लमजुङ ।
उत्तरी लमजुङको मर्स्याङदी गाउँपालिकाले किसानहरुलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । चालु आर्थिक वर्ष २०८१-०८२ को कृषि विकास शाखाको वार्षिक स्वीकत कार्यक्रम अन्र्तगत गाउँपालिकाका ७३ जना किसानहरुलाई हातेट्याक्टर अर्थात् मिनिटिलर वितरण गरेको हो ।
मागमा आधारित कृषि यान्त्रिकरण कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदानमा पालिकाले किसानहरुलाई हातेट्याक्टर उपलव्ध गराएको हो । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकिय अधिकृत अर्जुन चपाईले संयुक्त रुपमा किसानहरुलाई हातेट्याक्टर वितरण गरेका हुन् ।
परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । पालिकाले कषि यान्त्रिकरण कार्यक्रमका लागि चालु वर्ष २० लाख वजेट विनियोजन गरेको थियो । ठेक्का प्रक्रियाबाट हाते ट्याक्टर खरीद गरी किसानको ५० प्रतिशत र पालिकाको ५० प्रतिशत लगानी रहने गरी ट्याक्टर वितरण गरिएको पालिका अध्यक्ष गुरुङले बताए ।
कृषि यान्त्रिकरण अनुदान कार्यक्रममा पालिकाका १ सय ५० कृषकहरुको आवेदन परेको कृषि शाखाले जनाएको छ । पालिकाले गतवर्षहरुमा ट्याक्टर नलिएका, व्यवसायिक खेती गर्दै आएका लगायतको मापदण्ड भित्र पर्ने किसानहरु छनोट गरी प्रथामिकताको आधारमा हातेट्याक्टर वितरण गरिएको कृषि शाखा प्रमुख विनोद दाहालले बताए ।
ग्रामीण भेगका अधिकांश नागरिकहरू कृषि र पशुपालन पेशामा रहेको र उनीहरुलाई व्यावसायिक बनाउन आधुनिक सामग्री प्रदान गरिएको सामाजिक विकास समिति संयोजक एवं वडा अध्यक्ष तिलवहादुर गुरुङले बताए । विगतमा परम्परागत रुपमा गोरुले खेतवारी जोत्ने गरिएकोमा अहिले अधिकाशं किसानले हाते ट्याक्टर लगायतका यान्त्रिक उपकरणको प्रयोग गर्ने गरेका छन् ।
यद्यपी ग्रामीण भेग र भुबनोटको कारण सवै ठाउँमा हातेट्याक्टरको प्रयोग गर्न असहज हुँदा कतिपय किसानहरुले परम्परागत रुपमा गोरुले नै खेती किसानी गर्दै आएका छन् । किसानहरुलाई आधुनिक कृषि प्रणाली सँग जोड्न तथा कृषि र पशुपालनमा व्यवसायिक वनाउन गाउँपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा पालिकाका सामाजिक विकास समिति संयोजक एवं ७ का वडा अध्यक्ष तिलवहादुर गुरुङ, २ का वडाअध्यक्ष चेतवहादुर गुरुङ, कृषि शाखा अधिकृत विनोद दाहाल, पालिकाका कर्मचारी लगायतको उपस्थिती थियो ।
प्रतिक्रिया