राष्ट्रिय परीक्षा बोर्डमा निमित्त सदस्यसचिवको जिम्मेवारी नदिँदा दर्जनौँ काम अलपत्र परेको छ । काम विशेषले सदस्यसचिव बिदामा बसेका छन् । सरकारले कसैलाई नियुक्ति गरेको छैन ।
बोर्डले प्रस्ताव लगेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बोर्डका कर्मचारीमध्ये वरिष्ठ कर्मचारीलाई निमित्त सदस्यसचिवको जिम्मेवारी दिनुपर्ने व्यवस्था छ तर बोर्डले प्रस्ताव लगेन । अहिलेसम्म बोर्ड सदस्यसचिवविहीन छ । हुन त केही दिनमा सदस्यसचिव काममा फर्कनुहोला । तर १५ दिन लामो बिदामा बसेका कारण बोर्डको सबै काम प्रभावित भएको छ । यसले बोर्डको साखमाथि प्रश्न उठेको छ ।
सदस्यसचिव नहुँदा सयौँ सेवाग्राही समस्यामा गरेका छन् । कक्षा १० को परीक्षा चैत ७ र कक्षा १२ को वैशाख ११ गतेबाट सञ्चालन हुँदै छ । परीक्षाको मुखमा सबै काम रोकिएपछि गम्भीर समस्या परेको छ । सदस्यसचिव सिफारिस गर्न नसक्ने अध्यक्षमाथि कर्मचारीले आक्रोश पोख्न थालेका छन् । उनीहरुले दर्जनौँ काम हुन नसक्दा अध्यक्षले निमित्त सदस्यसचिवको आवश्यकता नदेखेको आरोप लगाएका छन् । सबै महाशाखा खाली छ ।
परीक्षाबाहेक कसैलाई पनि निमित्त दिन सकेको छैन । त्यति मात्र होइन, बोर्डमा एकजना पनि महाशाखा प्रमुख छैनन् । कसरी बोर्ड चलेको छ ? भन्ने कसैले बताउन सकेका छैनन् । बोर्डको सदस्यसचिव प्रशासनिक प्रमुख हुने व्यवस्था छ । सदस्यसचिववविना कुनै पनि काम कारबाही अघि बढाउन सम्भव छैन । वार्षिक कार्यतालिकाअनुसारका सबै काम ठप्प छन् । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को स्थायी प्रमाणपत्र प्रमाणीकरण हुन नसक्दा सयांै विद्यार्थीको प्रमाणपत्रसमेत राकिएको छ । जसका कारण विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई गम्भीर समस्या परेको छ ।
यता परीक्षासम्बन्धी गोष्ठी हुन सकेको छैन । मन्त्रालयमा पठाउने कागजात पुगेको छैन । मन्त्रालयमा पत्र पठाउने अवस्था छैन । विदेश सयर गरेर भर्खरै फर्कनुभएका अध्यक्षले चासो नदेखाएका कारण समस्या जटिल बन्दै गएको छ । हुँदा–हुँदा कक्षा १२ को प्रश्नपत्र निर्माण प्रक्रिया शुुरु हुन सकेको छैन । मन्त्रालयले हस्तक्षेप गर्न नसक्दा समस्या बढेको छ । मन्त्रालयका अधिकारीले बोर्डले निमित्त सदस्यसचिव नियुक्ति गर्ने प्रक्रिया अघि नबढाएको बताएका छन् । बोर्डका अध्यक्षको कारण सबै काम अस्तव्यस्त हुँदा अब के गर्ने ? भन्ने विषयमा सोचेको देखिँदैन ।
परीक्षाको मुखमा सदस्यसचिव नहुँदा परेको समस्याबारे गम्भीर बन्न नसक्दा बोर्डको अवस्था खस्कँदो छ । एकले अर्कोलाई मान्न सकेका छैनन् । हुन त घुमेर खाने बानी परेका दुई पदाधिकारीको कारण बोर्डमा समस्या परेको कर्मचारीको आरोप छ । आरोप खण्डन गरेर केही दिनको लागि तत्काल सदस्यसचिव नियुक्ति गरेर समस्या समाधान गर्ने पहल अघि बढाउन अति आवश्यक छ । यस विषयमा मन्त्रालय र बोर्ड गम्भीर बन्नै पर्छ ।
प्रतिक्रिया