इन्टरनेसनल पिपुल्स थिएटर फेस्टिभलमा १३ देशका २ सय बढी रंगकर्मीको जमघट


इन्टरनेसनल पिपुल्स थिएटर फेस्टिभलअन्तर्गत राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जन बढी नाटक प्रदर्शन गरिएका छन्।

इन्टरनेसनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा गत १७ गते शुरू भएको फेस्टिभलमा जापान, भारत, चीन, थाइल्याण्ड, बंगलादेश, हङकङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स, सिंगापुर, नेपालसहित १३ देशको विभिन्न सहरका २ सय बढी रंगकर्मी तथा कलाकार सहभागी छन्।

शान्तिको लागि थिएटर, संस्कृतिहरूको आदानप्रदान र दिगो भविष्य संरक्षण भन्ने मूल नारासहित चलेको ५ दिने फेस्टिभलको पहिलो दिन हङकङका मोक चियुद्वारा निर्देशित विभिङ फ्रीडोम, भारतको नाट्य चेतनाद्वारा प्रस्तुत देवी र दक्षिण कोरियाका नामोदाक मोवेमेन्टको मिटिङ मञ्चन गरिएको थियो।

दोस्रो दिन नेपालको तर्फबाट सर्वनाम थिएटरको प्रस्तुतिमा अशेष मल्लद्वारा निर्देशित अर्को कुरुक्षेत्र, राज शाहको मनोक्रान्ति, फिलिपिनी नाटक अरीमोमागा र थाइल्याण्डको डिसेप्सन अफ द डेमन मञ्चन गरिएको थियो। तेस्रो दिन बंगलादेशको तुम्बा एण्ड द नेइवर, सिंगापुरको सिक्स माइक्रो लेक्चरस् अन् जेनोसाइड र चीनबाट ग्रास स्टेज थिएटरको बियोन्ड होप एण्ड डिस्पेअर मञ्चन गरिएको थियो।

चौँथो दिन हङकङको नाटक तु दु, जापानी नाटककार इन्डी लीको इट वोन्ट बी लङ नाउ र नतसुको किरितानीको द ट्रान्स – बोर्डर मञ्चन गरिएको थियो। अन्तिम दिन बुधबार फरेवेल लेट अस गो टु साउथ र फ्रान्सेली निर्देशक म्याक्सिम सिसडद्वारा अ लिटल बर्ड इन द केज मञ्चन गरिएको छ।


महोत्सवमा नाटक तथा कला प्रदर्शनीसँगै दैनिक ३ नाट्यप्रशिक्षण तथा कार्यशाला पनि सञ्चालन गरिएका थिए। पहिलो दिन बंगलादेशी निर्देशक तथा कलाकार शमिमा शकेत, दोस्रो दिन बेलायती नाट्य निर्देशक तथा कलाकार इन्डी लि, जापानी नाट्य निर्देशक नात्सुको किरितानी तथा हङकङका कलाकार समूहद्वारा कार्यशाला सञ्चालन गरिएको थियो।

तेस्रो दिन दक्षिण कोरियाली समूह नमोदक मुभमेन्ट ल्याब तथा ताइवानी थिएटरहरू असाइनमेन्ट र स्पेस थिएटर तथा चौँथो दिन नेपाली नाट्य निर्देशक अशेष मल्ल, भारतीय प्रशिक्षक समूह नाट्य चेतना र फिलिपिनी प्रशिक्षण समूह फिलिपिन एजुकेसनल थिएटर समूह (पेटा) को कार्यशाला चलाइएको थियो।

अन्तिम दिन बुधबार सिंगापुरका प्रशिक्षक कोक हेङ लियुन, थाइल्यान्डको प्रशिक्षण समूह अनट्टा थिएर ट्रप र चिनियाँ ग्रास स्टेज थिएटर प्रशिक्षण समूहले नाट्य प्रशिक्षण तथा कार्यशाला प्रस्तुत गरेका थिए। महोत्सवलाई जनमानसमा पुर्याउने हेतुले मार्च ७ देखि ९ सम्म इटहरीको मेट्रिक्स र १० मा धनकुटामा समेत नाटक मञ्चन तथा सांस्कृतिक भ्रमणको कार्यक्रम राखिएको छ।