संविधानले तोकेको अधिकार समेत नपाउनु दुःखद : पूर्वउपसभामुख सुवेदी  


बाँके। 

संविधानसभाकी पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले संविधानले महिलाको नेतृत्व तोकेरै पठाएको भएपनि व्यवहारिक कार्यान्वयनमा जटिलता रहेको बताएकी छन्। 

क्रियाशिल पत्रकार महिला बाँकेले सण्डे क्ल्व अन्र्तगत आज नेपालगन्जमा सम्पन्न गरेको कार्यक्रममा मुख्य बक्ताका रुपमा सुवेदीले संविधानले तोकेको अधिकार समेत नपाउनु दुःखद भएको बताइन् । 

विक्रम संवत् २०१५ सालमा जन्मिएकी  सुवेदी विक्रम संवत २०३४ सालदेखि हालसम्म राजनीतिमा सक्रिय छन् । नेपाल कम्युनिष्ट पार्टिमा निरन्तर सक्रिय सुवेदीले जनयुद्धको अनुभव आज कार्यक्रममा सुनाएकी छन् । युद्धको बेला गोली कानको छेउबाटै जादा समेत नडराएर मोर्चा सम्हाल्दाको क्षण सुनाउँदा उनी  भावुक बनिन् । 

पारिवारीक तथा सामाजिक उल्झनहरुलाई छिचोल्दै पार्टिका विभिन्न मुख्य पदहरु उनले सम्हाल्दै निरन्तर अगाडि बढिरहेकी छन् । 

पत्रकार तथा राजनीतिक महिलाहरु बिच उनले संघर्षका कथा सुनाइन्  भने सहभागिहरुले गरेका प्रश्नमा जवाफ समेत दिइन्  ।

 वेलायत ,भियतनाम,जर्मन,थाइल्याण्ड ,चिन ,स्पेन,फ्रान्स र भारतका विभिन्न स्थानमा भ्रमण गरिसकेकी  सुवेदीले राजनिती मात्र नभई सबै स्थानमा महिला सहभागिता निर्णायक हुुनुपर्ने धारणा राखिन् । 

उनीजस्तै  उदाहरणीय व्यक्तिबाट समाजमा उत्प्रेरणा प्रदान गर्नु ,नेतृत्व विकास गर्नु तथा समसामयिक समस्याका बिषयबस्तु माथि पैरवि गर्नु कार्यक्रमको उदेश्य रहेको क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरीले बताइन् । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले कुनै पनि व्यक्तिको संघर्षको कथाले समाजमा उत्प्रेरणा प्रदान गर्नुका साथै व्यवहारिक जिवनमा सफलता ल्याउने बताए । कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेलले यस्ता कार्यक्रम निरन्तर हुन आवश्यक रहेको बताए।