मृत फेला परे ह्याकम्यान र ट्राचटेनबर्ग


चर्चित हलिउड अभिनेता जीन ह्याकम्यान र उनकी पत्नी बेट्सी न्यु मेक्सिकोस्थित घरमा मृत फेला परेका छन्। ९५ वर्षका जीन र उनकी पत्नी बेस्टी आराकावा मात्र नभई उनीहरूको कुकुर पनि मृत फेला परेपछि प्रहरीले यसबारे छानबिन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

घटनास्थलमा उनीहरूलाई मृत पाएपछि सान्ता फे प्रहरीले उनीहरूको मृत्युको खबर पुष्टि गरेको हो। आफ्नो लामो अभिनय करिअरमा जीनले दुई ओस्कार र दुई बाफ्टा अवार्ड चुमेका थिए। ह्याकम्यानले द फ्रेन्च कनेक्सन (१९७१) नामक विलियम फ्रिडकिनको एक्सन फिल्ममा प्रमुख भूमिका र क्लिन्ट इस्टवुडको अनफरगिभनमा सर्वश्रेष्ठ सहायक अभिनेताको रूपमा ओस्कार जितेका थिए।

सन् १९७० र १९८० को दशककमा उनी फिल्म सुपरम्यानको विभिन्न सिरिजमा लेक्स लुथरको भूमिकाका लागि पनि परिचित थिए। फ्रान्सिस फोर्ड कोप्पोलाको सस्पेन्स थ्रिलर द कनभर्सेसन र ऐतिहासिक नाटक मिसिसिपी बर्निङमा एफबीआई एजेन्टको रूपमा विलेम डाफोको साथ अभिनय गरेपछि जीनले हलिउडका महान अभिनेताहरूमध्ये एकको रूपमा आफ्नो करियरलाई द्रुत गतिमा अगाडि बढाएका थिए।

अभिनयका भोका उनलाई डाक्टरले स्वास्थ्य चेतावनी दिएपछि २००४ मा ७४ वर्षको उमेरमा मात्र उनले अभिनयबाट सन्यास लिएका थिए। जीनकी पत्नी अरकावा एक शास्त्रीय पियानोवादक थिइन्। यो जोडीले १९९१ मा विवाह गरेर न्यु मेक्सिकोको सान्ता फे बाहिर बसोबास शुरू गरेका थिए। ह्याकम्यानका क्रिस्टोफर, एलिजाबेथ जिन, र लेस्ली एनी गरी तीन सन्तान छन्। जसलाई उनको दिवङ्गत पूर्वपत्नी फे माल्टिजले जन्म दिएकी थिइन्।

उनको भने सन् २०१७ मा निधन भएको थियो। त्यस्तै नेटफ्क्सिको चर्चित शो गसिप गर्लमा जर्जिना स्पाक्र्सको भूमिकामा अभिनय गर्ने अभिनेत्री मिसेल ट्राचटेनबर्गको पनि हालै निधन भएको छ। ३९ वर्षकी अभिनेत्री नेपाली समय अनुसार बुधवार आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी थिइन्।


मिसेलकी आमा छोरीलाई खोज्दै अपार्टमेन्ट पुग्दा उनलाई बेहोस अवस्थामा फेला पारेको न्युयोर्क शहर प्रहरीले जनाएको छ। न्युयोर्क शहर प्रहरी विभाग (एनवाईपीडी) ले मृत्युमा कुनै खाले आपराधिक संलग्नता नरहेको भने पनि घटनाको वास्तविक कारण भने अझै पत्ता लागि सकेको छैन। कलेजोको रोगबाट पीडित मिसेलको गत महिनामात्र कलेजो प्रत्यारोपण गरिएको थियो। उनको मृत्यु प्रत्यारोपणपछिको जटिलताका कारण भएको हुन सक्ने जनाइएको छ।