पाठकपत्र: स्कुल–कलेजमा विद्यार्थीको ड्रप आउट किन ?


जनता शिक्षित हुनु अति आवश्यक छ । शिक्षित भएन भने राम्रो काम वा नोकरी पाउँदैन । तर स्कुल–कलेजहरुमा विद्यार्थी ड्रप आउट अथवा पढ्दापढ्दै छोड्ने चलन बढ्दो छ । विशेष गरेर कलेजमा पुगेपछि विद्यार्थीले शिक्षालाई भन्दा आर्थिक अवस्थालाई राम्रो बनाउनेतिर लाग्छन् ।

त्यो कारणले गर्दा विद्यार्थीले स्नातक तहसम्म आउँदा ड्रप आउट गर्छन् । ड्रप आउट हुनुको मुख्य कारण भनेको आर्थिक अभाव, पारिवारिक जिम्मेवारीहरू, रोजगारीको अवसर, उपयुक्त मार्गदर्शनको कमी, शैक्षिक दबाब, अध्ययनमा चासोको कमी आदि कारण रहेको देखिन्छ । त्यो समयमा विद्यार्थीलाई शिक्षालाई भन्दा पनि आर्थिक अवस्था राम्रो बनाउनेतिर लाग्छन् । त्यसैले विद्यार्थीले शिक्षालाई भन्दा पनि आफ्नो आर्थिक समस्या सुधार गर्ने र परिवारको जिम्मेवारीलाई कम गर्नको निमित्त आफ्नो कर्तव्य प्रतिबद्धी ध्यान आकर्षण हुन्छन् ।

पहिलो तहमा फेल भएको कारणले गर्दा पनि आफ्नो शिक्षालाई निरन्तरता दिने भावना कम हुँदै जान्छ । स्नातक तहमा विद्यार्थीको सङ्ख्या घट्न नदिनको लागि विभिन्न प्रयास गर्न सकिन्छ । विद्यार्थीलाई आर्थिक सहायता हुने क्रियाकलाप गर्ने जस्तै– छात्रवृत्ति दिने, अनुदान वा कम ब्याजदरमा ऋण प्रदान गर्ने गर्दा पनि विद्यार्थीको आर्थिक बोझलाई घटाउने कार्यहरू गर्न सकिन्छ ।

शैक्षिक परामर्शको सेवालाई नियमित रूपमा विद्यार्थीलाई सही मार्गदर्शन दिन सक्ने कार्यक्रम गर्ने, विद्यार्थीलाई मानसिक तनाव, आत्मविश्वासको विकास र अध्ययनमा चासो बढाउने सल्लाह–सुझाव आदि दिने गर्नुपर्छ । सबै विद्यार्थीको भावनालाई अध्ययन गरेर पनि उच्च शिक्षामा विद्यार्थीको ड्रप आउटलाई नियन्त्रण गर्न सकिन्छ ।
– रमिना गाइजू, भक्तपुर ।