बौद्धबाट कल्ली


फिल्म कल्लीको छायांकन शुरू भएको छ।

राजधानीको बौद्धस्थित एक घरबाट शुरू भएको फिल्मको छायांकन केही दिन काठमाडौंमा हुनेछ भने बाँकी छायांकन जुम्लामा हुनेछ।

लक्ष्मण सुनारको निर्देशनमा निर्माणाधीन फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी, बेगम नेपालीलगायतका कलाकारले अभिनय गर्नेछन्।

१३ वर्षपछि फिल्म क्षेत्रमा कमब्याक गर्न लागेका कलाकार उत्तम प्रधान यो फिल्मबाट उत्साहित छन्। ‘फिल्मको कथावस्तु निकै मन पर्यो। यसअघि गरेका फिल्मको भन्दा भिन्न भूमिका रहेकाले काम गर्न लागेको हुँ । मलाई यो बिचमा थुप्रै फिल्मबाट अफर पनि आएको हो। तर, भूमिका नै चित्त नबुझेका कारण मैले फिल्ममा काम गरिन’ उत्तम भन्छन्। नायक नाजिर हुसेन र नायिका वर्षा राउतले आफूहरू श्रीमान् श्रीमतीको भूमिकामा देखिन लागेको बताए।

लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको ब्यानरमा हिमाल कडरिया र अमलादेवी राईले निर्माण गरिरहेको फिल्ममा किरण नेपाली प्रस्तुतकर्ता र सरोज नेपाली कार्यकारी निर्माता रहेका छन् भने महेश दवाडीको लेखन र निसाल पौडेलको छायांकन रहेको छ।