प्रिमियरमा मन जित्यो अञ्जिलाले


फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित बायोपिक फिल्म अञ्जिलाको धरानसहित हङकङ, दक्षिण कोरिया र बेलायतपछि ललितपुरमा प्रिमियर शो गरिएको छ।

सोमबार लबिम मल क्यूएफएक्समा आयोजित प्रिमियरमा विभिन्न क्षेत्रका व्यक्तित्व सरिक थिए। फिल्मले दुर्गम जन्मथलोबाट काठमाडौंसम्म महिला फुटबलमा सफल खेलाडी बन्न सुब्बाले गरेको संघर्षको कथा भनेको छ। ब्लाइन्ड रक्स र बबीपछि निर्देशक चाम्सले निर्देशन गरेको यो तेस्रो बायोपिक फिल्म हो।

प्रिमियरपछि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले आफूले एन्जिला र उनको क्याप्टेनसिप मात्र देखिरहेको तर यो फिल्मले एन्जिला हुनुको वास्तविकता देखाएको चर्चा गरे। एन्फाका पूर्वअध्यक्ष गणेश थापाले फिल्म हेर्दा आफू रोएको खुलाए। ‘हाम्रो पालामा नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा खेल्ने खेलाडीलाई रोजगारीको ग्यारेन्टीको शुरूवात भएको थियो।

त्यसैको प्रतिफल आज महिला फुटबल खेलाडीको प्रगति भइरहेको छ’ प्रिमियरमा उनको भनाई थियो। अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले फिल्मले आप्mनो मन छेडेको बताइन्। ‘हाम्रो समाजमा महिला जुनसुकै क्षेत्रमा छन् भने पनि संघर्षपूर्ण यात्रा पार गरेर आएको हुन्छ।

त्यसमाथि पनि महिलाले खेलकुदमा यो किसिमको एउटा सफलता पाउनुको पछाडिको संघर्ष के कस्तो थियो भन्ने विषय फिल्ममार्फत आएको छ’ केकीले भनिन्। निर्देशक ज्ञानेन्द्र देउजाले नेपालमा नेपाली खेलाडीले यति धेरै दुःख गर्दा पनि राज्यको चेतना र लगानी नहुँदा भावुक बनाएको बताए।

निर्देशक चाम्सले प्रिमियरबाट प्राप्त प्रतिक्रियाले आफू अवाक् भएको बताए। विहिबारबाट रिलिजमा आउन लागेको फिल्ममा एन्जिलाका अलावा प्रेमकुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायतले अभिनय गरेका छन्।