त्रिवि अनुगमन निर्देशनालयको उपनिर्देशकमा रैखोला र श्रेष्ठ 


काठमाडौँ। 

 त्रिभुवन विश्वविद्यालयअन्तर्गतको अनुगमन निर्देशनालयको उपनिर्देशकमा डाक्टर पुष्करसिंह रैखोला र विकास कुमार श्रेष्ठलाई नियुक्त गरिएको छ ।

त्रिवि कार्यकारी परिषद्को बैठकले दार्चुलाका रैखोला र गोरखाका श्रेष्ठलाई उपनिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनीहरू त्रिविका सहप्राध्यापक हुन् ।

जापानको प्रतिष्ठित जेएएसएसओ छात्रवृत्तिमा समाज कल्याण विषयमा विद्यावारिधि गरेका रैखोलाले अनुगमन निर्देशनालयको सदस्य पदमा रहेर कामकाज गर्दै आएका थिए । महेन्द्र रत्न क्याम्पस ताहाचलमा लामो समय अध्यापनमा संलग्न उनी हाल शिक्षाशास्त्र संकाय केन्द्रीय विभागको दरबन्दीमा रही अनुगमन निर्देशनालयमा काजमा खटिएका थिए ।

त्यस्तै सहप्राध्यापक श्रेष्ठ पूर्वक्याम्पस प्रमुख हुँदै हाल अनुगमन निर्देशनालयको सदस्य हुन् । निर्देशनालयको रिक्त उपनिर्देशकहरूमा नियुक्तिका लागि छनोट तथा सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले खुला रूपमा आवेदन आह्वान गरेको थियो । 

आवेदन गर्नेहरूमध्येबाट परिषद्ले रैखोला र श्रेष्ठलाई छनौट गरेको हो ।