प्रयागराज ।
आज महाशिवरात्रि, बिहानैदेखि पशुपतिनाथमा भक्तजनहरुको ठूलो भीड लागिरहेको छ । महाशिवरात्रि ४५ दिनअघि पौष पूर्णिमादेखि शुरु भएको महाकुम्भ मेलाको पनि विशेष दिन हो । भारतको उत्तर प्रदेश राज्यको प्रयागराजमा चलिरहेको महाकुम्भ मेला महाशिवरात्रिको अन्तिम महास्नानसँगै समाप्त हुँदैछ । महाकुम्भ संगममा आज बिहानसम्म झन्डै ६६ करोडभन्दा बढीले स्नान गरिसकेको आयोजकहरुले बताएका छन् ।
सूर्यको वरिपरि बृहस्पतिको कक्षमा आधारित ज्यातिषीय चक्रको आधारमा भारतको चार फरक नदी किनारका चार शहर हरिद्वार, नासिक, उज्जैन र प्रयागराजमा प्रत्येक १२ वर्षमा आयोजना हुने कुम्भ मेलाको यस वर्ष विशेष रुपमा प्रचार गरिएको थियो । यस पटक १४४ वर्षमा बन्ने बृहस्पति सूर्य र चन्द्रमासँग मिलेर बनेको दुर्लभ आकाशीय योगले यो महाकुम्भलाई विशेष बनाएको भनेर प्रचार गरिएको थियो । ४ हजार हेक्टर क्षेत्रफलमा फैलिएको मेला स्थानमा तीर्थालुहरुको सुविधाका लागि १ लाख ६० हजार अस्थायी आवास (टेन्ट) र १ लाख ४५ हजार अस्थायी शौचालयको निर्माण गरिएको थियो ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ स्वयंले पनि गोरखनाथ मन्दिरस्थित नियन्त्रण कक्षबाट महाकुम्भको सुरक्षा व्यवस्थामाथि कडा निगरानी राखेको महाकुम्भ मेलाको अन्तिम महास्नानका लागि पनि कडा सुरक्षा व्यवस्था गरेको छ । मेला क्षेत्रमा ३७ हजार पुलिसकर्मी र १४ हजार होमगार्ड तैनाथ गरिएको बताइएको छ । त्यसैगरी २ हजार ७ सय ५० सीसीटीवी, ३ जल प्रहरी स्टेशन, १८ जल प्रहरी नियन्त्रण कक्ष र ५० वाच टावर बनाइएको छ ।

यस पटकको महाकुम्भ मेलाले भारतको उत्तर प्रदेश सरकारको व्यवस्थापकीय क्षमताका साथै सांस्कृतिक अर्थशास्त्रको अद्भुत उदाहरण प्रस्तुत गरेको छ भन्दा अन्यथा नहोला । दैनिक लाखौंको संख्यामा आवातजावत गर्ने यातायातका साधनका साथै संगमस्थलमा पुग्न २० किलोमिटर परदेखि नै पैदल हिडिरहेका तीर्थालूहरुको व्यवस्थापन गर्नु पक्कै पनि सजिलो छैन । उत्तर प्रदेश पर्यटन विभाग (युपी टुरिज्म)को संयोजनमा साँझ ७ बजे प्रयागराज पुग्दा त्यहाँको कडा सुरक्षा व्यवस्थापनका कारण केहीबेर हाम्रो सवारीसाधन झुसीमा सुरक्षाकर्मीद्वारा रोकिएको थियो ।
केही समयपछि युपी टुरिज्मको प्रोटोकल अधिकारीले हामीलाई त्यहाँबाट संगमस्थल क्षेत्रभित्रको अस्थायी बास (टेन्ट सिटी) मा लगेका थिए । झुसीमा केहीबेर रोकिंदा हामीले त्यहाँ थुप्रै नेपालीहरु उत्साहका साथ पैदलै संगमस्थलका लागि समूह समूहमा हिडिंरहेका देख्यौं । ती समूहमा ज्येष्ठ नागरिकहरु पनि उत्तिकै उत्साहका साथ युवा सदस्यहरुको तालमा ताल मिलाउँदै हिंडिरहेको दृष्य साँच्चै नै मन छुने खालको थियो । यसले धार्मिक आस्थाको डोरी कति मजबुत हुँदो रहेछ भन्ने प्रमाण दिइरहेको थियो ।
झुसीबाट करिब २ घण्टा लगाएर राति ११ बजेतिर टेन्ट सिटी पुग्दा पनि बाटोमा उतिकै भीड देखिएको थियो । बाटोको दायाँबायाँ मयूरको प्वाँख, डमरु, स्वस्तिकलगायतका आकारले सजिएका झिलिमिलि बत्ती, बीचबीचमा विभिन्न मन्दिर र देवस्थलहरुमा सिंगारिएको बक्ति, गंगामा ताराहरु बगेको झै भान दिने अस्थायी आवासमा राखिएको बत्तिहरुलगायतले राति हिंड्ने तीर्थालुहरुको थकान त्यतिकै मेटाइरहेको थियो । ठाउँठाउँमा अस्थायी शौचालय, फोहरमैला व्यवस्थापनका साथै सवारी साधनका लागि सहज बनाउन बालुवामाथि फलामको पाटाहरु बिछ्याएका सडकहरु र सुरक्षा व्यवस्थापनको राम्रो प्रबन्धले गर्न चाहे जे पनि सम्भव रहेछ भन्ने मान्यतालाई थप पुष्टि गरिरहेको थियो ।
प्रयागराज पुग्नुअघि उत्तर प्रदेशका राजमार्ग आसपास खुलेका अधिंकाश होटल र पेटोल पम्पमा साबुनपानी सहितको शौचालय र फोहर फाल्ने डस्टबिनको व्यवस्था गरिएको थियो । त्यस्तै २२ हजारभन्दा बढी सरसफाइ कर्मचारीहरु गंगा नदीको सफाई व्यवस्थापनमा खटिनु, पानी प्रशोधनका लागि निरन्तर भइरहेको पहल, तीर्थालुहरुले छाडेका भिजेका बस्त्रका साथै अन्य सामानहरु तत्काल हटाउने व्यवस्थालगायतले कुम्भ मेला व्यवस्थापनमा उत्तर प्रदेश राज्य सरकारको व्यवस्थापकीय क्षमताको प्रदर्शन गरेको थियो ।

प्रयाग पुग्नुअघि उत्तर प्रदेशको राजमार्गहरुमा गुड्दै गर्दा उच्च इन्जिनियरिङ क्षमतासहितको ४ लेन, ६ लेन र ८ लेनका सडकहरु र ती सडकहरुमा डिजिटल प्रणालीबाट टोल फि (सडक उपयोग शुल्क) समेत डिजिटल प्रणालीबाट भुक्तानी गर्ने व्यवस्थाका साथै चालकलाई मोबाइल एप्समार्फत सडकको अवस्था र बैकल्पिक सडकबारे जानकारी दिएर सजकताका साथ गन्तव्यमा पुर्याउने, सडक अवरुद्ध भएको खण्डमा पार्किको विकल्प दिने व्यवस्थाले नागरिकप्रति राज्य सरकारको जवाफदेहितालाई पनि स्पष्ट झल्काएको थियो ।
हुन त यो बीचमा अत्याधिक भीडभाडले गर्दा ब्यारिकेडहरु उल्टिएर ३० जनाको ज्यान जानु, नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड मच्चिदा १८ जनाले ज्यान गुमाउनु परेको जस्ता अप्रिय घटनाहरु पनि भएका छन् । तथापी यस्ता घटनाहरु दोहोरिन नदिन राज्य सरकारले चालेका कदमहरुले महाकुम्भ मेलाको आस्था, परम्परा र आध्यात्मिकतामा कुनै कमी आउन दिएन ।
आस्था, विश्वास, सौहार्द एवं संस्कृतिको मिलनको रुपमा लिइएको महाकुम्भ मेला मानव इतिहासकै सबैभन्दा ठूलो जमघटका साथै भारतको धार्मिक तथा सांस्कृतिक अर्थशास्त्रको अद्भुत उदाहरण प्रस्तुत गर्दै बिदा भएको छ । छिमेकी भारतको यस महाकुम्भ मेलाको आयोजनबाट नेपालले पनि धार्मिक तथा सांस्कृतिक अर्थशास्त्रको पाठ सिक्नु जरुरी छ ।











प्रतिक्रिया