कंगनाले माफी मागेपछि सुल्झियो जावेदसँगको विवाद


बलिउड अभिनेत्री कंगना रनावत र गीतकार जावेद अख्तरबिच पछिल्ला ५ वर्षदेखि चलिरहेको अदालतको केस सुल्झिएको छ।
कंगनाले जावेदका साथ माफी मागेपछि उनिहरूबीच सो मामलामा आपसी सहमति भएको हो।

कंगनाको माफीपछि दुवैले यो मामला समाप्त गर्नेबारे सहमति जनाएका हुन्। जुन कुरा कंगनाले हालै एक सामाजिक सञ्जाल पोस्टमार्फत साझा गरेकी छन्। कंगना र जावेद अख्तर ५ वर्ष अघि एक विषयमा विवाद भएपछि जावेदले उनीविरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए।

सन् २०१६ मा कंगना रनावतले अभिनेता ऋतिक रोशनमाथि विभिन्न आरोप लगाएकी थिइन्। कंगनाका अनुसार सो विषयमा उनले जावेद अख्तरले आप्mनो घरमा बोलाएर ऋृतिकबारे सबै कुरा बन्द गर्न र ऋतिकसँग माफी माग्न भनेका थिए। कंगनाले यसबारे तुरुन्तै कुरा गरेकी थिइनन्। तर सन् २०२० मा बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि जावेद अख्तरसँग भएको कुराकानीलाई आप्mनो एक अन्तर्वार्तामा बताएकी थिइन्।

कंगनाको सो अन्तर्वार्ताबाट जावेद अख्तर निकै रिसाए र उनीविरुद्ध मानहानिको मुद्दा दायर गरे। कंगनाले पनि काउन्टर याचिका दायर गरेकी थिइन्। पछिल्लो ५ वर्षदेखि यो मामला सुनुवाइमा थियो। करिब ४० वटा हियरिंगको दौरान कंगना अदालतमा उपस्थित भइनन्।

जबकी जावेद नियमित रूपमा सुनुवाइको दौरान अदालतमा उपस्थित थिए। हालै भएको सुनुवाइको दौरान कंगना फेरि अदालतमा पेस नभएपछि जावेदका वकिलले कंगनाविरुद्ध गैर–जमानती जारी गर्ने निवेदन दिएका थिए। निवेदनपछि अदालतले कंगनालाई अदालतमा पेस हुने अन्तिम अवसर दिएको थियो। त्यसपछि कंगना शुक्रवार बान्द्राको अदालतमा पेस भएकी थिइन्। त्यस समयमा जावेद अख्तर पनि अदालतमा उपस्थित थिए।

कंगनाले समझदारीका सबै सर्त स्वीकार गरेपछि दुवै पक्षको सहमतिमा यो केस सुल्झिएको हो। कंगनाले सम्झौताका लिखित सर्तहरूमा भनेकी छन् ‘जावेद अख्तरको ठूलो सम्मान गर्दछु। मेरो अभिव्यक्तिका कारण जावेद अख्तरलाई भएको असुविधाका लागि म माफी माग्छु। भविष्यमा कुनै पनि यस्तो अभिव्यक्ति दिने छैन। म मेरा सबै अभिव्यक्ति फिर्ता लिन्छु।’