काठमाडौँ।
प्रहरीले काठमाडौँको टोखाबाट २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको छ ।
पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का कुशाङ लामा रहेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीले ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रकमा लुकाएर राखिएको २५ करोड १ लाख ६० हजार ३ सय ३८ रुपैयाँसहित उनलाई गएराति टोखा नगरपालिका–२ झोरबाट पक्राउ गरेको थियो।
उनले ट्रकको क्याबिनमाथिको बायाँतिर फल्स बटम बनाई सबै रकम त्यहीँ लुकाएर राखिएको अवस्थामा बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिए ।
प्रहरीले उनीबाट अमेरिकी डलर र युरो बरामद गरेको हो । रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा प्रहरीको टोलीले उनलाई गए राति पक्राउ परेको हो ।
लामा यसअघि २०७३ पुस १३ मा सुन तस्करीमा संलग्न रहेको आरोपमा समातिएका र ५ वर्ष जेल बसेर छुटेका थिए। जेलबाट छुटेपछि लामाले फेरि सुन तस्करी सुरु गरेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउछन्। सुन तस्करीमा उनले भरिया र चालकको रुपमा काम गर्ने गरेको पाइएको छ। उनलाई थप कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइने प्रहरीले बताएको छ।
प्रतिक्रिया