डोटी, (नेस) ।
डोटीमा बजार अनुगमनबाट १५ हजार ५५ रुपियाँ बराबरको म्याद गुज्रेको अखाद्य सामग्री बरामत गरी नष्ट गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटी र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले संयुक्त रूपमा दिपायल सिलगढी नगरपालिका–८ लडागडा र पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा बजार अनुगमन गरेको थियो ।
बजार अनुगमनबाट विभिन्न प्रकृतिका म्याद गुज्रेका खाद्य सामाग्रीहरू फेला परेका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका प्रमुख सागर सापकोटाले बताउनुभयो । उहाँका अनुसार बजार अनुगमनबाट खाद्य पर्दाथ सुजी, मसालाहरू, कोक, बियरलगायतका प्रायः बढी मात्रामा म्याद गुज्रेका भेटिएका छन् ।
उहाँले उपभोक्ताहरूले सामाग्री खरिद तथा प्रयोग गर्दा म्याद हेरेर मात्र प्रयोग गर्न सुझावसमेत दिनुभएको छ । उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै बजारमा हुने गरेको कालोबजारी, नियमविपरीत मूल्य, म्यान नाघेका चिज वस्तुहरूको नियन्त्रण गर्नका लागि बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय डोटीका नायव सुब्बा तिलक नेपालीले बताउनुभयो ।
संयुक्त रूपमा गरिएको अनुगमन टोलीले खाद्य सामाग्रीको म्याद, गुणस्तर, नापतौलको अवस्था, व्यवसायीले सम्बन्धित निकायमा दर्ता आबद्धता कागजातहरू सबैले देख्ने गरी राख्ने गरे नगरेको, व्यवसायको नाम, मूल्य सूची हेर्नुका साथै नभएको व्यवसायीलाई राख्न निर्देशन गरिएको जनाइएको छ । बजार अनुगमनमा सबै प्रकृतिका पसलहरू अनुगमन गरिएको अनुगमन टोलीले जनाएको छ ।
प्रतिक्रिया