उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुभारम्भ


काठमाडौँ। 

राष्ट्रिय सुरक्षा र बृहत्तर राष्ट्रिय हितका आयामहरूबारे ज्ञान र बुझाई आदानप्रदान गर्ने उद्देश्यले आइतबारबाट सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु भएको छ ।

  कार्यक्रमको शुभारम्भ गर्दै  प्रधान सेनापति अशोक राज सिग्देलले यस प्रकारका तालिमहरूबाट राष्ट्रिय सुरक्षाका चुनौती, खतरा तथा विविध पक्षहरूबारे सम्बन्धित सबै सरकारी तथा गैह्र सरकारी पदाधिकारीहरू बिच साझा बुझाई, आपसी साझेदारी र सहयोग तथा समन्वयका क्षेत्रहरू फराकिलो बनाउन ठुलो मद्दत पुग्नेमा विश्वास व्यक्त गरे । उनले आफ्नो जमिनी परिस्थिति, देशको अवस्थिति र सामाजिक वातावरण अनुसार सुरक्षा अवधारणाहरू तय गर्नुपर्ने कुरामा जोड दिए । 

समारोहमा आफ्नो मन्तव्य राख्दै रक्षा सचिव श्री रामेश्वर दंगालले उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको विशिष्ट महत्त्व, आवश्यकता र उपादेयता बारे प्रकाश पारे।  उनले विश्व रणनीतिक वातावरणमा देखिएका विभिन्न किसिमका सुरक्षा चुनौतीहरूको प्रभावलाई विश्लेषण गरी राष्ट्रिय हितहरूलाई प्रवर्द्धन गर्न देशका सबै शक्तिहरूको सर्वोपरि प्रयास र भूमिका आवश्यक रहेको बताए ।

रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सञ्चालन हुँदै आएको यस तालिमको दशौँ संस्करण यही  चैत्र १८ गतेसम्म सञ्चालन हुनेछ । तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चारजगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट कुल २९ जनाको सहभागिता रहेको छ । वि.सं.२०७२ सालबाट सुरु भएको यस तालिमबाट हालसम्म २२३ जना प्रशिक्षित भई सकेका छन् । 

समारोहमा बलाध्यक्ष रथी श्री प्रदीप जंग के.सी., विभिन्न मन्त्रालयका पदाधिकारीहरू, रथीवृन्द, अन्य सुरक्षा निकायका प्रतिनिधिहरु, अधिकृत र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।