गण्डकी प्रदेश लोकसेवामा पास भएर मिति २०८१-६-११ मा सिफारिसपत्र बुझ्न काठमाडौंबाट पोखरातर्फ लागियो । जताततै बाढीपहिरो गएको, जनधन क्षति भएको समाचारले त्रसित बनाइरहेको थियो ।
बाहिर मौसमले साथ नदिए तापनि भित्रभित्रै वसन्त ऋतु चल्दै गरेको आभास भएको थियो । फूलहरु ढकमक्क फक्रिरहेका, मन नाचिरहेको, कोइलीको मीठो धुन गुञ्जिरहेको जस्तो लाग्दै थियो । ‘पूरा भयो सपना मेरो’ भन्ने गीतमा टिकटक फोटाहरुको क्लिप र क्लिक, नयाँ मानिसहरुसँगको चिनापर्ची खूब मज्जासँग जमेको थियो । अब त जागिर पक्का भयो । मेरा दिन अनि दिनचर्या फेरिने भए भन्ने लागेको थियो ।
सोही दिन सिफारिस कार्यालय रहेको जिल्ला उत्तरी गोरखातर्फ लागियो । सदरमुकामभन्दा अलि माथिसम्म गाडी जाने रहेछ । त्यहाँदेखि छङछङ गर्दै झरेका झरना, सेताम्मे हिमाल प्रकृतिको सुन्दरता अनुभव गर्न पाइन्थ्यो । विशाल अनि डर लाग्दा ठूला–ठूला चट्टानले बनेका पहाडबीचबाट बुढीगण्डकीको तिरैतिरमा साँघुरो बाटो बनेको थियो । ढुंगा टाउकोमा खस्ने डरले हाम्रा पाइलाहरु छिटो–छिटो अगाडि बढ्दै थिए । खुइय्य काढ्दै, तिर्खा मेटाउँदै, थकान मार्दै हिँडिरह्यौँ । अन्ततः ६–७ घण्टाको पैदल यात्रापछि गन्तव्य स्थान पालिका पुगियो ।
अब त सजिलो होला नि भन्ने आशा थियो । त्यो आशा पनि विकट वडामा खटाएपश्चात् धुवाँ जसरी उडेर विलिन भएर गयो । उमेरले एक बीस पनि नकटेको राष्ट्रसेवकको रुपमा सानो काँधमा ठूलो जिम्मेवारी आएकोमा गदगद भने यसै थिएँ ।
नाम निस्कँदाको उत्साहलाई घरतिरै छोडी, मान्छेभन्दा गह्रौं झोला बोकेर स्याँ–स्याँ गर्दै लागियो पदस्थापना गरिएको वडातर्फ ।
ढुंगाको छानाले छाएको, छोए ढल्छ कि जस्तो तर बलिया ढुंगाकै गारोबाट बनेका घरहरुमा कतै–कतै वृद्ध आमाबुबाहरु घाम ताप्दै, डोको बुन्दै गरेका देखिन्थे । नभएका युवा जमात जति विदेश उडिसकेका, भएका अलि–अलि युवा हलो, कुटो, कोदालो गर्दै बसेका थिए । गाउँ एकदम सुनसान थियो ।
खच्चड र गोरुका घाँटीमा बाँधिएका घन्टीको टिनटिन आवाज, दुई–चार बच्चाहरुको चुलबुलेपनभन्दा गाउँमा कुनै चालचुल थिएन । वर्षौं पहिलेदेखि नखोलिएको जस्तो लाग्ने अस्तव्यस्त कार्यालय, धूलोको भुमरी, कुनाकाप्चामा माकुराको जालो, अव्यवस्थित फाइलिङ, डुङ्डुङ्ती गन्हाउने शौचालयबाहेक केही थिएन । मैले फर्मुला बनाएर, मरिमेटी घोकेर लोकसेवामा लेखेको उत्तर फिल्मको स्क्रिप्टजस्तो रहेछ । जसको वास्तविकता व्यावहारिकतामा प्रत्यक्ष देखें, भोगें ।
जसोतसो मन बुझाएर क्वाटरमै बस्ने निर्णय गरियो । आखिर जता बसे पनि होटलका साहुलाई धनी बनाउँदा बनाउँदै दुर्गम भत्ता कता–कता बेपत्ता हुने अवस्था थियो । दर्शनढुंगाजस्तो भात, मसला राख्न बिर्सिएजस्तो दाल, हिउँभन्दा चिसो अचार, दुई टुक्रा आलु, दुई त्यान्द्रा साग, ठुस्स सुर्ती गन्हाएको पातलो सिरक र सिरानी अनि चिसो वातावरण आफ्नो सम्झिनै पर्ने थियो ।
नुन प्रतिकेजी १०० रुपियाँ तिरेर किन्नुपर्ने एकदमै दर्दनाक अवस्था थियो ।
मैले अर्थशास्त्रमा पढेको मागको पूर्ण बेलोचदारको नियम चरितार्थ भएको थियो । खाद्यान्नको मूल्यभन्दा ढुवानी भाडा बढी तिर्नुपर्ने, आकस्मिकरुपमा कोही जटिल बिरामी परे हेलिकोप्टरमा लैजानुपर्ने, त्यो पनि भनेको समयमा नपाउने कस्तो विडम्बना ! स्थानीय सरकारको तर्फबाट गर्न सक्ने विकास कार्यहरुलाई द्रुत गतिमा लैजान सकिए ती जनताको ओठमा हाँसो, मुहारमा चमक, दिलमा खुशी र आत्मामा सन्तुष्टि हुन्थ्यो होला ।
‘थिङ्क पोजिटिभ, बि पोजिटिभ, डु पोजिटिभ’ भनी आफैँले आफूलाई कति सम्झाइरहनु, कसरी सम्झाउनु भन्ने हुन्थ्यो । दुःख, खुशी, नयाँ ठाउँ, मान्छे, जागिरको अनुभव, रौनकता, एक्लोपना, सामूहिकता, बेवास्ता, डर, भोक, तिर्खा, विकटताको संगमपूर्ण यात्रामा थिएँ । छेउबाट चुरुक्क आवाज आए पनि डरले मुटु काँप्ने ठाउँमा बस्दै गर्दा कहिलेकाहीँ भिडियो कलमा ममीको रुन्चे हाँसो देखेर चित्त बुझाइरहन्थेँ ।
प्रतिक्रिया