लोकतान्त्रिक उपलब्धि खोस्ने तहको गतिविधि भएको छैन : नारायणकाजी श्रेष्ठ

4.04k
Shares

दोलखा।

राजावादीहरूको गतिविधि लोकतान्त्रिक उपलब्धि खोस्ने निर्णायक विन्दुमा पुगिसकेको भन्ने माओवादी केन्द्रको निष्कर्ष नरहेको वरिष्ठ उपाध्यक्ष एवम पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । 

प्रेस सेन्टर दोलखाले विहिवार चरिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले राजावादीहरूको गतिविधिहरु सुनियोजित र व्यवस्थित रुपमा अघि बढेको देखिएकोले त्यस विरुद्ध संसद र केन्द्रीय तहबाट अभियान चलाउन केही समयको लागि जनतासंग माओवादी कार्यक्रम स्थगीत गरिएको बताए । पार्टीको कार्यक्रम चाँडै सुरु हुने उनको भनाई छ ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले लोकतान्त्रिक पक्षधरहरु संग निर्णायक अवस्थामा अग्रगामी हिसाबले एकता र सहकार्य हुने उल्लेख गर्दै  सरकारको अहिलेको गतिविधिले प्रतिगामीहरुलाई सहयोग पुगेको बताए । सरकारको बारेमा आफूले धेरै बोल्न नचाहेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारले सुशासनको पक्षमा काम नगरी कुसाशनको पक्षमा काम गरेकैले आफूहरुको मतभेद रहेको बताए ।

उनले भने – सरकार निरंकुश बन्दै सुशासन भन्दा पनि कुसाशनको पक्षमा अग्रसर भएकै कारणले प्रतिगामी तत्वले चलखेल गर्ने मौका पाएको छ । राजनीतिक परिवर्तन पछि धेरै सुधार त भएका छन् तर जनताको अपेक्षा अनुसार काम हुन नसकेको र सरकारले कुसाशनको पक्षमा काम गरेकैले अहिले चलखेल बढेको श्रेष्ठको दाबी छ ।

माओवादी केन्द्र नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गाा प्रकरण, सुन काण्ड लगायतमा सशक्त कार्वाहि सुरु गरेपछि त्यसलाई ढालिएको पूर्व गृहमन्त्री समेत रहेका  केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आरोप लगाए  ।

माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीनसंगको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजना नेपालको हितमा रहेकोले सरकारले गरेको सम्झौताको पार्टीले स्वागत गरेको बताए । सरकारले चीनसंग गरेको सम्झौता उपयुक्त भएपनि कूटनीतिक नैतिकता विपरीत सम्झौतामा ऋणको कुरा नभएको भन्नु ठिक नहुने श्रेष्ठको भनाई छ । 

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बिआरआई दोस्रो तहमा पुगेर सम्झौता भएको उल्लेख गर्दै  तेस्रो तहमा के के कार्यक्रम गर्ने र ऋण वा अनुदान के भन्ने विषयमा राष्ट्रको हित अनुरुप अघि बढ्नु पर्ने बताए  । उनले सम्झौता पछि पनि ऋणमा काम गर्दा हित हुने भए परियोजना अघि बढाउने र अहित हुने अवस्थामा त्यसलाई फरक ढङ्गले छलफल गर्न सकिने बताए । 

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अहिले बिआरआईको विषयमा भै रहेको विरोध त्यसलाई नेपालमा अघि बढाउन हुदैन भन्ने पक्षले चलाएको हल्लामात्र भएको बताए । 

प्रेस सेन्टर दोलखाका अध्यक्ष अविरल वस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् दोलखा इन्चार्ज विशाल खड्का, केन्द्रीय सदस्य नरबहादुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।