काठमाडौं
एक महिनामै सार्वजनिक ऋणको भार ६४ अर्ब रुपियाँभन्दा बढीले वृद्धि भएको छ । माघ मसान्तसम्म २६ खर्ब ११ अर्ब ६ करोड रुपियाँ रहेको सार्वजनिक ऋणको भार फागुन महिनामा बढेर २६ खर्ब ७६ अर्ब ३ करोड रुपियाँ नाघेको छ ।
चालू आर्थिक वर्षमा २ खर्ब ४१ अर्ब ९३ करोड रुपियाँ ऋण थप भएको छ । चालू आर्थिक वर्षको सुरूवातमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड ९८ लाख रुपियाँमा रहेको थियो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सार्वजनिक ऋणको दायित्व कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४६ दशमलव ९१ प्रतिशत रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालको जीडीपी ५७ खर्ब ५ अर्ब रुपियाँ अनुमान गरिएको छ ।
कुल ऋणमध्ये आन्तरिकतर्फ १३ खर्ब १५ अर्ब ५७ करोड ८६ लाख अर्थात् जीडीपीको २३ दशमलव शून्य छ प्रतिशत र बाह्यतर्फ १३ खर्ब ६० अर्ब ४६ करोड ११ लाख अर्थात् जीडीपीको २३ दशमलव ८५ प्रतिशत रहेको छ । विनिमय दरमा आएको परिवर्तनबाट ६६ अर्ब २९ करोड रुपियाँ दायित्व थप भएको छ । डलरको भाउ महिँगदा फागुन महिनामा मात्रै २९ अर्ब ७० करोड रूपियाँ बढेको छ । जनसंख्याको आधारमा प्रतिव्यक्ति ऋणको भार झण्डै ९१ हजार रुपियाँ पुगेको छ।
चालू आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा फागुन मसान्तसम्म ३ खर्ब ३४ अर्ब ६२ करोड ऋण प्राप्त भएको छ । यो लक्ष्यको तुलनामा ६१ दशमलव १७ प्रतिशत रहेको छ । यसमध्ये आन्तरिक र बाह्य ऋण प्राप्तिको प्रगति क्रमशः ८१ दशमलव ५६ प्रतिशत र ३० दशमलव १७ प्रतिशत रहेको छ । कुल ऋण प्राप्तिमा आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ८० दशमलव ४३ प्रतिशत र १९ दशमलव ५७ प्रतिशत रहेको छ।
चालू आर्थिक वर्षमा ऋण खर्चका लागि २ खर्ब ८५ अर्ब बजेट विनियोजन गरिएकोमा फागुन मसान्तसम्म २ खर्ब १ अर्ब ८२ करोड भुक्तानी भएको छ, जसले बजेट विनियोजनको ७० दशमलव ७८ प्रतिशत हो । त्यस्तै कुल गार्हस्थ्य उत्पादनको आधारमा फागुन मसान्तसम्म कुल ऋण खर्च ३ दशमलव ५४ प्रतिशत रहेको छ।
प्रतिक्रिया