सदस्य सचिव छैन, सबै महाशाखा खाली

रापबोर्डको हबिगत

3.1k
Shares

काठमाडौं

राष्ट्रिय परीक्षा बोर्डमा सदस्यसचिव खाली हुँदा परीक्षालगायत महत्वपूर्ण काम प्रभावित भएका छन् । बोर्डले कक्षा १० को परीक्षा चैत ७ र कक्षा १२ को वैशाख ११ गतेबाट सञ्चालन गर्दै छ । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालकी आमाको निधन भएका कारण बिदामा हुनुहन्छ ।

सदस्यसचिव अर्यालले बिदामा बस्ने भएपछि निमित्त सदस्य सचिवको जिम्मेवारी दिनुपर्ने व्यवस्था छ । मन्त्रालयको कमजोरीका कारण ८ दिनदेखि बोर्ड सदस्यसचिवविहीन छ । बोर्डका अध्यक्ष महाश्रम शर्मा भारत भ्रमणमा जानुभएकाले निमित्त सदस्यसचिवको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा निर्णय हुन सकेको थिएन । चार दिनअघि भारत भ्रमणबाट फर्कनुभएका शर्मालाई निमित्त सदस्यसचिव कसलाई बनाउने मतवल छैन ।

अधिकांश काम ठप्प हुँदा पनि बोर्डलाई हाइसन्चो छ । अधिकांश कर्मचारीले सदस्यसचिवविहीन बोर्डमा अध्यक्षलाई आरोप लगाउँदै भन्ने गरेका छन्– ‘उहाँ त सबै काम गर्छु, गर्दै छु भन्नुहुन्छ केही गर्न सक्नुभएको छैन । दर्जनौं काम हुन नसक्दा उहाँले निमित्त सदस्य सचिवको आवश्यकता देख्नुभएको छैन । उहाँले मन्त्रालयमा कुरा पु¥याउनुपर्ने हो ।

वास्ता गर्नुभएको छैन ।’ अधिकांश कर्मचारी अध्यक्ष शर्मा र सदस्यसचिव अर्यालबाट दिक्क भइरहेका छन् । कर्मचारीले भन्ने गरेका छ– अब त बोर्डको अस्तित्व नै नरहला जस्तो भइसक्यो, जिरो काम हुन थालेको छ । सबै महाशाखा खाली छ । परीक्षाबाहेक कसैलाई पनि निमित्त दिन सकेको छैन । कर्मचारीको आरोप छ, उहाँहरूको काम त प्रदेशमा गोष्ठी, भेला अन्तरक्रिया भयो कि गइहाल्नुहन्छ ।

‘अघिल्ला कार्यकालका सदस्यसचिवहरू यसरी जुन कार्यक्रम आएपछि हामफालेर जाँदैनथे । अहिलेका सदस्यसचिव र अध्यक्ष अन्य कर्मचारीलाई जान स्वीकृत नै दिनुहँुदैन । निम्तो आयो कि आफैं । जुनसुकै कार्यक्रममा आफैं सहभागी हुन रुचाउनुहुन्छ, प्रदेश कार्यालयमा प्रमुख अतिथि बन्नु रुचाउनुहुन्छ’ –उहाँहरूमाथि आरोप छ । बोर्डको सदस्यसचिव प्रशासनिक प्रमुख हुने व्यवस्था छ । सदस्यसचिव बिना कुनै पनि काम कारबाही गर्न सम्भव छैन ।

वार्षिक कार्यतालिका अनुसारका सबै कामठप्प छ । सदस्यसचिव नहुँदा तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को स्थायी प्रमाणपत्र प्रमाणीकरण हुन नसक्दा सयांै विद्यार्थीको प्रमाणपत्र रोकिएको छ । यसले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई गम्भीर समस्या परेको छ । परीक्षासम्बन्धी गोष्ठी गर्नुपर्ने छ हुन सकेको छैन । मन्त्रालयमा पठाउने कागजात पुगेको छैन । कुनै पनि कार्यक्रमबारे मन्त्रालयमा कसले पत्र पठाउने, कक्षा १२ को प्रश्नपत्र निर्माण रोकिएको छ ।

अझै पनि यता र उता हल्लाइराखेका छन् । मन्त्रालयलाई देखायो बोर्ड, बोर्डलाई भन्यो मन्त्रालय भन्ने गरेको छ । प्रश्नपत्र छाप्ने कि नछाप्ने निर्णय भएको छैन । दुर्गमले छाप्ने, सुगमले नछाप्ने भनेको छ । यस्ता गम्भीर विषयमा निर्णय हुन सकेको छैन । अध्यक्षको कमजोरीका कारण बोर्डको अवस्था बिजोग बन्न थालेको छ ।

१३ वर्र्षदेखि परीक्षा सञ्चालन निर्देशिका परिमार्जन भएको छैन । कयौंपटक छलफल गर्दा पनि निर्देशिका थन्किएको छ । २०६८ सालदेखिको निर्देशिकाअनुसार परीक्षा सञ्चालन भइरहेको छ । निर्देशिका नहुँदा नम्स तयार हुन सकेको छैन । कक्षा १० को परीक्षा सञ्चालन खर्च, ढुवानी, कर्मचारीलाई दिने खर्च स्वीकृत हुन सकेको छैन । वर्षौदेखि एउटै पारिश्रमिक उपलब्ध गराउने गरेको छ । सदस्य सचिवले सधंै भन्ने गर्नुभएको छ– ‘हामीले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने ?’