यो वर्षको एउटा पठनीय पुस्तक “मान्छेको मुटु”

4.89k
Shares

तपाईँलाई कुनै मानिस भेट्दा कुरा गरिरहुँ जस्तो, मन मिले जस्तो, छुट्टिन नपरे पनि हुन्थ्यो जस्तो आनन्दको अनुभव हुने र कुनै मानिस भेट्दा चाहिँ असजिलो अनुभव हुने, कुरै नमिल्ने, नबोलौं जस्तो, हिंडिहाल्न पाए हुन्थ्यो जस्तो असजिलो हुने कहिल्यै अनुभव भएको छ ?

पक्कै पनि यस्तो स्थितिको अनुभव धेरैले गरेका हुन्छन् । यतिसम्म कि कहिलेकाहिँ त आफुले सम्झेकै बेलामा उसले पनि सम्झिने र कहिलेकाहिं त फोन गर्छु भनेर सोच्नासाथ उसैले फोन गर्नेसमेत हुन्छ । कहिलेकाहिं चाहिँ सँगैको मानिसलाई आफूले केही भन्न खोज्दा त्यही कुरा उसैले पहिला भनिदिने पनि हुन्छ ।

यस्तो स्थिति के कारणले हुन्छ होला कहिले विचार गर्नु भएको छ रु यो मस्तिषकको कारणले हुन्छ कि मुटुको कारणले हुन्छ होला रु यो निकै रहस्यपूर्ण छ । यस रहस्यलाई बरिष्ठ मुटु रोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायले हालै प्रकाशित आफ्नो पुस्तक मान्छेको मुटुमा विस्तृत रुपमा प्रकाश पार्नु भएको छ ।

डा अवनि लेख्नुहुन्छ, मुटु र मस्तिष्कको म्याग्नेटिक फिल्डले गर्दा एउटा मानिसको असर अर्को मानिसमा परिरहेको हुन्छ । एउटा व्यक्तिले अर्को कुनै पनि ब्यक्तिसँग कुराकानी गर्दा इलेक्ट्रो म्याग्नेटिक फिल्ड उत्पन्न भइरहेको हुन्छ । यो म्याग्नेटिक फिल्डको असर एक अर्कामा पर्दा मानिसको मन मिल्ने, मन पर्ने अथवा मन नमिल्ने अथवा मन नपर्ने भावनाहरु उत्पन्न हुन्छन् । यही कारणले कुनै मानिस भेट्नासाथ आफूलाई मन पर्ने या नपर्ने आभास हुन्छ । साथै यही कारणले मानिसको सामाजिक सम्बन्धमा पनि कहीं न कहीं असर पारिरहेकै हुन्छ ।

आफ्‌ना कोही मानिसलाई केही दुरीसम्म मुटुको म्याग्नेटिक फिल्डले निगरानीमा राख्न सक्छ । कोही आफ्‌नो मानिसलाई केही अप्ठेरो परेको छ भने मुटुले नरमाइलो मान्ने कारण नै यही हो । मस्तिष्कले उपलब्ध गर्ने भन्दा मुटुले उपलब्ध गर्ने म्याग्नेटिक फिल्ड बृहत हुने गर्दछ । मुटुको म्याग्नेटिक फिल्ड मस्तिष्कको म्याग्नेटिक फिल्ड भन्दा पाँच हजार गुणा बलियो हुन्छ । मुटुको म्याग्नेटिक फिल्डको दायरा मानिसको वरिपरिसम्म पनि फैलिन सक्छ । यो फिल्डको कारणले मानिस मानिसका विच विना शारीरिक सम्पर्क पनि राम्रो या नराम्रो, मन पर्ने वा नपर्ने अनुभव गर्न सकिन्छ ।

मानिस मानिसको विचमा रहदा, घुलमिल गर्दा, मुटु र मस्तिष्कको गतिविधिले पुनःम्याग्नेटिक फिल्ड बनाउछ । त्यसले एक आपसमा सम्बन्ध राख्ने नजिक आउन वा टाढा जान मद्दत गर्छ । कुनै समूहमा मिलेर काम गर्दा यो कुरा अनुभव गरिएको हुन्छ । कुनै समूहमा जाँदा कुरा मिलेको र कुनै समूहमा जाँदा कुरा नमिलेको हामीले अनुभव गरेका हुन्छौँ । यस्तै कारणले समूह उपसमूहहरु बन्छन् । समूहमा बसेर गरेका कामका अनुभवहरु, इच्छा आकांक्षा, सचेतना, भावनात्मक निर्णय गर्ने क्षमता आदिको कारणले गर्दा मुटु रगत पम्प गर्ने अंग मात्र होइन रहेछ मुटु एउटा विशेष अंग हो भन्ने बुझिन्छ ।


मुटुको लय मिलेको धड्कनका कारण मानिसको सकारात्मक सोचाई, कुनै पनि निर्णय गर्ने क्षमता, स्वच्छ दिमाग, कुनै नयाँ काम गर्ने क्षमता, जोस जाँगर जस्ता कैयौँ अवस्था बनाउन मद्दत गर्दछ । यसले मस्तिष्कलाई पनि राम्रो काम गर्न प्रेरित गरिरहेको हुन्छ । त्यसैले मुटु एउटा संबेदनशिल मायाँको केन्द्र आध्यात्मिकताको क्षमता भएको इन्टेलिजेन्स जस्तो काममा मद्दत पुर्‍याउने अंग मानिन्छ । बरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायद्वारा लिखित मान्छेको मुटु नामक उक्त पुस्तक निकै भिन्न विषय बस्तु र फरक शैलीको प्रस्तुति भएको तथा फरक जानकारी एवं फरक स्वादले भरिपूर्ण भएको पाइन्छ। यस पुस्तकमा मुटुसँग समबन्धित समग्र रोगका साथै मुटुसँग सम्बन्धित शरीरका सम्पूर्ण अंगहरुका बारेमा पनि उल्लेख गरिएको छ । मुटुको भौतिक पक्ष आध्यात्मिक पक्ष भावनात्मक पक्ष मुटु र मष्तिस्कको सम्बन्ध लगायत विविध बिषयमा रोचक र मिठासपूर्ण शैलीमा सरलतम तरिकाले प्रस्तुत गरिएको छ ।


यो पुस्तक कुनै जीवन बृतान्त वा काल्पनिक साहित्यिक कृति नभई विशुद्ध बैज्ञानिक तथ्य र तथ्यांकमा आधारित तथ्यपरक कृति हो । प्रश्नोतर शैलीमा लेखिएको यो पुस्तकमा मुटु स्वास्थ्य, खानपान, ब्यायाम आदि बारे विरामीहरुले चिकित्सकलाई बारम्बार सोध्ने अनेकौँ प्रश्नहरुको उत्तर समावेश गरिएको छ । जस्तोः
१)मेरो आफन्तको मुटु चलिरहेको थियो, डाक्टरले ‘ब्रेन डेथ भइसक्यो, लास बुझ्‌ने तयारी गर्नुहोस्‌’ भने । हामीले अस्वीकार गर्‍यौँ, विवाद सुरु भयो । मुटु चलिरहेको विरामीलाई मरिसक्यो भन्न मिल्छ ?
२)चित्त दुख्दा नरमाइलो मान्ने वा खुसी हुँदा प्रफुल्ल हुने मन मुटुमै छ जस्तो लाग्छ । मायाँ मुटुले गर्छ भन्ने अधिकांश साहित्यमा पाइन्छ । के यो सव मुटुमा भएको सानो मस्तिष्ककै कारण भएको हो त ?
३)मानिसले कुनै कुराको निर्णय गर्दा मस्तिष्क एक्लैले गर्छ कि मुटुको पनि सहभागित हुन्छ?
४) भगवानलाई मुटुले मान्छ कि मस्तिष्कले ?
यी लगायत यस्तै २ सयवटा भन्दा बढी प्रश्न र तिनका जवाफले यो पुस्तक आम मानिस र चिकित्सक विच भइरहेको संवादको जीवन्त प्रतिनिधि जस्तो बनेको छ ।
हेर्दा हातको मुठी जत्रो मुटु आफैंमा एउटा महासागर हो । साथै शरीरका सम्पूर्ण अंगमा रगत र पोषण पुर्‍याएर सवैसँग निकट सम्बन्ध राख्ने मुटुको कार्यक्षेत्र महासागर भन्दा पनि बृहत् हुने नै भयो । यो बृहत् महासागर मन्थन गरेर निकालिएको अमृत जस्तै छ डा. अवनिभूषणको नव कृति ‘मान्छेको मुटु’ ।

मानिसको शरीरमा अंगका राजाको रुपमा रहेको मुटुको महत्व, यसलाई रोग लाग्नबाट बचाउने उपाय, रोग लागिहाल्दा उपचारका उपायहरुका सम्बन्धमा मात्र नभई, मस्तिष्क लगायत अरु विभिन्न अंगसँग मुटुको सम्बन्ध, समस्या र समाधानका उपाय बारे आम मानिसका मन मस्तिष्कमा उठ्ने अनेकौं प्रश्नहरुको एकमुष्ठ जवाफ स्वरुप आएको छ यो पुस्तक ‘मान्छेको मुटु’ । साच्चै भन्ने हो भने मुटुका यति धेरै बहुआयामिक पक्षहरु समेटेर नेपाली भाषामा लेखिएको यस किसिमको अर्को पुस्तक सायद प्रकाशित भएको छैन ।
त्यसकारणले पनि यो पुस्तक आम पाठकहरुका लागि उपयोगी छ । वास्तवमा मुटुसम्बन्धी विरामीहरुका लागि त डा अवनिभूषणाको बृहत प्रेस्कृप्सन नै हो । यसका साथै डा अवनिको करिव साढे चार दशक लामो उपचार सेवाको अनुभव र नयाँ नयाँ खोज र अध्ययनको निरन्तरताले पुस्तक यस क्षेत्रमा काम गर्ने चिकित्सकहरु स्वास्थ्यकर्मीहरु र मेडिसन विषयका अध्यताहरुका लागि निकै उपयोगी देखिन्छ । यस पुस्तकमा समेटिएका स्वास्थ्य नितिसम्बन्धी विषयले यो पुस्तक स्वास्थ्य सम्बन्धी निति निर्माता एव् कार्यकारी पदमा बसेकाहरुका लागि पनि निकै उपयोगी हुने देखिन्छ ।

साथै व्यक्ति आफैँ, चिकित्सक र अस्पतालका सानातिना गल्ति तथा कमजोरीले मानिसको ज्यान कसरी जोखिममा पर्ने गर्छ रु र तदारुकताले कसरी जीवन बचाउन सकिन्छ रु भन्ने कुरालाई बुझाउने केही उल्लेखनीय केसहरु समेत समेटिएकाले यो कृतिको रोचकता र महत्तालाई थप उचाइ दिएको छ । डा अवनिले यस पुस्तकमा समावेश गर्नु भएको दुईवटा केस यहाँ समावेस गरिएको छ ।
१)ओभर कन्फिडेन्सले रोग नचिन्दा
केही महिना अघिको कुरा हो, काठमाडौ न्युरोडका एकजना व्यापारी काठमाडौको ठूलो मानिएको अस्पतालमा छातीको समस्या लिएर गएका थिए । उनलाई निमोनिया भयो भनेर अस्पताल भर्ना गरियो । र, त्यसै अनुरुप उपचार पनि गरियो ।
ती विरामीको धेरै जाँच पड्ताल तथा परीक्षण गरियो, तर मुटु सम्बन्धी साधारण जाँच पनि गरिएन । डाक्टरलाई थाहा नभएर होइन, आफू ओभर कन्फिडेन्ट भएर हो ।
सायद ‘म ठूलो डाक्टर, यस्तो ठूलो अस्पतालमा म काम गर्छु, म जति जान्ने अरु को छ र रु’ भन्ने उनमा अहं पलायो होला । किन भने ती डाक्टरले गरे जस्तो गल्ती सामान्यतया हुँदैन । ती विरामीको समस्या एउटा थियो, उपचार अर्कै भइरहेको थियो । यसले गर्दा विरामीको अवस्था विग्रिदै गयो ।

विरामी निको हुनुको साटो दैनिक गल्दै गएपछि विरामीको छोराले त्यहाँबाट डिस्चार्ज गराएर अर्को अस्पताल लगे ।
अर्को अस्पताल पुग्नासाथ विरामीको इतिहास राम्ररी सुन्ने काम भयो र मुटुको साधारण जाँच इसिजी र इको गरियो । हेर्नासाथ यो मुटुको पम्पको फेलियर हो भनेर रोगको निदान गरिदिए । ‘निमोनिया भएर फोक्सोमा पानी जमेको छ’ भनिएको विरामीलाई मुटुको पम्पले काम गर्न नसकेर छातीम त्यसको असर परेको फेला पर्‍यो । यसलाई पल्मोनरी इडेमा भनिन्छ ।

फोक्सोमा पानी जम्नुका धेरै कारण हुन्छन् । मिर्गौला फेलियर, हाई अल्टिच्युड, ब्लड ट्रान्सफ्युजन अर्थात रक्तसञ्चार (रगत लिनु)आदि । तर धेरैजसो मुटुको कारणबाट हुने गर्दछ । उक्त विरामीको केसमा मुटु सुन्निएको थियो । त्यसैले फुलेको मुटुको मांसपेशी कमजोर हुने नै भयो । अनि रगत पम्प गर्न नसकि हार्ट फेलियरमा गयो । रगत पम्प गर्न नसकेका कारण फोक्सोमा पानी जम्यो ।

ती विरामीको मुटु फुलिएर ठूलो भएको थियो । यो त एक्स रे गर्ने वित्तिकै देखिन्छ, इसिजी गरे पनि देखिन्छ । उनको मुटुको पम्पले काम गर्न सकेन, अनि पानी फोक्सोमा जम्न थाल्यो । साधारण मुटुमा दिइने औषधि दिएको भए तत्काल विरामीलाई सजिलो हुन्थ्यो । जस्तैः उच्च रक्तचापको औाष्धि, पानी फाल्ने इन्जेक्सन आदि । अनि विरामीलाई सान्त्वना दिएर सम्झाउन पनि जरुरी छ । हार्ट फेलियरमा विरामी एकदमै आत्तिएको हुन्छ । त्यसैले डाक्टरले राम्ररी सम्झाउनै पर्छ । सम्झाउने, सान्त्वना दिने कार्य पनि औषधि उपचारकै हिस्सा हो ।

ती विरामीलाई पहिलो अस्पतालमा निमोनिया भयो भनेर एन्टिबायोटिक, स्टेरोइड लगायतका थुप्रै औषधि दिइएको रहेछ । जुन सान्दर्भिक थिएन । दोस्रो अस्पतालमा इन्जेक्सन ल्यासिक्स भेनमा दिए । अक्सिजन पूरा मात्रामा दिए । मुटुको चाल नियन्त्रण गर्ने बेटा ब्लकर दिए । विस्तारै विरामीले आराम महसुस गरे । दोस्रो अस्पतालमा उपलब्ध डाक्टरहरुले विरामीको जाँच पड्ताल गरेपछि हार्ट फेलियर अलि जटिल भएको हुँदा औषधि उपचारले मात्र पूरा कन्ट्रोल गर्न नसकिने भएकोले पेसमेकर राख्ने प्लान गरेछन् ।

यसरी पेसमेकर लगाएपछि मुटुलाई काम गर्न सजिलो हुन्छ । र, रगत पम्प गर्ने काममा सुधार आउँछ ।
मुटुको पम्पसम्बन्धी समस्या भएको निदान भएपछि विरामी पक्षले पहिलेदेखि देखाइरहेको मुटुको चिकित्सक भएको अर्को अस्पतालमा विरामी लाने कुरा गरेछन् । विरामी पक्षले अनुरोध गरेअनुसार अर्को अस्पतालमा विरामी लगियो ।
त्यहाँ लगेर विरामीको छातीमा पेसमेकर हालियो । यो काम उक्त अस्पताल र दोस्रो अस्पतालका चिकित्सक पनि आएर संयुक्त रुपमा गरे । यसरी दोस्रो अस्पतालका डाक्टर पनि तेस्रो अस्पतालमा गएर सहयोग गर्नु राम्रो हो । विरामीको समस्या तत्काललाई टर्‍यो ।

यस्ता जानीनजानी हुने समस्याबाट हामी बच्नु पर्छ । ‘चिकित्सकले रोगको मात्र औषधि गर्ने होइन, विरामीको औषधि गर्ने हो ।’
हाम्रा गुरुहरुले यस्तै कुरा सिकाएका थिए । कमसेकम विरामीको इतिहास पूरापूर सुनेर समय दिएर जाँचेको भए सायद यस्तो अवस्था आउँदैन थियो । चिकित्सा पेसामा हतारहतार गरेर विरामी हेर्नु कदापी हुँदैन । यस्तै हतारले गर्दा ती न्युरोडका व्यापारी झण्डै गइसकेका थिए । यस्तो स्थिति आउन नदिन सर्वप्रथम चिकित्सक सचेत हुनुपर्छ ।
यस्तै अर्को सान्दभिक केसः
२) डाक्टरले भनेको नमान्दा।।

४१ वर्षको इन्जिनीयरलाई केही महिना अघि मात्र उच्च रक्तचापको समस्या देखिएको रहेछ । रक्तचाप बढी भएको कारण डाक्टरले औषधि पनि शुरु गराएछन् । ती इन्जिनीयर औषधि उपचारका सम्बन्धमा गुगलमा विभिन्न कुरा हेर्ने र अनेक जोगी बाबाहरुको कुरा पत्याउने प्रबृतिका रहेछन् । यसले गर्दा चिकित्सकले दिएको औषधि र सुझाव प्रति अलि उदासिनता देखाउँदा रहेछन् ।

उनी बेलाबेलामा डाक्टरकहाँ जचाउन जाने र डाक्टरलाई नियमित औषधि खाइरहेको छु भन्दा रहेछन् । एक दिन अफिसमा आफ्‌नो टेबुलमा काम गर्दा गर्दै उनलाई अलि अप्ठ्यारो भएछ । छातीमा केहीले थिचेको जस्तो, एकदम जिउ गलेको जस्तो महसुस भएछ । पसिना पनि खल्खल्ती आइरहेको अवस्थामा उनी बेहोस भएछन् ।

बेहोस भएको थाहा पाएर सहकर्मीहरुले अस्पताल पुर्‍याएछन् । अस्पतालमा डाक्टरले जाँचेर उनको मृत्यु भइसकेको जानकारी गराए । उनका परिवारका सदस्य पनि अस्पताल आइपुगे । उनको विवाह भएको एक डेढ वर्ष मात्र भएको रहेछ । एउटा सानो नानी पनि रहिछन् । जव उनकी श्रीमति आएर रुँदै ‘यो मानिसले औषधि खाऊ भन्दा पनि कहिल्यै खाएनन्, अनेक जडिबुडी खाएर बसे । डाक्टरको औाषधिले साइडइफेक्ट गर्छ भनेर नखाइ बसे’ भन्दै रोएपछि उनले उच्च रक्तचापको औषधि नखाएको कुरा बाहिर आयो ।

हुनै नपर्ने ज्यादै दुखद घटना ती युवकको आफ्‌नै कारणले हुन गयो । यस्तो गल्ती कसैले पनि गर्नु हुँदैन । रोगसँग पो डराउनु पर्छ त, औषधिसित किन डराउने रु रोगले मार्छ औाषधिले बचाउँछ । डा अवनिको यस पुस्तकमा समेटिएका मूलभूत विषयहरुमाः भावना र मुटु विज्ञान, यसकारण मुटु अद्भूत छ, मृत्युको प्रमख कारण मुटु, मुटुसँग सम्बन्धित प्रमख समस्याहरू, हृदयघातका जटिलता, मुटुका भल्भसम्बन्धी समस्या, यसरी चिनौ हार्ट ‘हाट फेलियर’, मुटुरोग गराउने प्रमख कारक तत्वहरू, कलेस्टरोल, डायबिटिजको डर, साइलेन्ट किलरः उच्च रक्तचाप, मोटोपन र मुटुरोग, फोक्सो र मुटुरोग, थाइराइड र मुटुरोग, कलेजो, मिर्गौला र मुटुरोग, क्यान्सर र मुटुरोग, अनिद्रा र मुटुरोग, तनाव र मुटुरोग, उमेर, जाति र मुटुरोग, खेलकुद र मुटुरोग, धूमपान, मद्यपान र मुटुरोग, मुटुरोग र रक्तदान, स्वास्थ्य नीतिका कुरा आदि रहेका छन्।

३१० पेजको यो पुस्तकको प्रकाशक ईदा उपाध्याय रहनु भएको छ भने यस पुस्तकको प्रमुख वितरकमा श्री गणेश सप्लायर्स स्टोर झोँछे काठमाडौ रहेको छ । रत्न बुक प्रकाशनलगायत विभिन्न प्रमुख पुस्तक पसलहरुमा उपलब्ध छ । यस पुस्तकको साङ्गोपाङ्ग अध्ययन गर्दा वि सं २०८१ सालमा प्रकाशित पुस्तकहरु मध्ये यो एउटा उत्कृष्ट तथा पठनीय पुस्तक हो भन्न कन्जुस्याई गरिरहनु पर्दैन ।