वसन्तमा प्रेमिल प्रकाश र स्वस्तिमा


गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यु निर्देशनमा बनेको फिल्म वसन्तको पोस्टर हालै सार्वजनिक गरिएको छ।

फिल्मका मुख्य दुई कलाकार गायक सपुत र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड पोस्टरमा कलेज जाँदै गरेका प्रकाश र स्वस्तिमा बाटोमा प्रेमिल भावमा प्रस्तुत गरिएको छ।

‘जसरी प्रकृतिका विभिन्न रङ समेटेर वसन्त ऋतु आएको छ, त्यसरी नै समाजका विभिन्न रङ समेटेर वसन्त तयार गरिएको छ। ती रङमध्ये सबैभन्दा सुन्दर रङ हो प्रेमको रङ’ फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्देशक तथा अभिनेता सपुतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वसन्त एउटा सुन्दर प्रेमको रङले बनेको छ।’

आगामी चैत्र २२ गते नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने फिल्ममा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्कबहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरेलगायतका कलाकारले अभिनय गरेका छन्।

गलबन्दी प्रोडक्सनको ब्यानरमा मोहन विश्वकर्मा र बिन्दु बोहोराद्वारा निर्मित सोसल ड्रामाको फिल्ममा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतको नै छ। विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा भन्ने फिल्म गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको छ। फिल्ममा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।