कुकुर समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू प्राणीभन्दा बेग्लै हुन जान्छ । जस्तै– अरू प्राणीको रक्षा मानिसले गर्छ भने कुकुरले मानिसको रक्षा गर्ने गर्छ ।
त्यस कारणले पनि प्रायः धेरैजसो कुकुर पालिएको देखिन्छ । त्यति मात्र नभई नेपाली समाजमा जस्तै तिहारमा पनि कुकुरको विशेष रुपमा पूजा गरिन्छ । कुकुर मानव समाजको अभिन्न हिस्सा हो, तर मानिसहरूको व्यवहारले घरभित्र र घरबाहिरका कुकुरबीच ठूलो भिन्नता ल्याएको छ । घरमा पाल्ने कुकुरलाई आफ्नै परिवारको सदस्य जसरी लालनपालन गरिएको हुन्छ । तिनीहरूलाई दिने खानेकुरा सामान्य कुकुरले खानेभन्दा धेरै फरक हुने गर्दछ ।
बिरामी भए औषधि उपचार, स्याहारसुसार, पारिवारिक माया, आरामदायी वातावरण घरपालुवा कुकुरले पाउने गर्छ । तर सोही मालिकले गाउँठाउँमै हुर्केका कुकुरहरूलाई गर्ने व्यवहार धेरै फरक हुने गर्दछ । ती कुकुरले धेरै दुःख भोगेका हुन्छन् । उनीहरूको गाँस, बास, कपास घरपालुवा कुकुरको भन्दा धेरै फरक हुन्छ । ती कुकुर दिनदिनै थुप्रै रोग र दुर्घटनाको सिकार हुने गर्छन् । साथै धेरै मानिसबाट अपहेलित हुने गर्छन् ।
धेरै मानिसले ती कुकुरलाई जानाजान चोट पु¥याउने गर्छन् । उनीहरूले घरपालुवा कुकुरलाई माया गर्छन् तर घरबाहिरको कुकुरलाई तिरस्कार गर्छन् । अझ सुत्केरी कुकुर छ भने उसको बच्चाले दुःख दिएमा कि त्यो बच्चालाई तड्पाई–तड्पाई मार्छन्, कि त खोलामा लगी बगाइदिने गर्छन् । समाजले घरभित्र र घरबाहिरका कुकुरलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न निकै आवश्यक छ । मात्र कुकुर तिहारको एकदिन पूजा गरी बाँकी दिन अपहेलित गर्नुहुँदैन ।
दुवै कुकुर समान छन्, केवल तिनीहरूको अवस्था फरक छ । यदि हामीले घरबाहिरका कुकुरलाई पनि सहानुभूति देखाई खानपान, आश्रय र स्वास्थ्य सेवा दिन सक्यौं भने उनीहरू पनि सुरक्षित र भरपर्दो प्राणी बन्न सक्छन् । सरकारी तथा गैरसरकारी संस्थाहरूले बेवारिसे कुकुरहरूको व्यवस्थापनका लागि उचित कदम चाल्नुपर्छ ।
कुकुर त उही नै हो, फरक हामी मानिसको दृष्टिकोण र व्यवहारमा मात्र छ । यदि हामीले त्यो सोच परिवर्तन गर्न खोज्यौँ भने वास्तविक मानवता झल्किन्छ । त्यही कारण हामीले हाम्रो व्यवहारमा सकारात्मक भावना ल्याउन जरुरी छ ।











प्रतिक्रिया