हुन त यस विषयमा विभिन्न समय र कालखण्डमा बहस भैराखेको छ । विभिन्न विश्लेषक, लेखकहरुले यस विषयमा लेखहरु लेखिरहेका छन् । यसबारे बोलिरहेका पनि छन् ।
अझ डा. भीमराव अम्बेडकरले त आजभन्दा दशकौँ वर्षअघि लाखौँ दलितहरुलाई हिन्दु धर्मबाट बौद्धधर्ममा परिवर्तन गराएका थिए । तर पनि अझै पनि दलितहरुको अवस्था उस्तै छ । उनी पनि असफल भए । किनकि दलितहरुको समस्या केवल धार्मिक समस्या मात्रै थिएन, उनीहरुको समस्या त सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपमा जरा गाडेको छ, जसको समाधान केवल धर्म परिवर्तनबाट थिएन ।
हिन्दु धर्मको वर्ण व्यवस्थाबाट सिर्जित समस्या हो यो । तर यसको कुराचाहिँ धर्म परिवर्तन गरेर समाधन हुँदैन । धर्म परिवर्तन गरेर हुन्छ के भने, एउटा धर्मको व्यक्ति अर्को धर्म मान्ने हुन्छ । स्वतन्त्रताको कुरामा सबै धर्मप्रति मेरो सम्मान नै छ । व्यक्तिको आस्थाको कुरा हो । जसले जुन धर्म लिन मन लाग्छ लिए हुन्छ । त्यसमा केही फरक पर्दैन । हामीले बुझ्नुपर्नेचाहिँ के हो त ? धर्मले के गर्छ त भनेर हामीले सैद्धान्तिक रुपमा बोल्न र बुझ्न प¥यो नि ।
धार्मिक मान्यताले दुईवटा कुरा अगाडि सार्छ । धर्म भनेको एउटा कर्मफलवाद हो भने अर्को भाग्यवाद हो । यसले के भन्छ भने, तिमीले जे–जति भोग्यौ, त्यो तिम्रो भाग्यले भोग्यौ र तिम्रो भाग्यमा नै यही लेखेको छ । अर्को कर्मफलवाद भनेको चाहिँ अघिल्लो जुनीमा तिमीले केही गल्ती गरेका थियौ, जसको कारणले आज तिमीले यो भोगिरहेको छौ भन्ने हो । कर्मको फल हो यो भन्छ । जुन कुरा दलित समुदायको व्यक्तिले ऊमाथिको उत्पीडनचाहिँ मेरो भाग्यमा यही लेखेको रहेछ, मैले अघिल्लो जुनीमा गरेको कर्मको फल भोगिरहेको छु भन्न थाल्यो भने ऊमाथि भैराखेको उत्पीडनको विषयमा ऊ त लड्न नसक्ने ठाउँमा पुग्छ नि ! उसले त लड्नै परेको छ ।
धर्मले स्वर्ग वा नर्क छ भन्ने परिकल्पना गरेको छ । यसरी मैले गलत गरेँ भने नर्कमा हुन्छु, ठीक गरे भने स्वर्गमा हुन्छु भन्ने हुँदै नभएको कुराको परिकल्पना गर्ने कुरा गर्न हुँदैन । जुन काम धर्मले गरेको देखिन्छ । हामीलाई त अहिल्यै अन्याय भयो, अहिल्यै न्याय चाहियो नि ! यो भन्दा पछि मरेर को कहाँ जान्छ भन्ने थाहा छैन । त्यसैले धर्म परिवर्तन व्यक्तिको स्वतन्त्रताको कुरा हो । व्यक्तिले आफ्नो इच्छाअनुसार गर्न सक्छ । हामीले मूलभूतरुपमा दलितमाथि भएको उत्पीडनको मुक्ति पाउने मामलामा धर्म परिवर्तन होइन, धर्म त्याग र भौतिकवादी यात्रामा अघि बढ्नै पर्छ ।











प्रतिक्रिया