बुद्धपूजा र धर्मदेशना गरेका थिए । कार्यक्रममा १००० भन्दा बढी ज्ञानमाला भजन प्रेमी उपासक उपासिकाहरुको उपस्थिति रहेको थियो । क्षेत्रीय उपसमिति र आनन्दादि ज्ञानमाला भजन खलःबाट प्रकाशित ज्ञानमाला भजन संग्रह पुस्तक पनि विमोचन गर्नुका साथै उपस्थित उपासक उपासिकाहरुलाई निःशुल्क वितरण गरिएको थियो । 

कार्यक्रममा बुद्ध धर्म र समाजका लागि विशिष्ट योगदान पुर्याउने तीन श्रष्टालाई अभिनन्दन गरिएको थियो । कीर्तिपुरबाट डा. वज्रमुनि वज्राचार्य, चन्द्रागिरिबाट शंखलाल महर्जन र दक्षिणकाली नगरपालिकाबाट मोतीलाल महर्जनलाई दोसल्ला, अभिनन्दन पत्र र मायाको चिनो प्रदान गरी अभिनन्दन गरिएको थियो । साथै च्वबहाःक्षेत्रका २१ जना श्रष्टाहरुलाई पनि दोसल्ला, सम्मान पत्र र मायाको चिनो प्रदान गरेर सम्मान गरिएको थियो ।

गृह प्रमुख कृष्णमान डंगोलले समाजमा ज्ञानमालाको ठूलो महत्व भएको र यस सम्बन्धमा नेपाल राष्ट्रिय ज्ञानमाला समिति, कीर्तिपुर चन्द्रागिरि दक्षिणकाली क्षेत्रीय उपसमितिको यो कार्यक्रम प्रशंसनीय रहेको बताए । चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले मन्तब्यका क्रममा यो ज्ञानमालाको प्रभाव देश मात्र होइन विश्वभरि फैलान सके सिगो विश्वमा शान्ति फैलिने बताए । उनले कार्यक्रमको लागि चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षदेखि नगरपालिकाको रातो किताबमा नै सम्बोधन गरेको र आगामी दिनमा यसलाई निरन्तरता दिदै जाने बताए ।

दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले ज्ञानमाला भजन प्रतियोगिताले सबै नगरपालिकाबीच भाइचाराको सम्बन्ध मजबुत बनाएको छ र यस कार्यक्रम आगामी दिनमा निरन्तरता दिनुपर्ने बताए । 

तेस्रो चरणमा शुरु भएको ज्ञानमाला भजन प्रतियोगितामा कीर्तिपुर नगरपालिकाबाट ९ वटा ज्ञानमाला भजन खलः, चन्द्रागिरि नगरपालिकाबाट ८ वटा दक्षिणकाली नगरपालिकाबाट २ गरी कूल १९ वटा ज्ञानमाला भजन खलःले प्रतिस्पर्धामा भाग लिएका थिए । 

विगत पाँच वर्ष पहिले शुरु भएको ज्ञानमाला प्रतियोगिता र हाल छैटौं ज्ञानमाला सम्म आई पुग्दा ज्ञानमाला रचना, संगीत र गायनमा कीर्तिपुर चन्द्रागिरि दक्षिणकाली क्षेत्रीय उपसमितिले छलाङ्ग मारेको निर्णायक संयोजक रमना श्रेष्ठले बताए ।