स्ववियु निर्वाचन :कतै ताला, कतै सर्वसम्मत


हेटौंडा ।

 मकवानपुरका ७ क्याम्पसमध्ये स्ववियु निर्वाचनमा २ वटामा निर्विरोध कार्यसमिति चयन र एउटामा विवाद देखिएको छ भने ४ क्याम्पसमा निर्वाचन भएको छ ।

स्ववियु निर्वाचनअन्तर्गत मकवानपुरको निर्मल बहुमुखी क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्ववियुले प्यानलसहित जित हासिल गरेको छ ।

कुल ८७ मतदाता रहेकोमा ८४ मत खसेकोमा अनेरास्ववियुका अध्यक्ष उम्मेद्वार प्रशान्त भण्डारी ५३ मतसहित विजयी भएका छन् । उनकी प्रतिस्पर्धी अखिल समाजवादीकी नवीना घलानले ३१ मत ल्याइन् । सचिवमा मुना भण्डारी, कोषाध्यक्षमा सबिन अर्याल विजयी बने ।

मनहरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका कुमार घिसिङ निर्विरोध निर्वाचित भएका छन् । नेपाल विद्यार्थी संघका अविक दाहाल सचिवमा निर्विरोध निर्वाचित हुँदा अखिल क्रान्तिकारीका पासाङ मुक्तान कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

हेटौंडा–६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसमा पनि निर्विरोध कार्यसमिति चयन भएको छ । स्ववियु सभापतिमा अनेरास्ववियुका दिवस सिलवाल सर्वसम्मत भएका छन् । राप्र विसंकी सजना घिमिरे उपसभापति भएकी छन् । सचिवमा अनेरास्ववियुका सुवास राई र अखिल क्रान्तिकारीका आशाराम गोले कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्  भने सहसचिवमा नेविसंघका आशीष भोलन सर्वसम्मत निर्वाचित भएको क्याम्पस प्रमुख लक्ष्मण कँडेलले जानकारी दिए ।

मकवानपुर बहुमुखी क्याम्पसमा स्ववियु सभापतिका लागि २ जना चुनावी मैदानमा छन् । सभापतिका लागि ४ जनाले मनोनयन दर्ता गरेका भए पनि कांग्रेसनिकट विद्यार्थी संगठन नेवि संघले अनेरास्ववियुसँग संयुक्त प्यानल बनाएर अनेरास्ववियुका उम्मेदवारलाई समर्थन गरेका छन् ।

सभापतिका लागि अखिल क्रान्तिकारी, अनेरास्ववियु, राप्र विसं र विप्लव नेतृत्वको विद्यार्थी संगठनको संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका छोइसाङ लामाले उम्मेद्वारी दिएका छन् । लामा मकवानपुर बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु सभापति हुन । अनेरास्ववियु र नेविसंघका साझा उम्मेद्वार अनेरास्ववियुका प्रसिद्ध रेग्मी मैदानमा छन्  । मकवानपुर क्याम्पसमा २ हजार ६ सय ९८ मतदाता छन् ।

पालुङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन हुन सकेन । विहान ८ बजेदेखि निर्वाचन गराउन निर्वाचन अधिकृतले सम्पूर्ण तयारी गरे पनि अनेरास्ववियु र नेपाल विद्यार्थी संघले निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन हुन नसकेको हो ।

निर्वाचन गराउन विहानदेखि असहज परिस्थिति निर्माण भएको भन्दै निर्वाचन समितिले मध्याह्न राजीनामा दिएको छ । निर्वाचन संयोजक कुमार नेगी, सदस्य हरिकृष्ण कार्की, मीना महर्जनले संयुक्त राजीनामा दिएका छन् । निर्वाचन समितिले राजीनामा दिएपछि विवाद समाधान भएको देखिए पनि अखिल क्रान्तिकारी र अखिल छैठौंले निर्वाचन संयोजकसहित सदस्यले राजीनामा दिएपछि तालाबन्दी गरेको छ ।

७२ जना मतदाता रहेको क्याम्पसमा तालाबन्दीसँगै निर्वाचन अनिश्चित बनेको छ । अनेरास्ववियुबाट रोशनी गोपाली र अखिल क्रान्तिकारीबाट रुमिना खत्री अध्यक्ष उम्मेद्वार थिए ।