लघुकथा: तप


आमाले छोरीलाई झम्टिएको देखेर सुन्दरीले भनी, ‘मैयाँले साह्रै दुःख पाई, आखिरी ! सौतेनी आमा न परी । बाउ पनि उस्तै छ, आमाको इशारामा नाच्छ, केही भन्न सक्दैन ।’


यता मालतीले खासखुस गरी, ‘आफ्नी पनि त छोरी छे तर त्यसलाई केही भन्दिन, काम पनि लगाउँदिन । सौतेनी आमाको जात जनाइहाल्नुपर्ने रहेछ ।’

‘घरको बाहिर–भित्र सबै काम उसैले धानेकी छे, कस्तो माया पनि नलाग्ने रहेछ ? आफ्नै आँखाअगाडि अन्याय देखेको छ तर हामीले केही भन्नै हुँदैन, खाउँलाजस्तो गर्छे ? तिमीहरुले नै लगेर पाल न भन्छे ।’ सुन्दरी फत्फताई ।

अमिलो मन पार्दै फेरि मालती बोली, ‘चाडपर्व आउँछ तर अहँ, त्यो केटीले एकसरो लुगा फेर्न पाउँदिन । पेटभरि खान पनि पाउँदिन । दुष्टले नोकर्नी नै बनाएर राखेकी छे ।’


सुन्दरी र मालती कुरा गर्दै थिए । मैयाँले आमाको दुव्र्यवहारको प्रतिकार गरोस् न भन्ने उनीहरूलाई लाग्दै थियो तर झम्ट्याइ खाएकी ऊ त नमस्कार गर्दै, बडो उत्साहित भएर भन्दै थिई, ‘तिमीले दिएको कठोर तपको फलले आज हरेक चुनौतीमा खरो उत्रन सकेकी छु । धन्यवाद आमा !’
–भूमिका गैरे तिमिल्सिना
गैंडाकोट–४, नवलपुर ।