पहाडमा फर्किए तुलसी घिमिरे


निर्देशक तुलसी घिमिरे अस्वस्थ भएसँगै रोकिएको फिल्म पहाडको सुटिङ उनी स्वास्थ्यलाभ गरी फर्किएसँगै पुनः शुरू भएको छ।

गत माघ २२ गते मुहूर्त गरी गोरखाबाट सुटिङ शुरू गरिए पनि निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि रोकिएको थियो। युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्याको कथावस्तु बोक्ने फिल्मले समाजको तितो यथार्थलाई दर्शकसमक्ष पु¥याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए। ‘फिल्ममा मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ।

फिल्मको विषय अनुसार हामीले कलाकार चयन गरेका छौँ। नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु’ घिमिरेले भने। ओजस्वी केसीको निर्माणमा निर्माणाधीन फिल्म प्रमोद प्रधानले छायाङ्कन गरिरहेका छन्। छायाँकार प्रधान ३० वर्षपछि नेपाली फिल्म छायाङ्कनका लागि नेपालमा आएका हुन्।


भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माणाधीन फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायतका कलाकारले अभिनय गरिरहेका छन्।

निर्देशक घिमिरेले यसै फिल्ममार्फत कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनेत्रीको रूपमा दर्शकसामु ल्याउँदैछन्। रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता रहेको फिल्ममा रञ्जित गजमेर सङ्गीत निर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन्।