ब्याजको लोभमा नपरौं, सावाँको चिन्ता गरौं


बाटोमा हिँडडुल गर्दा अधिकांश ठाउँमा देखिन्छ, ‘घरजग्गा बिक्रीमा’, ‘जग्गा बिक्रीमा’ । खाली जग्गामा बोर्ड गाडेर सम्पर्क नम्बरसहित ‘जग्गा बिक्रीमा’ भनी लेखिएको हुन्छ ।

त्यस्तै, घरको झ्याल, ढोका, भित्ता वा गेटमा ‘घरजग्गा बिक्रीमा’ भनी लेखेर टाँसिएको पाइन्छ । अहिले यो जताततै देखिन्छ । काठमाडौं उपत्यकाभित्र होस् या बाहिरी जिल्लामा । यता सवारीसाधन मर्मत केन्द्र, वर्कसपसहित नयाँ तथा पुराना गाडी बेचबिखन गर्ने अटो शोरुमलगायत गाडी बिक्री गर्ने कम्पनीहरुमा पनि अचेल बाहिर सिसामा ‘गाडी बिक्रीमा’ भनेर लेखिएको देखिन्छ । कतिपय कम्पनीले त सार्वजनिक स्थलका भित्ताहरुमा कम्पनीको नाम, नम्बरसहित ‘गाडी बिक्रीमा’ भनी लेखेर टाँसेको पनि पाइन्छ ।

पछिल्लो समय घरजग्गा र गाडीमा मन्दी रहेको सबैलाई थाहै छ । तर यस्तोसम्मको परिस्थिति आइसकेको भनेर मानिसले कल्पनासमेत नगरेको हुन सक्छ । घरजग्गा, गाडीको मूल्य लगातार घटिरहेको अवस्था छ । किनबेच ठप्प भइसक्यो । चिया पसलदेखि बस, सार्वजनिक स्थानहरुमा घरजग्गा, गाडी र शेयरकै चर्चा छ ।

जताततै घरजग्गा, गाडी बेच्न चाहने भेटिन्छन् । किन्ने शून्यझैँ छन् । घरजग्गा, गाडीको मूल्य आधाले घटे पनि बिक्री भइरहेको छैन । चार वर्षअघि तीन करोड मूल्य पर्ने घडेरी अहिले त्यसको आधा मूल्यमा झरेको छ । तैपनि बिक्री नभइरहेको अवस्था छ । गाडीको मूल्य पनि घट्दो क्रममा छ । बजारमा गाडीको किनबेच स्वाट्टै घटेको छ । किनबेच नभएसँगै मूल्य घट्नु स्वाभाविक पनि हो । बैंक तथा वित्तीय संस्थाको लगानी घरजग्गा, गाडी र शेयरमा रहेको प्रस्टै छ ।

तर अहिले ऋणीले ऋण नतिरेपछि बैंक, वित्तीय संस्थाले लिलाम गरेको धितोसमेत बिक्री भइरहेको छैन । बैंकलाई धितो बिक्री गर्न धौ–धौ परेको छ । सस्तोमा बेच्न खोज्दासमेत ग्राहक नपाएको अवस्था छ । बजारमा घरजग्गा, गाडी र शेयर किन्ने एकजना पनि छैन । बैंक, वित्तीय संस्था संकटमा परिसकेका छन् । सहकारीजस्तै बैंक पनि छिट्टै टाट पल्टिने दिन आएको छ । सहकारी भाग्दा त करोडौं जनता डुबे ।

अब बैंक टाट पल्टिएमा कति करोड जनताको रुवाबासी हुने हो ? बैंक, वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंक बैंक तथा वित्तिय संस्थामा कुनै समस्या नरहेको दाबी गर्छ । बैंक, वित्तीय संस्था ठीकठाक छन् कि छैनन् ? भनेर बुझ्न बजार आवश्यक छ । किनकि बजारले, परिस्थितिले यसबारे बताउँछ । अहिले बजारमा मन्दी छ । घरजग्गा, गाडी र शेयरको किनबेच ठप्प छ । फेरि बैंक, वित्तीय संस्थाको लगानी यिनै तीन क्षेत्रमा छ ।

ऋणीले ऋण नतिरेपछि अहिले बैंक, वित्तीय संस्थाहरु धितो बिक्री गर्न लागिपरेका छन् । सस्तोमा बेच्न खोज्दासमेत ग्राहक नपाएर तनाव छ । बैंकका कर्मचारीहरुमै बैंक छिट्टै टाट पल्टिने चर्चा शुरु भइसकेको छ । अधिकांश बैंकका कर्मचारी नाम नबताउने सर्तमा आफूहरुको बैंकमा समस्या देखिन थालिसकेको बताउँछन् ।

अनि राष्ट्र बैंकचाहिँ अहिले पनि जनतालाई भ्रममा पारिरहेको छ । रोचक कुराचाहिँ के हो भने, गभर्नर कहिल्यै बजारमा निस्किँदैनन् । उनलाई बजारको अवस्थाबारे केही थाहै छैन । अनि बजारै ननिस्किने व्यक्तिले बन्द कोठामा बसेर बैंक, वित्तीय संस्था ठीकठाक रहेको दाबी गर्नु आफैंमा हास्यास्पद छ । भनिन्छ नि, सूर्यलाई हातले छेकेर छेकिँदैन । अनि डुबिसकेको बैंकलाई नडुबेको दाबी गरेर मात्र हुन्छ त ?

कानुनमा सवारीसाधन दर्ता भएपछि त्यसको मूल्य घट्छ । अर्थात् बर्सैपिच्छे २५ प्रतिशतका दरले मूल्य घट्छ । घरमा पनि यस्तै हुन्छ । उदाहरणका लागि एक वर्षअघि दुई करोडमा बनेको घर एक वर्षपछि २५ प्रतिशतको दरले मूल्य घट्छ । यद्यपि, दलालीहरुले कानुनको धज्जी उडाउँदै दिनमा दुई र रातमा दश गुणासम्म घरजग्गा र गाडीको मूल्य बढाए । यो झन्डै चार वर्षअघिको कुरा हो । त्यति बेला घरजग्गा र गाडीको मूल्य एक महिनामै दोब्बर–तेब्बरले बढ्यो । मूल्य बढेको देखेपछि सबैको आकर्षण यही क्षेत्रतर्फ मोडियो ।

मानिसहरुले ऋण लिएर दलालीले जति भन्यो, त्यति नै तिरेर घरजग्गा र गाडीमा लगानी गरे । बैंक, वित्तीय संस्थाहरुले पनि आँखा चिम्लेर कर्जा प्रवाह गरे । छिट्टै धनी हुने लोभमा न सर्वसाधारणले कानुन अध्ययन गरे, न त बैंक, वित्तीय संस्थाहरुले । अहिले यसैको परिणाम उनीहरुले भोगिरहेका छन् ।

पछिल्लो समय घरजग्गा, गाडीको मूल्य लगातार घटिरहेको छ । किनेको आधा मूल्यमा समेत बिक्री भइरहेको छैन । अझै यसको मूल्यमा गिरावट आउने विज्ञहरु बताउँछन् । कुनै समय सेवाग्राहीको चाप थेगिनसक्नु हुने मालपोत र यातायात कार्यालय अचेल सुनसान देखिन्छन् । त्यसो त सेवाग्राहीको अत्यधिक चाप हुने यी कार्यालयमा जान कर्मचारीहरुबीच पनि हानाथाप हुने गर्दथ्र्यो । किनकि यो कार्यालयमा सबैभन्दा बढी घुसको लेनदेन हुन्छ । तर अहिले सेवाग्राही आउनै छोडेपछि कर्मचारीहरुले घुस पनि पाउन छोडेका छन् ।

अचेल मालपोत र यातायात कार्यालयमा नजान कर्मचारीहरुबीच लडाइँ हुने गरेको छ । घरजग्गा, गाडीको किनबेचमा मात्र मन्दी आएको छैन । व्यापार व्यवसाय ठप्पै भएको छ । उपत्यकासहित देशभर सटर, कोठा र फ्ल्याट खाली हुने क्रम बढेको छ । बजार सुनसान छ । अहिले दुई ठाउँमा मात्रै मानिसहरुको भीड देखिन्छ । एउटा राहदानी बनाउने ठाउँ, अर्को एयरपोर्ट । युवाहरु विदेशिरहेका छन् । गाउँदेखि शहरसम्म बूढापाका र बालबच्चा मात्रै छन् । देशमै बस्न चाहे पनि एकातिर रोजगारी छैन, अर्कोतिर काम पाए पनि तलब दिइँदैन । यसले देशका युवाहरु बाध्य भएर विदेश पलायन भइरहेका छन् । त्यसो त तिनै युवाहरुले पठाइरहेको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेको छ ।

बैंक, वित्तीय संस्थामा त संकट आयो नै, मुलुकको अर्थतन्त्रसमेत ध्वस्त भएको छ । यदि खाडीमा गएका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुबाहरुले रेमिट्यान्स नपठाएको भए उहिल्यै देश टाट पल्टिसकेको हुन्थ्यो । अहिले बजारमा पाँच सय र हजारको नोट हाहाकार भएको छ । विदेशी मुद्राहरु पनि लुकाइएको सुनिन आएको छ ।

सरकारमा बसेकाहरुलाई आफ्नो कुर्सीको मात्र चिन्ता छ । उनीहरुलाई न जनताको मतलब छ, न देशको चिन्ता । सत्तामा बस्न पाइन्छ कि पाइँदैन ? भ्रष्टाचार गर्न पाइन्छ कि पाइँदैन ? सरकारी ढुकुटीमा मोज गर्न पाइन्छ कि पाइँदैन ? सरकारी, सार्वजनिक जग्गा आफ्ना कार्यकर्तालाई बाँड्न पाइन्छ कि पाइँदैन ? भन्ने मात्र चिन्ता सरकारमा बसेका वा बाहिर रहेका राजनीतिक दलहरुमा छ । त्यसैले, अब जनताले आफ्नो सम्पत्तिको सुरक्षा आफैं गर्नुपर्छ । ब्याजको लोभमा नपरौं, सावाँको चिन्ता गरौं ।
– कविता केसी