आउटलः दफा २१९ ले मार्ला बाजी


एक्सनले भरिएको फिल्म आउटलः दफा २१९ फागुपूर्णिमाको अवसर पारेर भोलि बिहिबार रिलिजमा आउँदैछ। विक्की महर्जनद्वारा निर्देशित तथा अमित अग्रहरिद्वारा निर्मित फिल्म एक्सन, ड्रामा, कमेडी, थ्रीलर सबै मिसिएकाले दर्शकलाई यसपटक धेरै सरप्राइज हुने दाबी गरिएको छ। ‘आउटल नेपाली फिल्म क्षेत्रका लागि नयाँ नाम हो।

जब देशको कानुनले न्याय दिन सक्दैन, जब शक्ति र सत्ताको दममा जे पनि हुन थाल्छ, त्यसपछि एक जना व्यक्तिको जन्म हुन्छ र उसले कानुन हातमा लिएर न्याय दिन थाल्छ। यो फिल्म हामीले मनोरञ्जनका लागि मात्र बनाएका होइनौँ। फिल्मबाट समाजमा सकारात्मक प्रभाव पार्न खोजेका छौँ’ फिल्मका नायक सुशील श्रेष्ठले फिल्मबारे जानकारी दिन आयोजित प्रेसभेटमा भने ‘कोही मान्छे पनि यत्तिकै नराम्रो हुँदैन। उसलाई परिस्थिति र समयले नेगेटिभ बनाउने हो।

यो फिल्ममा मैले निर्वाह गरेको पृथ्वीजंग थापाको क्यारेक्टर कति कुरामा राम्रो र कति कुरामा नराम्रो पनि छ। एक्सन गर्न निकै नै गाह्रो रहेछ। म छायांकनको क्रममा निकै थकित हुन्थे। कट भन्ने वित्तिकै निद्रा लाग्थ्यो। फिल्मको तयारीका क्रममा मेरो हातमा पनि गहिरो चोट लाग्यो, जुन अझै ठिक भएको छैन।’

फिल्ममा सुशीलको हातमा आगो बलेको दृश्य छ। ‘मैले पहिले राजेन्द्र खड्गी, निखिल उप्रेती दाइहरूले हातमा आगो लगाएर स्टन्टको दृश्य दिएको हेरेको थिए। त्यो दृश्य हेर्दा जति सहज लाग्छ, गर्दा निकै गाह्रो हुन्छ। तर, नयाँ अनुभव थियो रमाइलो भयो। दर्शकहरूलाई पर्दामा हेर्दा पनि मज्जा आउँछ’ उनले रमाउँदै भने।

फिल्म निर्माण गर्नका लागि २ वर्ष लागेको निर्देशक महर्जनले जानकारी गराए। ‘यो फिल्ममा एक्सन मात्र छैन। एक्सनसँगै फिल्मले नेपालको महत्वपूर्ण बिषयलाई उठान गरेको छ’ फिल्मको कथा कसैको जीवनसँग नमिल्ने दाबी गर्दै उनले भने– ‘यो एउटा काल्पनिक कथा हो। क्यारेक्टर ग्याङस्टारकै हो। तर, यो बदला र न्यायको कथा हो। यसको कथावस्तु निकै नै गह«ुङ्गो छ।’ फिल्मका निर्माता अमित अग्रहरिले सबैको सोच मिलेका कारण आउटलः दफा २१९ निर्माण भएको बताए। ‘यस्तो एउटा विषयवस्तु हामीले ल्याएका छौं, जुन भन्न आवश्यक थियो। एक्सनमा यो फिल्मले नेपाली फिल्म क्षेत्रमा नयाँ वेन्चमार्क नै खडा गर्छ जस्तो लाग्छ’ उनको दाबी छ।

सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारीलगायतका कलाकारले अभिनय गरेको फिल्ममा लेखन निर्देशक महर्जन, एक्सन चुल्ठे काजी, छायाँकन नविन गुरुङ र सम्पादन साहिल खानको रहेको छ। फिल्ममा विनोद कठायत कार्यकारी निर्माता र विकास चौधरी सह–निर्माता रहेका छन्।