कसैले कान नै फुट्ने गरी प्रहार गरेपछि अभिनेता बिपीन कार्की बलियो बन्न कठिनभन्दा कठिन एक्सरसाइज गर्छन्। अनि उत्रिन्छन् एक्सनमा। भन्छन्, ‘जे जान्छ, त्यो घुमेर आउँछ ।
कर्माको खेले हो यो सबै, न कोही जोगियो न कोही जोगिन्छ।’ यो दृश्य हो नयाँ वर्षको अवसर पारेर आगामी चैत २९ गते रिलीजमा आउन लागेको फिल्म कर्माको टिजरको।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक २ मिनेट ३ सेकेन्डको टिजरमा विपीनले टक्कर लिन गरेको फुलअन एक्सन प्रस्तुत गरिएको छ। टिजरमा प्रस्तुत एक्सन र संवाद दुबैले दर्शकलाई आकर्षित गर्छ। फिल्मको कथा लुकाएर, खुलेर एक्सन देखाइएको टिजरमा समावेश विपिनको बाइक स्टन्टले पनि दर्शकलाई लोभ्याउँछ। टिजरमा विपीनको एक्सनसँगै उनको भावनात्मक पक्ष पनि देखाइएको छ।
टिजरमा विपिनका साथमा उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेतलगायतलाई पनि प्रस्तुत गरिएको छ। फिल्ममा सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतले पनि अभिनय गरेका छन्।
अगस्त्य ः च्याप्टर १ का निर्देशक सौरभ चौधरीद्वारा निर्देशित एक्सन जनराको कर्मा विपीनको पहिलो एक्सन फिल्म हो। ड्रामा, सस्पेन्स र एक्सनले भरिएको फिल्ममा निर्देशक चौधरी स्वयंको कथा, भाष्कर स्वरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्म आर्टिस्टिक इनटरटेनमेन्टको व्यानरमा वसन्त लम्सालले निर्माण गरेका हुन्।
प्रतिक्रिया