औषधि उत्पादक कम्पनी धराशयी नहोऊन्


जो कोही बिरामी हुँदा नभई नहुने औषधिको गुणस्तरका विषयमा धेरैले अनुमानसम्म गर्न सकेका हुन्नन् ।

सरकारले नेपाली औषधि उद्योगलाई अन्य उद्योगलाई झैँ प्राथमिकतामा नराख्दा नेपालमा कतिपय औषधि उद्योगहरु धराशयी अवस्थामा पुगेका छन् । समयसापेक्ष औषधिको मूल्य समायोजन गर्ने विषयमा सरकारले एकतर्फी समिति बनाएर उद्योगीहरुको सल्लाहसम्म नलिएको भन्ने गुनासो चौतर्फीरुपमा आउँदा सरकार कानमा तेल हालेर बस्न मिल्छ ? नागरिकको स्वास्थ्यका लागि पनि सरकारले यतातर्फ ध्यान पु¥याउनु जरुरी छ ।


नेपालका औषधि उद्योगहरुलाई कम आँक्न मिल्दैन । यहाँका औषधि कम्पनीले नेपालको औषधिको मागको ठूलो हिस्सा पूरा गरेका छन् । यस्ता उद्योगमध्ये बाराको रामपुर, टोकनीको म्याग्नस फर्मा पनि एक हो । सन् २००७ मा स्थापना भएर सन् २००९ देखि औषधि उत्पादन गर्न शुरु गरेको यो कम्पनी देशकै प्रतिष्ठित औषधि उत्पादन कम्पनीका रुपमा स्थापित भएको बताइन्छ । यस कम्पनीले नेपाली बजारमा उपलब्ध नभएका नवीन प्रविधिका औषधि उत्पादनमा जोड दिँदै आएको छ । यस कम्पनीले नेपाली बजारमै पहिलोपटक ल्याइएका औषधिहरुमा मधुमेह, अल्जाइमर्स, हेपाटाइटिस सी र बीको उपचारका लागि प्रयोग हुने मुख्य रहेका छन् । नेपालका लागि यो प्रशंसनीय र सराहनीय कार्य हो ।


विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन अभ्यास र मापदण्डअनुसार औषधि उत्पादन गर्दै आएका यस्ता औषधि उत्पादक कम्पनी नेपालमा धेरै छन् । समयअनुसार आफ्नो उत्पादन पद्धतिलाई परिमार्जित गर्दै अत्याधुनिक गुणस्तरयुक्त औषधि उत्पादन गर्दै आएका औषधि उत्पादक कम्पनीहरुलाई सरकारले अझ हौसला बढाउने किसिमका नीति–नियम बनाउनुपर्ने देखिन्छ । कतिपय औषधि उत्पादक कम्पनीबाट उत्पादित औषधिहरु नेपाली बजारमा गुणस्तरयुक्त तथा भरपर्दा नै मानिन्छिन् । साथै कतिपय उत्पादनले विश्वबजारमा समेत प्रवेश पाएका छन् तर नेपाल सरकारले भने यस्ता नेपाली औषधि उद्योगलाई प्राथमिकतामा राख्न सकेको देखिँदैन ।


यस्ता कम्पनीको उत्पादन र कुशल व्यवस्थापनको मूल्यांकन विभिन्न समयमा विश्व स्वास्थ्य संगठनबाट हुँदै आएको छ । सन् २०१९ र सन् २०२३ मा म्याग्नस फर्मा उच्च मूल्यांकनमा परेको देखिन्छ । विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन अभ्यास तथा विभिन्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार म्याग्नस फर्माको अत्याधुनिक प्यारेन्टेरल प्लान्ट निर्माणको अन्तिम चरणमा रहेको छ । देशका प्रतिष्ठित चिकित्सक तथा स्वास्थ्य संस्थाको माझमा गुणस्तरीय उत्पादनले विश्वास जितेका नेपालका यस्ता कैयौँ औषधि उत्पादक कम्पनी छन् । तर सरकारले यस्ता कम्पनीको सही मूल्यांकन गरी स्वदेशी उद्योगलाई अझ गुणस्तरीय बनाउन सकेको देखिँदैन । यसतर्फ ध्यान दिई औषधि उत्पादकहरुलाई जिम्मेवार बनाउनु जरुरी छ ।